गैरआवासीय नेपाली संघको बैठक पोखरामा सम्पन्न, यस्ता छन् निर्णय

काठमाडौं ।  गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को प्रत्यक्ष बैठक जनवरी १८ र १९ तारिख गण्डकी प्रदेशको कास्कीस्थित रुपाकोटमा सम्पन्न भएको छ । संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा भएको उक्त बैठकमा विश्वका विभिन्न मुलुकबाट आएका अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी, सदस्य, संरक्षक तथा सल्लाहकारहरु गरी ५८ जनाको सहभागिता थियो । 

बैठक पश्चात गण्डकी प्रदेशमा लगानी प्रवर्धन गर्ने सम्बन्धमा प्रदेश सरकार र गैरआवासीय नेपाली संघबीच अन्तरक्रिया गरिएको थियो । उक्त कार्यक्रममा मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङ लगायत प्रदेश सरकारका महत्वपूर्ण निकायका प्रतिनिधिहरु र संघका पदाधिकारीको उपस्थिति थियो ।

बैठकबाट भएका महत्वपूर्ण निर्णय निम्नानुसार छन्-

1) ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन संघले सक्रियतापूर्वक विभिन्न कार्यक्रम सुरुवात गरिसकेको छ । यसलाई अझै घनीभूत बनाउन संघका राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वय परिषद्को वार्षिक कार्यक्रमको रणनीतिक योजनासहित एकमुष्ट विवरण आगामी १ महिनाभित्र सार्वजनिक गरिनेछ ।  

2) बैठकमा बृहत छलफल पश्चात २०१९–२०२१ कार्यकालका लागि विस्तृत कार्ययोजना तयार पारिएको छ । संघका सबै विभागहरुको कार्ययोजना विवरणको पुस्तिका १ महिनाभित्र प्रकाशन गरिनेछ ।

3) एनआरएन विश्व सम्मेलन प्रभावकारी बनाउन संघको अन्तर्राष्ट्रिय महाधिवेशन नभएको वर्ष विज्ञ सम्मेलनको साथमा आयोजना गरिने छ ।

4) नेपाल सरकारको साझेदारीमा अक्टोवर २०२० मा दोश्रो एनआरएन विश्व विज्ञ सम्मेलन गरिनेछ । सम्मेलनलाई परिणाममुखी बनाउन नेपाल सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधिहरु र संघबीच एक संयुक्त समिति निर्माण गरिनेछ ।

5) बैठकमा परोपकारी एवं मानव कल्याणकारी कार्यका लागि स्थायी प्रकृतिको श्रोत परिचालन गर्नका लागि स्थापना गर्न लागिएको NRNA Foundation को अवधारणापत्रमा बृहत छलफल गरिएको छ । उक्त फाउण्डेसन स्थापना गर्न केही वैधानिक तथा कानूनी कठिनाई समेत पहिचान गरिएकोले यसको समाधानका लागि नेपाल सरकारको सम्बन्धित निकायसँग परामर्श तथा संवाद गरिनेछ । साथै अक्टोवर २०२० भित्र NRNA Foundation दर्ता प्रक्रिया समेत अगाडि बढाइनेछ ।

6) संघको सदस्यता वितरण र व्यवस्थापन, अन्तर्राष्ट्रिय र राष्ट्रिय समन्वय परिषद्का निर्वाचन लगायतका गतिविधिहरुलाई अत्याधुनिक डिजिटल प्रविधिमैत्री बनाउनका लागि प्रस्ताव गरिएको ‘Smart NRNA परियोजना’ ६ महिनाभित्र सम्पन्न गरिनेछ ।

7) Smart NRNA परियोजना र NRNA Foundation स्थापनाका लागि विधानमा संशोधन गर्न आवश्यक विषयहरु १ महिनाभित्र पहिचान गरी संघको विशेष महाधिवेशनको मिति समेत तय गरिनेछ ।

8) बैठकमा संघको आर्थिक अवस्था, संघको वित्तिय प्रतिवेदन र तेश्रो पक्षबाट गराइएको डीडीए र आन्तरिक लेखा परिक्षणको प्रारम्भिक प्रतिवेदनमाथि बृहत छलफल गरिएको छ । आवश्यक सबै प्रक्रिया पूरा गरी उक्त प्रतिवेदन यथाशक्य छिटो सार्वजनिक गरिनेछ । संघको वित्तिय विवरणहरु हरेक ३ महिनामा सार्वजनिक गर्ने प्रतिवद्धता अनुसार पछिल्लो ३ महिनाको विवरण १ साताभित्र संघको आधिकारिक वेवसाइटमार्फत सार्वजनिक गरिनेछ । राष्ट्रिय समन्वय परिषद्हरुलाई पनि ३-३ महिनामा आर्थिक वित्तिय विवरणहरु सार्वजनिक गर्न यसै बैठकमार्फत निर्देशन दिइन्छ ।

9) बैठकले काठमाडौं महानगरपालिकासँग समन्वय गरी नमूना सार्वजनिक शौचालय निर्माणको काम अघि बढाउने औपचारिक निर्णय गरेको छ । उक्त योजनाका लागि बैठकमा सहभागीहरुबाट रु ४० लाखको सहयोग संकलन भएको छ ।  बैठकले छात्रा शौचालयको समस्या भएका विकट तथा ग्रामिण क्षेत्रका विद्यालयसँग सहकार्य गरी शौचालय निर्माणको काम अघि बढाउने निर्णय गरेको छ ।

10) बैठकले वैदेशिक रोजगारीका समस्या, समाधान र सम्भावनाको पहिचान गरी ६ महिनाभित्र एक श्वेतपत्र तयार गर्न विज्ञहरुको कार्यदल गठन गर्ने निर्णय समेत गरेको छ । साथै वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको सीप र क्षमताको सदुपयोग गर्नका लागि उनीहरुको विवरण संकलनका लागि सरकारले अघि सारेको श्रम बैंक कार्यक्रममा सहकार्य गर्ने निर्णय गरिएको छ ।

11) गैरआवसीय नेपाली संघद्वारा प्रस्तावित र नेपाल सरकारले पनि घोषणा गरिसकेको तर कार्यान्वयनमा नआएको वैदेशिक सामाजिक सुरक्षा कोषको यथाशीघ्र कार्यान्वयन गर्न तथा महिला कामदारहरुको समस्या समाधान लगायत विषयमा नेपाल सरकारका सम्बन्धित निकायसँग पहल गर्ने निर्णय गरिएको छ ।

12) संसदमा विचाराधीन नागरिकता ऐन संसदको यसै हिँउदे अधिवेशनबाट पारित गरी संविधानमा व्यवस्था गरिए अनुरुप गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्न यो बैठक नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ । यस्तै लगानी, सम्पत्ति र गैरआवासीय नेपालीको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसँग जोडिएको गैरआवासीय नेपाली सम्बन्धी ऐनको पुनर्लेखन गर्न र त्यसमा संघले पेश गरेका सुझावहरु समेत समेट्न यसै बैठकमार्फत नेपाल सरकारसमक्ष यो संघ विशेष अनुरोध गर्दछ ।

13) संघको संरचना प्रयोग भई प्रवर्द्धन भई आएका व्यवसायिक कम्पनीहरुको नाफाको निश्चित प्रतिशत संघको कोषमा जम्मा गर्नका लागि सम्बन्धित सबैलाई अनुरोध गर्ने निर्णय यस बैठकले गरेको छ ।

14) अष्ट्रेलियामा लागेको डढेलोको कारण हुन गएको जनधनको क्षतिप्रति गहिरो दुखः व्यक्त गर्दै मृतआत्माको शान्तिका लागि यो संघ कामना गर्दछ । साथै उद्दार कार्यमा सक्रिय सहभागिता जनाउने राष्ट्रिय समन्वय परिषद् अष्ट्रेलियालाई विशेष धन्यवाद व्यक्त गर्दछ ।  

धन्यवाद 

गैरआवासीय नेपाली संघ,

मिति : २० जनवरी २०२०

कास्की, रुपाकोट, गण्डकी प्रदेश, नेपाल 

प्रतिक्रिया

सम्बन्धित सामाग्री