बेलायतले गोर्खाहरुका समस्या वार्तामार्फत समाधान गर्ने प्रतिवद्धता


काठमाडौं । बेलायतले भूतपूर्व गोर्खाहरुका माग सम्बोधन गर्ने संकेत गरेको छ । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले भूतपूर्व ब्रिटिस गोर्खाहरुका समस्या वार्तामार्फत समाधान गर्ने प्रतिवद्धता जनाएकी हुन् । बिहीबार संसद्को 
अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलसंगको भेटमा उनले यस्तो बताएकी इकान्तिपुरले जनाएको छ ।

भूतपूर्व गोर्खाहरुले समान पेन्सनका लागि लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।

समितिका सचिव सुरजकुमार दुराका अनुसार सभापति खरेल र राजदूत पोलिटबीच द्विपक्षीय हित र पारस्परिक सम्बन्धको विषयमा कुरा भएको थियो । नेपालले कूटनीतिक सम्बन्ध राखेको पहिलो मुलुक बेलायत हो । नेपालले सन् १८१६ देखि बेलायतसंग द्विपक्षीय कूटनीतिक सम्बन्ध राख्न थालेको हो ।

राजदूत पोलिटले दुई मुलुकबीचको संसदीय सम्बन्धको बारेमा पनि सभापति खरेलसंग कुरा गरेकी थिइन् । राजदूत पोलिटले नेपाल सरकारले चैतमा नेपालमा गर्न लागेको सगरमाथा संवाद र बेलायतले नोभेम्बरमा गर्न लागेको ‘कोप-२६’ को बारेमा पनि कुरा राखेकी थिइन् । नेपालले पहिलो पटक आयोजना गर्न लागेको सगरमाथा संवादमा यस पटक जलवायु सम्बन्धमा छलफल हुंदैछ भने कोपमा जलवायु परिवर्तनको सम्बन्धमा छलफल हुने गर्छ ।

राजदूत पोलिटले सगरमाथा संवादमा बेलायतकातर्फबाट मन्त्रीस्तरमा सहभागिता हुने पनि प्रतिवद्धता व्यक्त गरिन् । उनले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई आफ्नो मुलुकले पूर्ण रुपमा सहयोग गर्ने बताएको पनि समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री