आइतबार, माघ १२ २०७६ | Sun, January 26, 2020
नेपालको समय: १२:२८ | UK Time: 06:43

आयरल्याण्डमा पनि नेपाल भ्रमण वर्ष कार्यक्रम

विनेपाली
२०७६ पुष २३ गते ०:०५


लन्डन । नेपाल सरकारद्वारा घोषित ‘नेपाल पर्यटन वर्ष २०२०’ सफल पार्न आयरल्याण्डमा पनि विशेष कार्यक्रम भएको छ ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद आयरल्याण्डले नेपाली राजदूतावास लण्डनको समन्वयमा गत जनवरी ६ तारिख टिचर्स क्लब, डब्लिन, आयरल्याण्डमा एक कार्यक्रम गरि अभियान उद्घाटन गरेको हो ।

उक्त कार्यक्रमको सभापतित्व संघका अध्यक्ष मिलन छन्त्यालले गरेका थिए भने प्रमुख अतिथि नेपाली राजदूतावास लण्डनका तृतीय सचिव तेजेन्द्र रेग्मी थिए ।

कार्यक्रममा आयरल्याण्डमा भएका विभिन्न 
संघसंस्थाका अध्यक्षहरु, ब्यवसायी साथै कर्क, लिम्रिक, गल्वे, कार्ल तथा पोर्तलिज आदि शहरबाट आएका सयौं सहभागी नेपाली थिए । सो अवसरमा संघले क्षेत्रीय उपसंयोजक शुक्रराज न्यौपाने र केन्द्रिय सदस्य बिनोद कार्कीलाई बधाई तथा सम्मान गरेको थियो ।

उक्त कार्यक्रममा दूतावासबाट प्रदान गरिने सम्पूर्ण सेवा सुविधा लिन सजिलो होस् भनेर घुम्ती शिविर पनि व्यवस्था गरिएको थियो ।दूतावासका रेग्मीले उपलब्ध गराएको घुम्ती शिविरबाट आयरल्याण्डमा रहेका धेरै नेपाली लाभान्वित भए ।

प्रमुख अतिथिका रुपमा बोल्दै रेग्मीले नेपाल सरकारको एक मात्र साझेदारी संस्था गैर आवासीय नेपाली संघसंग नेपाली राजदूतावासले सधैं सहकार्य गर्दै आएको र यो निरन्तरता भविष्यमा अझै 
अर्को उचाईंमा लैजाने बताए । रेग्मीले ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल पार्ने उद्देश्यले गठित २१ सदस्यीय ‘नेपाल पर्यटन वर्ष २०२० मूल समिति’ को घोषणा पनि गरे ।

कार्यक्रममा संघका अध्यक्ष मिलन छन्त्यालले ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल पार्न आयरल्याण्डमा गरिने कार्ययोजना प्रस्तुत गरेका थिए । छन्त्यालले जुन तरिकाले विदेशमा रहे पनि आफ्नो मातृभूमिप्रतिको स्नेह सम्झेर भ्रमण वर्षको प्रचारप्रसारमा संघले अगाडि सारेको कार्ययोजनालाई पूर्ण साथ दिन अनुरोध गरे ।

उनले गत ३१ डिसेम्बर २०१९, न्यू इयर इभ मनाउन डब्लिनमा जम्मा भएका लाखौं आइरिस तथा विदेशीको अगाडि भ्रमण वर्ष २०२० को लोगो अंकित टोपी र ब्यानर बोकेर रयाली निकालिएको पनि जनाए ।

कार्यक्रममा एक अन्तरक्रिया पनि गरिएको थियो । प्राप्त जिज्ञासाहरुको जवाफ संघका अध्यक्ष छन्त्याल र दूतावासका तृतीय सचिव रेग्मीले दिएका थिए ।

कार्यक्रम समापनपछि राजदूतावास, संघ र आयरल्याण्डमा बस्ने नेपालीहरुको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले राउण्ड टेबल डिनर पनि गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक