‘हयाब अ मोमेन्ट’ को अवार्ड कार्यक्रम नदिंदै विवादमा

लण्डन    पछिल्लो समय देश विदेशमा अवार्ड कार्यक्रम गर्ने होडबाजी नै चलेको छ । अवार्ड कार्यक्रम आयोजना त गरिन्छ तर, अधिकांश कार्यक्रम विवादमा तानिन्छन् । त्यस्तै बेलायतमा आयोजना हुन लागेको एक अवार्ड कार्यक्रम हुनु अघि नै विवादित बनेको छ ।

अवार्ड वितरण सम्बन्धी सामान्य ज्ञान बिना अवार्ड कार्यक्रम गर्न खोज्दा आयोजक नवीन गुरुङ र कार्यक्रम नै विवादमा तानिएको हो । आफ्नो रहर पूरा गर्ने र आफूले चाहेको व्यक्तिको प्रचार प्रसार गर्ने हेतुले सामाजिक संजाल फेसबुक मार्फत नवीन गुरुङले संचालन गर्दै आएको ‘हयाब अ मोमेन्ट’ ले सार्वजनिक गरेको नोमिनेशन नै हाँस्यास्पद छ ।

आयोजकलाई नोमिनेशन कसरी गरिन्छ भन्ने सामान्य ज्ञान पनि नभएरै होला, कतिपय एउटै विधामा डेढ दर्जन बढी नोमिनेशन राखिएको छ । कुनै पनि विधाको नोमिनेशनमा समान अंक ३ देखि ५ जना राख्ने विश्वव्यापी प्रचलन छ ।

‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ भने झैं मिडिया र फोटोग्राफीमा डेढ दर्जन बढीलाई नोमिनेशनमा राखिएको छ । बेलायतमा व्यवसायिक फोटोग्राफी गर्ने मुस्किलले आधा दर्जन छन् । आयोजकले विभिन्न विधामा नोमिनेशन आव्हान गरे पछि इच्छुक व्यक्तिले नोमिनेशन फर्म भर्ने वा ‘एप्लाई’ गर्नुपर्ने हुन्छ । तर, यहाँ नोमिनेशनमा परेका अधिकांशलाई जानकारी नै छैन् । नोमिनेशन फेसबुकमा सार्वजनिक भएपछि आफूले देखेको नेपाल पत्रकार महासंघ बेलायतका वरिष्ठ उपाध्यक्ष श्याम लुईटेलले बताए । ‘नोमिनेशनमा सहभागी हुन इच्छुक छ-छैन एक चोटी सोध्नु त पर्छ नि’- असन्तुष्टि ब्यक्त गर्दै उनले भने । साथै नोमिनेशनबाट आफ्नो नाम हटाउन आयोजकलाई सम्पर्क गर्दा आयोजक सम्पर्कमा नआएको उनले बताए ।

त्यस्तै, केही व्यवसायिक पत्रकार एवं मिडियाकर्मीका नामहरु बिना अनुमति होलसेलमा नोमिनेशनमा राख्दा पनि मौन छन् । साथै केहीले भने नोमिनेशनबाट नाम हटाएका छन् ।

त्यस्तै म्युजिक अवार्डको विधामा १५ जनाको नाम राखिएको छ जसमा दुई-तीन जना बाहेक अधिकांशको नाम तपाईंहरुले पनि सुन्नु भएको छैन होला । दु:खको कुरा राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाइसकेका अग्रज गायक गायिका शर्मिला बर्देवा, सितु खरेल, सपनकुमार राई, प्रमोदराज न्यौपाने लगायत दर्जनौं बढी अग्रज व्यक्तित्वलाई नजर अन्दाज गरिएको छ । सोही कुराबाट थाहा हुन्छ यस कार्यक्रम गर्न आयोजक कति अपरिपक्व छन् भन्ने ।

उक्त नोमिनेशनले समाज भाँड्ने र कतिपयको व्यक्तित्वमा नै ठेस पुरयाउने कार्य गरेको छ । बीबीसीमा कार्यरत अग्रज पत्रकार र फेसबुक लाइभ गर्नेलाई एउटै विधामा राखिएको छ । भाँडाकुडा खेल्दा त सामान्य नियमको पालना गरिन्छ भने यहाँ हचुवाको भरमा अवार्डको प्रतिस्पर्धा राखिएको छ ।

‘वेष्ट एक्टर’ मा समिर गुरुङको कुनै पनि फिचर फिल्म रिलिज भएको छैन्, तर गुरुङलाई चल्तीका कलाकारसंगै ‘वेष्ट एक्टर’ को नोमिनेशनमा राखिएको छ । समिर गुरुङ स्वयंलाई थाहा छैन आफू यो विधामा नोमिनेट भएको । गुरुङ राम्रो कलाकारसँगै सफल इभेन्ट अर्गनाईजेसन पर्च प्रोडक्सनका निर्देशक समेत हुन् । बिना अनुमति यसरी नाम प्रकाशित गर्दा चित्त नबुझेको गुनासो उनले गरे ।

त्यस्तै ‘वेष्ट एक्टर’ मा टंक धमलालाई पनि राखिएको छ, जसको पहिलो चलचित्र प्रदर्शन भएको एक-दुई साता मात्र भएको छ । डेब्यु एक्टरलाई चल्तीका कलाकारसँग एउटै विधामा प्रतिस्पर्धा गराइँदैन् भन्ने कुरामा आयोजक अनभिज्ञ देखियो । साथै ‘वेष्ट एक्टर फिमेल’ मा पनि त्यस्तै चल्तीका नायिकाहरुसँग प्रसुना कँडेललाई घुसाइएको छ । प्रसुना कँडेलले नायिकाको रुपमा अभिनय गरेको कुनै पनि चलचित्र छैन् । प्रसुना आफैलाई सान्दर्भिक नलागेर उक्त विधाबाट आफ्नो नाम हटाउन लगाउने बताएकी छिन् ।

आयोजकका अनुसार मिडिया, कलाकार, मेकअप, भ्लगर लगायत विभिन्न क्षेत्र गरी १० विधामा अवार्ड दिइने छ । त्यस्तै यस अवार्ड कार्यक्रममा एनआरएनए यूके पनि ‘सपोर्टेड’ आयोजकको रुपमा रहेको विषयलाई लिएर केही नकारात्मक टिका टिप्पणी आएको छ । समाजमा आयोजना हुने कार्यक्रमहरुमा एनआरएनए सहयोगी संस्था बनेर प्रोत्साहन गर्नु प्रशंसनीय कार्य हो तर कार्यक्रमको स्तर र अवधारणा नबुझी आवद्ध भएमा संस्थाको साख गिर्नेमा दुई मत छैन् । यसै पनि बेलायतमा एनआरएनएको लोकप्रियता गिर्दो छ ।

अवार्ड कार्यक्रम गर्नु या कसैलाई पुरस्कार दिएर प्रोत्साहन गर्नु पक्कै पनि राम्रो कार्य हो । तर, व्यक्तिगत स्वार्थको लागि ‘बायस’ भएर समाज भाँड्न खोज्नु निन्दनीय छ । विगतका दिनमा पनि बेलायती नेपाली समुदायमा यस्ता विवादित अवार्ड नभएका भने होइनन् तर कुनैले पनि निरन्तरता दिन सकेनन् । तसर्थ आगामी दिनमा कमी कमजोरी सुधार्दै परिपक्वता र विश्वस्नियता कायम गर्दै निरन्तरता दिन सके कार्यक्रम सार्थक हुने छ ।

अवार्ड कार्यक्रम सर्वसाधारणले सहजै ‘नोटिस’ गर्ने सुन्दर पहिरन जस्तै हो । जानेर पहिरिन सके ‘ग्ल्यामर’ नत्र ‘भल्गर’ । त्यस्तै कार्यक्रम पनि विश्वसनीय बनाउने या विवादित, आयोजकको कार्यक्रम प्रतिको बुझाईमा भर पर्छ ।

केही साताअघि मात्र पनि जापानमा गरिएको एक अवार्ड कार्यक्रममा आयोजकको कमजोरीका कारण चर्चामा रहेका करिब दुई दर्जन बढी कलाकार अपमानित हुनु परयो । उनीहरुले अवार्ड त थापे तर दर्शकविहीन खाली कुर्सीहरुलाई साक्षी राखी । तसर्थ आफ्नो दुनो सोझाउन बेलायतमा पनि मनपरी तरिकाले हुन लागेको अवार्ड कार्यक्रमले कुनै पनि पेशाकर्मी, कलाकार र समस्त नेपालीको प्रतिष्ठामा आँच आउने कार्य नगर्ला भन्न सकिंदैन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री