दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरु’

काठमाडौँ । पब्लिकेसन नेपालयको नयाँ टीमले २०२० को ताजा कार्यतालिका अनुसार चारवटा पुस्तक प्रकाशन गर्ने सम्पूर्ण तयारी पूरा गरेको छ । संयोगवस, नेपालयको महिला नेतृत्व अन्तर्गत प्रकाशित हुन लागेका चारवटै शीर्षकहरू महिला लेखकहरूले सृजना गरेका छन् । नेपालयले आफ्नो यो शृङ्खला नेपाली साहित्यमा महिला लेखकको प्रतिनिधित्वलाई समर्पित गरेको छ । २०२० मा प्रकाशित हुने कृतिमा सृजनशील युवा लेखकले सृजना गरेका कथा, उपन्यासका साथै संस्मरण विधा र एक स्थापित लेखकको ओजपूर्ण पुनरागमन पनि समावेश छ ।

२०२० को लागि तयार पारिएको यस शृङ्खलाको पहिलो पुस्तक दुर्गा कार्कीको प्रथम कृति ‘कुमारी प्रश्नहरू’ छ । ‘कुमारी प्रश्नहरू’ सामाजिक यथार्थवादको कोणबाट लेखिएका १३ वटा कथाहरूको सँग्रह हो ।

कार्की लेखनका अनेकौं पुरस्कार प्राप्त गरेकी लोकप्रिय स्तम्भकार पनि हुन् । दुर्गा कार्कीको पढाई कानून हो , रुची लेखन। साहित्य उनको उपासना हो जसमा कथा उनको आफ्नै शैली र शिल्पले सशक्त बन्छन् । ‘कुमारी प्रश्नहरू’ उनको प्रथम पुस्तक कृति हो ।

‘दुर्गा कार्कीको पुस्तकबाट २०२० को आफ्नो प्रकाशन शुरु गर्न पाएकोमा हामी एकदम हर्षित छौं । आफ्नो लेखन मार्फत उनी सामाजिक न्यायको मुद्दामा चलाखीपूर्ण तरिकाले प्रस्तुत हुन्छिन् । लिङ्गभेदका विसंगतीलाई उमेर अनुसारका महिला पात्रका दृष्टिकोणबाट अभिव्यक्त गर्छिन ।’ नेपालयकी भूषिता वशिष्ठले भनिन्, ‘चातुर्यपूर्ण गद्य शैली र आकर्षक कथा बुनावट कार्की को विशेषता हो । उनको यही शैलीले उनलाई अखबार लेखनमा ख्याति र लोकप्रियता दिलाएको छ।’

‘किताबको पहिलो प्रति पाउँदा समेत मलाई मेरा कथाहरू साँच्चिकै किताबको रूपमा आए भनेर विश्वास नै लागेन, यिनमा काम गरेर साँच्चै सकियो र भन्ने लागिरह्यो’, आफ्नो पुस्तकको पहिलो प्रति हातमा लिंदै कार्कीले भनिन्, ‘यी प्रत्ये‍क कथालाई मैले कम्तीमा पनि बीस पटक पढेकी छु, हरेक पटक केही न केही थपघट गरेकी छु र कतिलाई त महिनौँ सोचाइको गर्भमा बोकेर हिँडेकी छु । मलाई आशा छ, पाठकहरू यी कथाबाट पटक्कै निराश हुनु पर्दैन ।’

नेपाली प्रकाशनको बजार मन्द रहेको गुनासो र चर्चा भैरहका बेला नेपालयले २०२० को तालिका अगाडि ल्याएको हो ।

‘दुर्गा आफ्नो कथा लेखनमार्फत ताजापन बोकेर आएकी छिन् । मलाई आशा छ यो किताबले बजारलाई उत्साही बनाउने छ र पुनर्जीवन दिनेछ’ पब्लिकेसन नेपालयकी सिइओ सैजन मास्के भन्छिन् । ‘यो शृङ्खलाका चारवटै पुस्तकले भिन्दै शैली र कथानक बोकेर आएका छन्; त्यसैले यिनले नेपाली समकालिन साहित्य र प्रकाशन उद्योगलाइ सकारात्मक योगदान पुर्याउने विश्वास लिएको छु ’ सैजनले भनिन् ।

आउँदो फाल्गुन ९ गते सार्वजनिक हुने दुर्गा कार्कीको पुस्तक ‘कुमारी प्रश्नहरू’ को मूल्य ४२५ रुपैँया निर्धारण गरिएको छ। उल्लेखित मिति देखि नेपालका सबै प्रतिनिधि बिक्रेता र तिनका बिक्री कक्षमा सो पुस्तक उपलब्ध हुनेछ । साथै, एमाजन डट कममार्फत् संसारभर उपलब्ध हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री