
लन्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी पहिलोपटक क्रोयडनस्थित नेपाली समुदायमाझ पुगेका छन् । आफ्नो कार्यकालमा सम्भव भएसम्म हरेक कुना पुगेर नेपाली समुदायसंग साक्षात्कार गर्ने उद्देश्य राखेका
राजदूत डा. सुवेदी बिहीबार त्यहां सहभागी भएका हुन् ।
क्रोयडन नेपलिज कम्युनिटी यूकेको नयां कार्यसमितिको शपथ तथा भावी योजना अवगत गराउन आयोजित कार्यक्रममा राजदूतले दूतावासलाई आफ्नो घर ठान्न आग्रह गरे । ‘म अहिले राजदूतभन्दा पनि साथी, छोरा, दाजुभाईका रुपमा माया र सद्भाव लिएर आएको छु’- कार्यक्रमका प्रमुख अतिथी डा. सुवेदीले भने, ‘दूतावास सबै नेपालीको साझा घर हो । निरन्तर सम्पर्कमा रहिरहनुस् ।’
रोजगारी वा अन्य वाध्यताले प्रवासमा जहां रहेपनि नेपालीपन र नेपालीमन नभुल्न उनले आग्रह गरे । ‘हामी जुन कुनामा पुगेपनि नेपाली हौं । नेपाली भएरै बांच्ने हो, नेपाली भएरै हांस्ने हो’-डा. सुवेदीको भनाइ थियो ।
उनले आफ्नो धर्म, कला संस्कृति, रहनसहन, भेषभूषा, मौलिक संस्कार, परम्परा कदापी नभुल्न जोड दिए । ‘यही जन्मे, हुर्केका आफ्ना सन्तानलाई पनि नेपाली भाषा बोल्न सिकाउनुस्, तपाईंहरु कम्तीमा वर्षमा एकपटक भएपनि नेपाली पोशाक लगाउने गर्नुस्’- उनले भने ।
राजदूतले क्रोयडन नेपलिज कम्युनिटी यूकेका नयां अध्यक्ष डा. सुरजमणि पौडेललाई बधाइ तथा शुभकामना दिंदै नेपाली समुदायमा एकता, भातृत्व, समझदारी र सहिष्णुता कायम राख्न आग्रह गरेका थिए । ‘हामी बेलायतबाट एक लाख पर्यटक नेपाल पठाउने अभियानमा जुटिरहेका छौं । हाम्रो यो लक्ष्य र ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन कम्तीमा एकजना ब्रिटिश साथी नेपाल पठाएर हामीलाई सहयोग गर्नुहोस्’- उनको अनुरोध थियो ।
राजदूतले संस्थाको भावी कार्यक्रममा ‘हामी जहां भएपनि नेपाल र नेपालीलाई भुल्ने छैनौं’, ‘दूतावास सबै नेपालीको साझा घर हो, निरन्तर सम्पर्कमा बस्छौं’ जस्ता बुंदा थप्न पनि सुझाए ।
कार्यक्रमका विशेष अतिथी क्रोयडन मेयर काउन्सिलर हुमायुन कबिरले नेपाली समुदायलाई सहयोग गर्न आफू सधैं तयार रहेको जनाउंदै नेपालीलाई पनि बेलायती राजनीतिमा आउन आग्रह गरे । ‘म ४० वर्षअघि यूके आएर सानो बिजनेश गर्दै १० वर्ष काउन्सिलर र अहिले मेयर भएको छु । नेपाली समुदाय पनि राजनीतिमा आओस् भन्ने मेरो चाहना छ’- उनले भने ।
संस्थाका सचिव केशव ढकालले सञ्चालन गरेको पहिलो औपचारिक कार्यक्रममा सदस्य सुनिता श्रेष्ठले संस्थाका गतिविधि र भावी योजनाबारे ‘प्रिजेन्टेसन’ दिएकी थिइन् । सन् २०११ मा एक नेपालीको हत्या भएपछि सामूहिक एकता र सहयोगको आवश्यकता महशुस गरि संस्था गठन गरिएको थियो । ध्रुवहरि बास्कोटा संस्थापक अध्यक्ष हुन् । अहिले संस्थाले नेपाली कला संस्कृति जगेर्ना, नेपाल प्रवर्धन र भातृत्व एवं एकतालाई पनि जोड दिइरहेको छ । श्रेष्ठले संस्थालाई च्यारिटीमा दर्ता गर्ने तयारी भइरहेको पनि बताइन् ।
कार्यक्रममा क्रोयडन नेपलिज कम्युनिटी यूकेका नयां अध्यक्ष डा. सुरजमणि पौडेल नेतृत्वको नयां कार्यसमितिलाई संस्थापक अध्यक्ष ध्रुवहरि बास्कोटाले शपथ खुवाएका थिए भने पदाधिकारी तथा सदस्यहरुलाई राजदूत डा. सुवेदी र मेयर हुमायुन कबिरले खादा र प्रमाणपत्र प्रदान गरे । सो अवसरमा संस्थापक अध्यक्ष बास्कोटा र पूर्व अध्यक्ष नवीनकुमार कार्कीले नयां कार्यसमितिलाई शुभकामना दिए ।
अध्यक्ष डा. सुरजमणि पौडेलले पुरानो कार्यसमितिप्रति आभार व्यक्त गर्दै आफ्नो पहलमा दश वर्षमा पहिलोपटक नेपाली राजदूत र स्थानीय मेयरलाई एउटै ‘प्लेटफर्म’ मा ल्याउन सफल भएकामा गर्व लागेको बताए । अध्यक्ष पौडेलले मेयर कबिर नेपाली समुदायप्रति एकदम सकारात्मक रहेको र कार्यक्रम गर्न टाउन हल समेत उपलब्ध गराएकामा आभार व्यक्त गरे ।
पौडेलले स्थानीय निकाय र नेपाली समुदायसंग निकटमा रहेर काम गर्ने जनाउंदै समाज, देश, युवा र वृद्धवृद्धाको सहयोगमा निरन्तर लाग्ने प्रण गरे । सदस्यता विस्तार, वेवसाइट निर्माण, सामुदायिक हितमा परामर्श लगायत योजना पनि उनले सुनाए ।
कार्यक्रमको दोश्रो चरणमा सांस्कृतिक प्रस्तुति भएको थियो । संस्थाकी सह-कोषाध्यक्ष रजना केसीले सञ्चालन गरेको उक्त सत्रमा शैली डंगोल, लिडिया खपांगी र बन्दना दर्नालले नृत्य देखाएका थिए भने औपचारिक सत्रमा आर्या पौडेलले स्वागत नृत्य प्रस्तुत गरिन् । अन्त्यमा डिजे हेम बिष्टले नचाए ।
दूतावासका द्वितिय सचिव लव सुवेदीसहित नेपाली तथा विदेशीहरु सहभागी उक्त कार्यक्रममा स्वयंसेवक, प्रायोजक र कलाकारहरुलाई प्रशंसापत्र दिइएको थियो ।
तस्बिरहरु- शिव भण्डारी
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न