नेपालीहरु बिदेशिने क्रमको बैधानिक शुरुवातको इतिहास सन् १८१५ भएको पाइन्छ । यहि समय देखि नेपाली युवाहरु बिधिवत भारतमा ब्रिटिस इष्ट इन्डिया कम्पनी अन्तर्गतको सेनामा भर्ना भएर सेवा शुरु गरे । सन् १९४६ मा भारत स्वतन्त्र भएपछि १० बटालिन मध्ये केही बटालिन ब्रिटिस सरकारको सेवामा गोर्खा बटालिनको नाउंबाट संसारका बिभिन्न मुलुकमा सेवा गर्न पुगे । यस पछि लगातार सेवाका लागि भर्ना हुंदै गरिरहेका गोर्खाजहरु र सेवानिबृत्त गोर्खा सैनिकहरु ब्रुनाई, हङकङ, सिंगापुर आदि देशमा बस्ने र बिभिन्न पेशाहरु गरेर लामो समय बस्न थाले । तर, उनीहरुको पनि परिवार नेपालमा रहेका भएका कारण पनि बिदेशमा साथीभाई भेटघाट र चार्डपर्वको रमझमनै उनीहरुको जीवनचर्या बनिरह्यो । धेरैले बिदेशमा नै ज्यान गुमाउन पुगे, कति अंगभंग असक्त भएर नेपालै फर्कन परयो । उनीहरुले कामकै दौरानले आफ्नो समुदायका लागि सोच्ने र काम गर्ने अबसर नै पाएनन् । उनीहरु आफैं माथि भैरहेको भेदभाव पनि सहिरहन परयो ।
सन् १९५० पछि विभिन्न मुलुकसंग नेपालको दौत्य सम्वन्ध कायम भएपछि गैर सैनिक नेपालीहरु बाहिर जाने क्रम शुरु भयो । विशेष गरि शहरी क्षेत्रका सभ्रान्त परिवारबाट अमेरिका, रसिया र पश्चिम युरोपका देशहरुमा नेपाली विद्यार्थीहरु अध्ययनको सिलसिलामा जाने क्रम शुरु भयो । केहि नेपालीहरु त्यो भन्दा अघिदेखि नै भारत हुंदै युरोप आएको भन्ने प्रमाणहरु पनि पाइन्छ । बेलायतमा बसोबास गरेका पुराना नेपाली स्व. इश्वर मानन्धरको ‘स्मृतिका पानाहरु’ भन्ने पुस्तकमा सन् १९६० को दशकको अन्तसम्ममा १० जना नेपाली भान्छेहरु तन्दुरी स्वादका लागि बेलायत आएर लण्डनमा काम गरेका थिए भन्ने उल्लेख छ । त्यसबेला देखिनै केही नेपालीहरु बेलायत र अन्य देशमा पनि गएको हुनु पर्दछ ।
यो क्रम सन् १९९० को विश्वव्यापीकरण शुरु भएपछि कामदारहरुको खांचो भएका देशमा कामदार आवतजावत गर्न सक्ने भए । त्यसपछि बेरोजगार नेपाली युवाहरु पनि कामको खोजीमा बिभिन्न मुलुकमा जानेक्रम ह्वात्तै बढ्यो । पश्चिमी देशमा अध्ययन जाने क्रम पनि बढ्यो । अध्ययन गर्न गएका युवाहरु पनि बेरोजगारले थलिएको आफ्नो देशमा फर्कने र काम गर्ने चाहना हुंदाहुंदै पनि सम्बन्धित देशमा नै काम खोजेर बस्न थाले । अध्ययन सकेर नेपाल फर्केका दक्ष युवाहरु पनि आफ्नो देशमा रोजगारी नपाएपछि मनलाई मारेर फेरी बिदेशी मुलुकमै काम खोजेर जाने क्रम बढ्यो । कतिपय नेपालीहरु नेपालमा भएका राजनैतिक परिघट्नाका कारण पनि शरणार्थी भएर देश छोडे भने कतिपय दक्ष र अदक्ष कामदार स्किम, अमेरिकी चिठ्ठा, भूपू गोर्खा बन्दोबस्त जस्ता कार्यक्रम मार्फत बिदेशिन थाले । यसले के देखिन्छ भने नेपालीहरु बिदेशिनुको मुख्य कारण बिलासी र स्तरीय जीवन खोज्दै हैन् । मुख्यकारण जीवन धान्न रोजगारीको तलासी नै हो । नेपालीलाई रोजगारीमा जाने भनेकै पनि नेपाल भन्दा अर्थतन्त्रमा सवल मुलुकहरुमा नै हुन् । जहां त्यसै पनि नेपाल भन्दा जीवनस्तर राम्रो हुन्छ । तर पनि पहिलो पुस्तामा नेपाल फर्कने इच्छा नभएको मानिस बिरलै पाइन्छ ।
यसरी सन् २०१९ सम्म आइपुग्दा त करिब एक करोडको हाराहारीमा नेपालीहरु मुलुकबाहिर रहेको तथ्याङ्कहरु आएका छन् । केही ब्यापार ब्यवसाय गरि आवतजावत गर्ने गरे पनि धेरै नेपाली जीवन धान्न कामको खोजी र गुणस्तरीय शिक्षाका लागि मुलुक बाहिर रहेको पाइन्छ । बाहिर रहेका नेपालीहरु बिस्तारै विभिन्न पेशा ब्यवसायमा पनि संलग्न हुंदै गएका छन् । कति त ठूला ठूला पदमा समेत पुगेका छन् । आर्थिकरुपमा आत्मनिर्भरता साथ विभिन्न अवसरमा अगाडि बड्दै गरेका नेपालीहरु विभिन्न समाज र समुदायका नाममा खुलेका संघसंस्थाहरुमा संलग्न हुंदै आएका छन् ।
बेलायतमा सन् १९६० मा खुलेको यती एसोसिएसन भारत भन्दा बाहिर खुलेको नेपाली संस्थाहरुमा सबैभन्दा जेठो संस्था मानिन्छ । तर, यसले बेलायतमा बृद्धि भैरहेका सबै नेपालीहरुलाई समेट्न सकेन । यसरी यतीले सबैलाई समेट्न नसकेकै कारण पनि अरु नेपाली सामाजिक संघसंस्थाहरुको उदय आवश्यक भयो । यस यती संस्थाको ब्यापक र विश्व संजाल भने थिएन र छैन पनि । शुरु शुरुमा सबै नेपालीहरु अटाउने खालको र सबै देशमा संजाल फैलिएको संस्था भने थिएन । त्यसपछि सन् १९८५ मा साहित्य र कलामा रुची राख्ने हरुले बेलायतमा नै कोसेली संस्थाको स्थापना गरे । अहिले सन् २००३ देखि गैर आवासीय नेपाली संघ साझा संस्थाको रुपमा आगाडि आएको छ । शुरु शुरुमा यो ब्यापारीहरुको संस्थाको रुपमा जन्म भएपनि यसको नामकै कारण यो संस्था धेरै सर्वसाधारणहरुको आकर्षण र आस्था बन्न पुगेकोछ । धिमा गतिमा केहि परिवर्तन हुंदै आएको भएपनि यसलाई सबैको साझा संस्था बनाउन थुप्रै नीतिगत र संरचनागत कामहरु गर्नुपर्ने देखिन्छ ।
बेलायतमा मात्रै हाल करिब ४०० हाराहारीमा नेपाली संघसंस्था स्थापना भै कार्यरत छन् भनिन्छ । यि मध्ये सामाजिक, राजनैतिक, क्षेत्रीय, जातीय, पेशागत, सांस्कृतिक, भूपू सैनिक, ब्यापार र धार्मिक मुख्य प्रभागमा पर्दछन् । नेपालका राष्ट्रिय पार्टी, संघ र महासंघका संभागहरु सबै खुलेका छन् । संस्था खोल्ने होड अन्य देशहरु (जहां नेपालीहरु स्थायीरुपमा बसोबास गर्दछन्) मा पनि उस्तै उस्तै अवस्था छ । प्रजातान्त्रिक मुलुकहरुमा बस्ने नेपालीले त कानुनले निषेध गरेका बाहेक संस्था खोलेर संगठित हुन कसैले रोक्ने कुरै भएन । तरपनि केही बाहेक धेरैजसो नेपाली संघसंस्था सम्वन्धित देशको कानुन अनुसार दर्ता नभै स्थापना भएर आफ्ना उद्देश्य र प्राथमिक क्षेत्र अनुसारका कामहरुमा संलग्न हुंदै आएका पाइन्छ । यति संख्यामा हुंदाहुंदै पनि यस्ता संस्थाहरु भन्दा बाहिर रहेका नेपालीहरुको संख्या पनि उत्तिकै धेरै देखिन्छ । उनीहरुले नेपाली सामुदायिक संस्थाहरुले मन जित्ने गरि गर्नु पर्ने काम गर्न नसकेको, बढि विवादमा रुमल्लिएको र नेपाली समुदायको विकासमा ध्यान नदिएकोले बरु चुप बस्नु राम्रो भन्ने ठान्दछन् ।
यि संघसंस्थाहरु आपसी हित, अधिकारका लागि भन्दा विभिन्न तरिकाबाट नेपालका लागि सहयोग (आर्थिक) संकलनमा संचालनमा आएका देखिन्छन् । आफ्ना सदस्यहरुका लागि भने यि संघसंस्थाहरुले नेपालका जातीय, धार्मिक, क्षेत्रीय र राष्ट्रिय चार्ड पर्वहरुमा कलाकारलाई समेत आमन्त्रण गरेर भेटघाट र मनोरन्जन कार्यक्रमहरु आयोजना गरिदिन्छन् । त्यो भन्दा बढी आ आफ्नो क्षेत्रका नेता, समाजसेवी, बुद्धिजिवी विदेश आए भने भाषण वा अन्तरकृया कार्यक्रम आयोजना गरिदिन्छन् । यसबाट नेपालमा भैरहेका गतिविधिहरुबारे मुलुकबाहिर बस्नेलाई सुसूचित हुने अवसर प्रदान गर्दछन् । यसले गर्दा आफ्नो मुलुक र आफन्तबाट टाडा रहंदाको न्यास्रोपनलाई केही हदसम्म हल गर्न मद्दत गर्न सहयोग भएको देखिन्छ । यसरी कार्यक्रमहरु आयोजना गर्नु भेटघाटको अवसर मिलाउनु पनि समुदायका लागि राम्रो हो ।
बिदेशमा बस्ने पहिलो पुस्ताका नेपालीहरुले आफ्नो समुदायको र भावी पिंढीका लागि पनि त कामहरु गर्न जरुरी छ । पहिलो पुस्ताले भावी पुस्तालाई के दिएर छोड्ने भन्ने सोच्न ढिलो भैसकेको छ । अब बिस्तारै पहिलो पुस्ताका नेपालीहरु बयोबृद्ध हुंदैछन् । अझ टड्कारो बृद्ध भैसकेका भूपू गोर्खा सैनिकहरु र तिनका परिवार छन् । उनीहरुका लागि सत्संग गर्न हल वा सामुदायिक स्थल, आफ्नै धर्म संस्कृति अनुसारको मठ मन्दिर, संस्कृति अनुसारका मरणोपरान्त शुद्ध कृयाकर्म स्थल आदि आवश्यक भैसकेको छ । घरभित्रै निवृत्त दैनिक जीवन बिताउनु शारिरिक र मानसिक दुबै कारण पनि त्यति राम्रो हैन् । यस्ता सेवाहरु नेपाली समुदायको बसाई नजिक वा पायक स्थानमा हुन जरुरी छ । मृत्युपर्यन्त गरिने कर्मादिका लागी शुद्ध र सुगम स्थान वा बस्ने ठाउं छैन् । मृत्यु विदेशमा तर कृयाकर्म गर्न नेपाल जानु पनि ब्यवहारिक हुंदैन । यसमा नेपाली संस्थाहरुले काम गर्न आवश्यकता मात्र हैन ढिलो भैसकेको देखिन्छ ।
यि समस्याको समाधानतर्फ नेपाली समुदायका संघसंस्था नेतृत्वहरुको त्यति ध्यान गएको देखिदैन् । सबै प्रकारका संस्थाहरुमा एक अर्काको मान र सम्मान मर्दन गर्दै गुट र उपगुटहरु खडा गर्ने र पद हत्याउनेमा बढि ब्यस्त देखिन्छन् । पद प्राप्त गर्न नसके छुट्टै संस्था खोलेर भए पनि प्रतिस्पर्धा गर्ने गरेको पाइन्छ । यसबाट नेपाली समाजमा झन् अविश्वास, कटुता र अन्योलता बढेर गएको छ । यसमा एकातिर संस्थाले सबै सदस्यहरुलाई समानताको दृष्टिबाट नहेर्नु, निर्णय र आर्थिक पारदर्शीता नहुनु र पदमै बसिरहन मन पराउनु हो भने अर्कोतर्फ प्रतिष्पर्धीहरु पनि रचनात्मक सहयोग गरेर आफूलाई क्षमतावान बनाएर संस्था चलाउन आकांक्षा राख्नु भन्दा असहयोग र विरोध गरेर पद हत्याउन लाग्नु देखिन्छ । धैर्यताको कमी पनि नेपाली समुदायका नेतृत्व आकांक्षीहरुमा देखिन्छ । म अर्को पटक प्रयास गर्छु हैन, म यसै पटक हुन पर्दछ भन्ने सोचाई रहने गरेको छ ।
अरु ब्यक्ति पदीय जिम्मेवारीमा बस्दा समय दिएन, काम गरेन, लेखा पारदर्शी गरेन, सबैलाई समेटेनन् भन्ने तर त्यही नाराबाट प्रतिस्पर्धा गरेर पद प्राप्त गरेपछि भने साथीहरुबाट असहयोग भयो आदि भन्दै आफैं पनि उस्तै संस्कार देखाउने गरेको देखिन्छ । अर्कोतर्फ नेपाली समाजमा आफूलाई शक्तिशाली र बुज्रुक ठान्नेहरु पनि आफैं समाजमा पदीय जिम्मेवारी लिएर काम गरि सकेकाहरु बाहिर रहेर सकारात्मक भूमिका निभाएर काम गर्नुको सट्टा गुट उपगुटमा लागेर खैला बैला मच्चाउने र आफूलाई शक्तिशाली देखाउन तल्लिन हुने मानिसहरु पनि उत्तिकै देखिन्छन् । बुज्रुकहरुको पनि सहयोग संस्थामा चाहिन्छ । गुट र उपगुटलाई उचाल्न र पछार्न हैन कि सबैका लागि हित हुने सकारात्मक सुझाव र सहयोगमा हुनु पर्दछ ।
यि अनगिन्ती र अनियन्त्रित रुपमा खुलेका नेपाली संघसंस्थाहरुमध्ये सानो संख्यामा मात्र नियमन निकायमा दर्ता छन् । बहुसंख्यक नेपाली संघसंस्थाहरु न त नियमन निकायमा दर्ता छन् न त यिनको लेखा तथा आर्थिक कारोबार कानुन अनुसार नियमित गर्ने र सदस्य सामु पारदर्शी गर्ने गरेका छन् । बेलायती कानुन अनुसार पनि बिना दर्ता र अनुमति कसैले पनि पैसा उठाउन पाईंदैन् । उठाएको रकम गलत काममा नजाओस् र मनि लन्डरिङ नहोस् भन्नाकालागी पारदर्शी रुपमा बैधानिक प्रकृयावाट पठाउनु पर्दछ । संस्थाहरु संस्थागतरुपमा गैरकानुनी र सदस्यप्रति उत्तरदायित्वको कमी भएकै कारणपनि नेपाली संस्थाहरु बढि वादविवादमा अल्झिने र न्यून उपलब्धि हुने गरेको देखिन्छ । नेपाली समुदायका यि संघसंस्था कानुनी भन्दापनि सामाजिक विश्वास र एडक रुपमा स्थापित र कार्यरत छन् । यस्तो अवस्थामा काम गर्दा कुनै दिन कानुनी जटिलता आउन सक्छ भन्ने हेक्का समेत राख्न जरुरी छ ।
यि संस्थाहरुमा नेतृत्वले आपसी प्रतिष्पर्धा र तंछाडमंछाड गरेर भए पनि उठाएको रकम नेपालमा आ आफूले चाहेको ठाउं र समुदायमा सहयोग गर्ने, फूलमाला लगाएर खादा लगाउने र नेपालमा आफूलाई समाजसेवीको रुपमा चिनाउने होड देखिन्छ । जेजस्तो भएपनि मातृभूमिमा सहयोग गर्नु अत्यन्त राम्रो पक्ष त हुंदै हो । तर, पनि यि संस्थाहरुले उठाएर पठाएको सहयोगको प्रभावकारिता, सरकारी निकायहरुसंगको समन्वय, दोहोरोपन निराकरणमा ध्यान पुगे नपुगेको भने अर्को अध्ययनको विषय बनेको छ ।
अर्को महत्वपूर्ण पक्ष भनेको आफू बसोबास गरिरहेको मुलुकमा नेपाली समुदाय र तिनको धार्मिक, सांस्कृतिक, समाजिक क्षेत्रको दीर्घकालिन विकासमा प्रशस्त काम गर्न बांकी देखिन्छ । यि नेतृत्वले आफू बसेको मुलुकमा सामुदायिक भवन निर्माण, नेपाली संस्कृतिको संरक्षण, नेपाली भाषाको संरक्षण, धार्मिक मठ मन्दिरहरुको स्थापना र विकास, नेपाली कर्मकृयाहरुको लागी ब्यवस्था आदि कामहरु पहल गर्नुपर्ने देखिन्छ । यस्ता सामुदायिक कृयाकलापमा सरकारी सहयोग प्राप्त हुंदैन । तर सामाजिक विविधताको रुपमा भएको श्रोत सम्वन्धित काउन्सिलबाट भने प्राप्त हुन सक्छ । यसको सदुपयोगका लागि पनि संस्था दर्ता गरि उचित योजना र कार्यक्रम बनाएर नेपाली समुदायहरुले सदुपयोग गर्न सक्नुपर्दछ ।
नेपालीहरु भन्दा पहिला देखि विदेशमा बसोवास गर्ने भारतीय, बंगाली, पाकिस्तानी, श्रीलंकन लगायत अन्य देशहरुका मानिसहरुले एकजुट भएर आफ्ना बाहुल्यता भएका विभिन्न ठाउमा आआफ्ना सामुदायिक, धार्मिक, सांस्कृतिक स्थल, भवनहरु स्थायीरुपमा निर्माण वा खरिद गरेर आ आफ्ना समुदायको पहिचान खडा गरेका छन् र आ आफ्ना समुदायलाई सेवा पुरयाइरहेका छन् । उनीहरुले आफ्नै सामुदायिक पार्टी स्थल, मरणोपरन्त काजकृया सेवा, भाषा तथा संस्कृति केन्द्र मठ मन्दिरहरु बनाएका छन् । आफ्ना सन्ततीहरुलाई यसरी सहभागी हुने, सिक्ने र आफ्नो जीवनमा आ आफ्नै धर्म, कला, संस्कृति, भाषालाई निरन्तरता दिने अवसर प्रदान गरेका छन् । यसै कारण बेलायत लगायत अरु देशहरुमा उनीहरुको पहिचान स्थापित छ, राज्य संयन्त्रहरुले चिन्छ । स्थानीय समुदायमा पनि उनीहरुको समायोजन छ । उनीहरुले यसरी पहिलो पुस्ताले नै यि कामहरु शुरु नगरेको भए र पछिल्ला पुस्ताहरुमा जिम्मेवारी नसारेको भए उनीहरुको पनि धर्म, संस्कृति, भाषा लोप हुने अवस्थामा पुग्दथ्यो । त्यसकारणले नेपाली संघसंस्था र अभियान्ताहरुले पनि एकजुट भएर समुदायिक विकासका कामहरु गर्न जरुरी भैसकेको छ । आफ्नो भाषा संस्कृति, रितिरिवाज बुझ्ने अवसर नयां पुस्तामा हस्तान्तरण गर्न जरुरी छ । अन्यथा पछिल्ला पुस्ता पनि अन्य धर्म र संस्कृतिमा गएर विलय हुनेछन् । हाम्रो धर्म, कला, संस्कृति, सबै रितिरिवाजहरु लोप भएर जानेछन् । हामी पछिका पुस्ताका नेपाली समुदायलाई समेत सम्बन्धित राज्य र राज्य संयन्त्रले चिन्न सक्दैन् भने सामाजिक समायोजनमा पनि कठिनता आइरहनेछ ।
नेपालीहरु विदेशमा बस्नु भनेको आफ्नो धर्म, कला, भाषा र संस्कृति छोड्नु र अर्काकोमा ‘त्वम शरणम’ गर्नु हुंदै हैन् । यिनलाई आफू जहां भएपनि संरक्षण र विकास गर्नु हो । त्यसैले सामाजिक अभियन्ता र संघसंस्थामा नेतृत्व गर्ने ब्यक्तित्वहरुले आफू मात्रै समाजसेवी भनेर चिनिनुको अलावा हामीले कसरी नेपाली समुदायकालागी दिगो र आवश्यक सेवाहरु दिन सकिन्छ र विदेशमा बस्ने भावी सन्ततिहरुमा कसरी हाम्रा धार्मिक आस्था, संस्कृतिक मान्यता र चलन, नेपाली कला र नेपाली भाषाको सञ्चार गर्न सकिन्छ भन्नेतर्फ सोच्न र काम गर्न जरुरी छ ।
यदि पहिलो पुस्ताका अभियन्ताहरुले अहिले यस विषयमा नसोच्ने र त्यसका लागि कदम नचाल्ने हो भने आगामी पुस्ताले नेपाली भैरहने र नेपाली संस्कृतिलाई जोगाई राख्नेछन् भन्ने अवस्था हुंदैन किनकि हामीले भेला, भेटघाट र सभाबाहेक केहि गरेकै छैनौं । उनीहरुले के सिक्ने र के गर्ने ? तिनै भैरहेका भेला र भेटघाटमा पनि दोस्रो पुस्ता वा नवयुवा युवतीको सहभागिता कम देखिन्छ । यसरी विदेशिएका नेपालीहरुका दोस्रा र पछिका पुस्ता र नेपालकाबीचको सम्बन्ध टुट्न जाने खतरा देखिन्छ । त्यसैकारण केही पैसा र पदमा खेलेर तत्कालिन छोटो अवधिमा लोकप्रियता खोज्नु भन्दा दीर्घकालिन सोच लिएर नेपाली समुदायले काम गर्नु जरुरी र हितकर छ । संघसंस्थाहरु पनि दीर्घकालिन सोच लिएर भावी पुस्ताहरुसम्मको दीर्घकालिन भिजन र कार्यक्रम लिएर अगाडि आउन जरुरी देखिन्छ ।
पुरुषोत्तम पौडेल समसामयिक विषयमा कलम चलाउँछन् ।