लन्डन । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा काम गर्ने नेपाली जनशक्ति बढिरहेको छ । आकर्षक तलब, जागिर सुरक्षा र प्रतिष्ठित भएकाले यसतर्फ नेपालीको आकर्षण बढेको हो ।
एनएचएसले गत सेप्टेम्बर २०१९ मा प्रकाशित गरेको तथ्यांक अनुसार मार्चसम्म इंग्ल्याण्डमा एनएचएस जागिरे नेपालीको संख्या १७६० छ । यसमा ब्रिटिस पासपोर्ट लिइ काम गर्नेको संख्या उल्लेख छैन् । एनएचएसमा काम गर्ने नेपालीमुलका बेलायतीको संख्या झन् बढि छ ।
एनएचएसमा करिब डेढ दशकको अनुभव संगालेका लन्डनस्थित क्वीन एलिजावेथ अस्पतालका वरिष्ठ व्यवस्थापक डा. बच्चुकैलाश कैनी सन् २००९ देखि तह ८ का कर्मचारी हुन् । ’मेरो अनुभवमा नेपालीको संख्या हरेक वर्ष बढ्दैछ । एनएचएसमा प्राविधिकतर्फ नर्स, चिकित्सकको संख्या नै हजारौं छ’- कैनी भन्छन् ।
नेपलिज डक्टर्स एसोसिएसन यूकेका महासचिव एवं कन्सल्टेन्ट डा. कमल अर्यालका भनाइमा जनरल मेडिकल काउन्सिल (जिएमसी) मा दर्ता भएका नेपाली चिकित्सकहरुको संख्या सन् २०१६ सम्म ३३० थियो । त्यसमध्ये ट्रेनिङ ग्रेड ८६, जिपीमा ३१, स्पेशलिष्ट २९ र स्टाफ, ट्रष्ट ग्रेड ८४ जना थिए । अहिले जुनियर ग्रेडमा केही संख्या बढे पनि तथ्यांक उस्तै रहेको डा अर्याल बताउंछन् ।
नेपलिज नर्सिङ एसोसिएसन यूकेका अध्यक्ष बिनोदविकास सिम्खडा बेलायतमा एनएचएसमा काम गर्ने नर्सहरुको संख्या करिब १३ सय रहेको बताउंछन् । एसोसिएसनमा दर्ता भएकाको संख्या त १८० मात्र छ ।
एनएचएसमा एक देखि ९ तहसम्म हुन्छ । प्रशासन र नर्सिङमा सबैभन्दा बढि ८ तहसम्म नेपाली पुगेका छन् । तह ८ ए नर्सिङमा मेट्रोनको पद हो । निर्देशकको पदलाई ‘भीएसएम’ अर्थात भेरी सिनियर म्यानेजर भनिन्छ । नर्सिङमा तह अनुसार वार्षिक १८ हजार देखि एकलाख पाउण्डसम्म तलब हुन्छ । उता फाउण्डेशन ट्रेनिङमा रहेका चिकित्सकको वार्षिक कमाइ करिब २८ हजार पाउण्ड देखि कन्सल्टेन्टको एकलाख ७ हजार पाउण्डसम्म छ । स्पेसियल्टी डक्टरको वार्षिक तलब ४० देखि ७५ हजार पाउण्ड छ ।
इंग्ल्याण्डमा एनएचएसमा १२६०७५३ जनशक्ति काम गर्छन् । त्यसमध्ये २९२९३४ नर्स र हेल्थ भिजिटर, प्रशासनिक र सपोर्ट कर्मचारी १७९६५३, चिकित्सक ११६४१६ तथा मिड वाइफ २१६३६ कार्यरत छन् । अहिले १८ हजार ५८३ विभिन्न पदका लागि दरखास्त आव्हान गरिएको छ ।
एनएचएस विकसित र कमनवेल्थ मुलुकमध्ये विश्वकै उत्कृष्ट स्वास्थ्य सेवा प्रदायक र पांचौं ठूलो रोजगारदाता हो । सन् १९४८ मा लेबर पार्टीले राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) स्थापना गरेको थियो । बेलायतमा स्वास्थ्य सेवा सबैका लागि निशुल्क छ । बेलायतको स्वास्थ्य सेवा, नयां उपचार प्रणाली र बिरामी निको हुने नतिजा संसारमै सबैभन्दा उत्कृष्ट रहेको डा. अर्यालको भनाइ छ ।
ब्रिटेनको जनसंख्या करिब ६ करोड ५० लाख छ । बेलायतको कुल बजेटको करिब १८ प्रतिशत नेशनल हेल्थ सर्भिसका लागि खर्च हुन्छ । यसमा ८० प्रतिशत साधारण कर, बीमा योगदान एवं अन्य शुल्कबाट उठाइन्छ ।
बेलायतको राजनीतिमा एनएचएस सबैभन्दा बढि चर्चा गरिने मुद्दा हो । यसको बजेट नै वार्षिक झन्डै १३३ बिलियन पाउण्ड छ । सन् २०१९-०२० मा डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयरले इंग्ल्याण्डमा १३९.३ बिलियन पाउण्ड खर्च गर्ने योजना बनाएको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले गत अगष्टमा इंग्ल्यान्डस्थित २० अस्पतालका लागि एक अर्ब ८० करोड पाउण्ड तुरुन्त उपलब्ध गराउने घोषणा गरेका थिए । यस अघि निवर्तमान प्रधानमन्त्री टेरेजा मेले सन् २०२३ सम्ममा बीस अर्ब पाउण्ड थप बजेट घोषणा गरेकी थिइन् । इकान्तिपुर
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी