आस्था काण्ड र सिसीटिभी फुटेज

गायिका आस्था राउत

अहिले केही दिन आगाडि बाहिरिएको गायिका आस्था राउतको सिसीटिभी फुटेजले बजार तातेको अवस्था छ । फुटेज हेरेपछि धेरै प्रतिकृया आए । नेपालमा के हुनु पर्दथ्यो वा अब के हुनु पर्छ त्यो त थाहा भएन । तर, त्यो घट्ना यहां लन्डनमा हुन्थ्यो भने त्यो फुटेजको बांकी भाग कस्तो हुन्थ्यो म अनुमान लगाउन सक्छु ।

आस्था एयरपोर्टको सेक्युरिटीबाट हतारिंदै भित्र छिर्न खोज्नु नै उनलाई शंकाको नजरले हेर्न पर्याप्त हुन्छ । उनी अत्यन्त संवेदनशील ठाउंमा सुरुमै त्यति मद्दत गर्ने मुडमा नहुनु उनको गल्ती हुन्छ । कफी छोड्ने र उत्तेजित हुंदा ति प्रहरीले अरु प्रहरी लाई बोलाउने थिइन् र उनले नमानेपछि बल प्रयोग गरी रोक्ने प्रयास प्रहरीले गर्दथ्यो । जति मान्छे भड्किन्छ ,उति उसलाई पक्रनका लागि बढि आधार बन्दै गर्छ । यता कोही पनि भलाद्मी मान्छे आफूलाई जति नै हतार भए पनि नियम मिच्ने कल्पना गर्दैन् । नियम पालना नगर्ने ब्यक्ति सन्देहित ब्यक्तिमा पर्दछ र उसलाई पच्छाउन चाहे त्यो सिसीटिभी होस् या सेक्युरिटी गार्ड होस् या पुलिस सबैलाई छुट छ र पछ्याउनु पनि उनीहरूको मुख्य काम हो ।

हो सर्वसाधारणलाई पच्छाउनु चाहिं सेक्युरिटी गार्डले होस्, वा पुलिस या सिसीटिभी क्यामेराले, त्यो उत्पीडनमा पर्दछ । तर, शंका गर्ने आधार त्यो पच्छाउने अधिकारीले बताउन सक्छ भने उ अत्यन्त राम्रो कर्मचारी मानिन्छ । त्यसैले अनुमान गर्न सकिन्छ, ति महिला प्रहरी आफैंले अरु प्रहरीलाई बोलाउने थिइन् या सिसीटिभी कन्ट्रोल रुमबाट नै प्रहरीलाई सम्पर्क गरी थप प्रहरी बोलाउने काम गरिन्थ्यो । जबसम्म प्रहरी त्यहां आइपुग्दैनन् तबसम्म उनलाई पछ्याउने काम हुन्थ्यो ताकि प्रहरीलाई उनको स्थान पत्ता लगाउन सजिलो होस् । त्यो फुटेजमा देखिए अनुसार उनी शान्त हुने छांटकांटमा देखिन्नन्, त्यो अवस्थामा प्रहरीले बलपूर्वक उनलाई हत्कडी लगाउंथ्यो । उनले केही लुकाएर ल्याउन खोजेर हतार गरेकी रहिछन् कि भनेर उनलाई राम्रोसंग चेकजांच गर्न उनका सामानसहित प्रहरीको भ्यानमा लैजान्थ्यो र बांकी प्रहरीले प्रत्यक्षदर्शीसंग सोधपुछ गर्ने काम हुन्थ्यो । सुरक्षाजांचमा असहयोग गरेको अभियोगमा उनलाई थुनामा राख्न पनि सक्थ्यो ।

अब त्यो भिडियोको कुरा गरौं । वास्तवमा त्यो भिडियो सार्वजनिक हुने सम्भावना कल्पना पनि गर्न सकिन्न । त्यो फुटेज सिसीटिभी कन्ट्रोल रुममा पनि लाइसेन्स प्राप्त कर्मचारीले काम गर्ने प्रकृयामा देख्छन्, प्रहरीले अनुसन्धानका लागि हेर्न पाउंछन् र अदालतमा बसेका न्यायधिश वा जुरी सदस्यहरुले छानबिनका लागि हेर्न पाउंछन् । यी कुराहरु सम्बन्धित अधिकारी बाहेक अरुलाइ थाहा हुंदैन र व्यक्तिगत सूचना थाहा नदिन कानूनले बांधेको हुन्छ । आस्था बाहेक अन्य व्यक्ति 
(यात्रुहरू) को व्यक्तिगत गोपनीयता पनि पर्ने हुनाले सिसि टिभी फुटेज बाहिरिंदैन् (अत्यन्त संवेदनशील बाहेक) ।

अर्को मान्यता यहां के छ भने कोही पनि स्पेशल हुंदैन । बच्चाबेला देखिनै त्यो मान्यता हुर्किएको हुन्छ । सबैले आफ्नो क्षमता अनुसार काम गर्छन् र कामनै सर्वोपरि हो । हो, उसको कार्य क्षेत्रमा उ स्पेशल हुन्छ तर जहां पनि होइन् । गायक गायिका आफ्नो श्रोताका लागि स्पेशल होला वा उसको प्रतिभालाई निखार्न राज्यले लगानी गर्ला । तर, अन्यत्र सबै बराबर मानिन्छ । पेशाको आधारमा 
कसैलाई बढि छुट हुनुपर्छ भन्ने सोच पनि हुंदैन ।

हो उपभोक्ताले पैसा तिरेर सुविधा किन्न भने पाउंछन् । यहां पनि पैसा तिरेर बोर्डिङ स्कुल पढ्ने, पैसा तिरेर प्राइभेट अस्पतालको सुविधा लिने चलन छ । त्यस्तै पैसा बढि तिरेर एअरपोर्टमा ‘फास्ट ट्रयाक’ बाटोबाट चेक इन हुन पाउंछन् । स्पेशल देखिनेहरुले त्यसका लागि पैसा तिरेका हुन्छन् भन्ने थाहा हुन्छ । त्यो बाहेक स्पेशलमा पर्ने शारीरिक अशक्त भएका रोगी, बुढाबुढी, केटाकेटी, गर्भवती, साना बच्चा सहितका बाबुआमा पर्दछन् ।

यो बहिरिएको भिडियोले के देखायो भने नेपालमा बिगत दश वर्षमा देखिएको परिवर्तनले केबल रुप फेरेको रहेछ । मानसिकता त फरक रुपमा झन झ्याङिदै गएको भान भयो । २०४६ साल पहिले 
दरबारिया, पञ्चायतका आसेपासे स्पेशल हुन चाहन्थें, स्पेशल हुन नपाए आक्रोशित भएर सजाय दिंन्थे । २०४६ को लोकतन्त्रमा यो राजनीतिक नेता र कार्यकर्तामा सरयो, उनीहरु पनि आफूलाई स्पेशल मान्न थाले सुविधा भोग गर्न । अब गणतन्त्रमा नेता, हाकिम, कलाकार, विभिन्न संघसंस्थाका पद पाएका ब्यक्ति, डाक्टर, इन्जिनियर, पत्रकार, अरु अरु 
थपिएछन् ।

केही महिनामात्र अगाडि सुनेको कुरा हो अष्ट्रेलियाबाट आएका नेपालीले एअरपोर्टका कर्मचारीलाई दुरव्यवहार गरे । हुनसक्छ उनलाई लागेको म त विकसित देशमा बसेकालाई पनि उहीं नियम लगाउने म त स्पेशल हो नि ।

तर, सर्वसाधारण त जहांको त्यहीं । स्पेशलको क्याटोगोरी थपेर संख्या बढाएर मात्र देशमा लोकतन्त्र आएको मान्नु भन्दा स्पेशललाई सर्वसाधारणको जस्तै ब्यवहार हुनुपरयो भन्ने माग राख्न सक्नु परयो । कसैलाई स्पेशल चाहिन्छ भने किनुन न विदेशमा जस्तै 
राज्यको ढुकुटी पनि बढ्छ । अथवा रोगी, बुढाबुढी, केटाकेटी, अशक्त हुनुपरयो । होइन भने सर्वसाधारणको मुल्यमा स्पेशलको सुविधा खोज्ने सोचको अन्त्य हुनुपर्छ लोकतन्त्रमा र सबैखाले कामको उत्तिकै सम्मान हुनुपर्छ । सबैले नितान्त आफ्नै लागि आफ्नो क्षमता र परिवेश अनुसार काम गर्छन् भन्ने बुझाइ हुन जरुरी छ ।

दीपा, लन्डन

(लेखिकासंग विगत १० वर्षदेखि लन्डन बरोमा सिसिटिभी कन्ट्रोल रुममा काम गरेको अनुभव छ)

प्रतिक्रिया

सम्बन्धित सामाग्री