लण्डन । पछिल्लो समय देश विदेशमा अवार्ड कार्यक्रम गर्ने होडबाजी नै चलेको छ । अवार्ड कार्यक्रम आयोजना त गरिन्छ तर, अधिकांश कार्यक्रम विवादमा तानिन्छन् । त्यस्तै बेलायतमा आयोजना हुन लागेको एक अवार्ड कार्यक्रम हुनु अघि नै विवादित बनेको छ ।
अवार्ड वितरण सम्बन्धी सामान्य ज्ञान बिना अवार्ड कार्यक्रम गर्न खोज्दा आयोजक नवीन गुरुङ र कार्यक्रम नै विवादमा तानिएको हो । आफ्नो रहर पूरा गर्ने र आफूले चाहेको व्यक्तिको प्रचार प्रसार गर्ने हेतुले सामाजिक संजाल फेसबुक मार्फत नवीन गुरुङले संचालन गर्दै आएको ‘हयाब अ मोमेन्ट’ ले सार्वजनिक गरेको नोमिनेशन नै हाँस्यास्पद छ ।
आयोजकलाई नोमिनेशन कसरी गरिन्छ भन्ने सामान्य ज्ञान पनि नभएरै होला, कतिपय एउटै विधामा डेढ दर्जन बढी नोमिनेशन राखिएको छ । कुनै पनि विधाको नोमिनेशनमा समान अंक ३ देखि ५ जना राख्ने विश्वव्यापी प्रचलन छ ।
‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ भने झैं मिडिया र फोटोग्राफीमा डेढ दर्जन बढीलाई नोमिनेशनमा राखिएको छ । बेलायतमा व्यवसायिक फोटोग्राफी गर्ने मुस्किलले आधा दर्जन छन् । आयोजकले विभिन्न विधामा नोमिनेशन आव्हान गरे पछि इच्छुक व्यक्तिले नोमिनेशन फर्म भर्ने वा ‘एप्लाई’ गर्नुपर्ने हुन्छ । तर, यहाँ नोमिनेशनमा परेका अधिकांशलाई जानकारी नै छैन् । नोमिनेशन फेसबुकमा सार्वजनिक भएपछि आफूले देखेको नेपाल पत्रकार महासंघ बेलायतका वरिष्ठ उपाध्यक्ष श्याम लुईटेलले बताए । ‘नोमिनेशनमा सहभागी हुन इच्छुक छ-छैन एक चोटी सोध्नु त पर्छ नि’- असन्तुष्टि ब्यक्त गर्दै उनले भने । साथै नोमिनेशनबाट आफ्नो नाम हटाउन आयोजकलाई सम्पर्क गर्दा आयोजक सम्पर्कमा नआएको उनले बताए ।
त्यस्तै, केही व्यवसायिक पत्रकार एवं मिडियाकर्मीका नामहरु बिना अनुमति होलसेलमा नोमिनेशनमा राख्दा पनि मौन छन् । साथै केहीले भने नोमिनेशनबाट नाम हटाएका छन् ।
त्यस्तै म्युजिक अवार्डको विधामा १५ जनाको नाम राखिएको छ जसमा दुई-तीन जना बाहेक अधिकांशको नाम तपाईंहरुले पनि सुन्नु भएको छैन होला । दु:खको कुरा राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाइसकेका अग्रज गायक गायिका शर्मिला बर्देवा, सितु खरेल, सपनकुमार राई, प्रमोदराज न्यौपाने लगायत दर्जनौं बढी अग्रज व्यक्तित्वलाई नजर अन्दाज गरिएको छ । सोही कुराबाट थाहा हुन्छ यस कार्यक्रम गर्न आयोजक कति अपरिपक्व छन् भन्ने ।
उक्त नोमिनेशनले समाज भाँड्ने र कतिपयको व्यक्तित्वमा नै ठेस पुरयाउने कार्य गरेको छ । बीबीसीमा कार्यरत अग्रज पत्रकार र फेसबुक लाइभ गर्नेलाई एउटै विधामा राखिएको छ । भाँडाकुडा खेल्दा त सामान्य नियमको पालना गरिन्छ भने यहाँ हचुवाको भरमा अवार्डको प्रतिस्पर्धा राखिएको छ ।
‘वेष्ट एक्टर’ मा समिर गुरुङको कुनै पनि फिचर फिल्म रिलिज भएको छैन्, तर गुरुङलाई चल्तीका कलाकारसंगै ‘वेष्ट एक्टर’ को नोमिनेशनमा राखिएको छ । समिर गुरुङ स्वयंलाई थाहा छैन आफू यो विधामा नोमिनेट भएको । गुरुङ राम्रो कलाकारसँगै सफल इभेन्ट अर्गनाईजेसन पर्च प्रोडक्सनका निर्देशक समेत हुन् । बिना अनुमति यसरी नाम प्रकाशित गर्दा चित्त नबुझेको गुनासो उनले गरे ।
त्यस्तै ‘वेष्ट एक्टर’ मा टंक धमलालाई पनि राखिएको छ, जसको पहिलो चलचित्र प्रदर्शन भएको एक-दुई साता मात्र भएको छ । डेब्यु एक्टरलाई चल्तीका कलाकारसँग एउटै विधामा प्रतिस्पर्धा गराइँदैन् भन्ने कुरामा आयोजक अनभिज्ञ देखियो । साथै ‘वेष्ट एक्टर फिमेल’ मा पनि त्यस्तै चल्तीका नायिकाहरुसँग प्रसुना कँडेललाई घुसाइएको छ । प्रसुना कँडेलले नायिकाको रुपमा अभिनय गरेको कुनै पनि चलचित्र छैन् । प्रसुना आफैलाई सान्दर्भिक नलागेर उक्त विधाबाट आफ्नो नाम हटाउन लगाउने बताएकी छिन् ।
आयोजकका अनुसार मिडिया, कलाकार, मेकअप, भ्लगर लगायत विभिन्न क्षेत्र गरी १० विधामा अवार्ड दिइने छ । त्यस्तै यस अवार्ड कार्यक्रममा एनआरएनए यूके पनि ‘सपोर्टेड’ आयोजकको रुपमा रहेको विषयलाई लिएर केही नकारात्मक टिका टिप्पणी आएको छ । समाजमा आयोजना हुने कार्यक्रमहरुमा एनआरएनए सहयोगी संस्था बनेर प्रोत्साहन गर्नु प्रशंसनीय कार्य हो तर कार्यक्रमको स्तर र अवधारणा नबुझी आवद्ध भएमा संस्थाको साख गिर्नेमा दुई मत छैन् । यसै पनि बेलायतमा एनआरएनएको लोकप्रियता गिर्दो छ ।
अवार्ड कार्यक्रम गर्नु या कसैलाई पुरस्कार दिएर प्रोत्साहन गर्नु पक्कै पनि राम्रो कार्य हो । तर, व्यक्तिगत स्वार्थको लागि ‘बायस’ भएर समाज भाँड्न खोज्नु निन्दनीय छ । विगतका दिनमा पनि बेलायती नेपाली समुदायमा यस्ता विवादित अवार्ड नभएका भने होइनन् तर कुनैले पनि निरन्तरता दिन सकेनन् । तसर्थ आगामी दिनमा कमी कमजोरी सुधार्दै परिपक्वता र विश्वस्नियता कायम गर्दै निरन्तरता दिन सके कार्यक्रम सार्थक हुने छ ।
अवार्ड कार्यक्रम सर्वसाधारणले सहजै ‘नोटिस’ गर्ने सुन्दर पहिरन जस्तै हो । जानेर पहिरिन सके ‘ग्ल्यामर’ नत्र ‘भल्गर’ । त्यस्तै कार्यक्रम पनि विश्वसनीय बनाउने या विवादित, आयोजकको कार्यक्रम प्रतिको बुझाईमा भर पर्छ ।
केही साताअघि मात्र पनि जापानमा गरिएको एक अवार्ड कार्यक्रममा आयोजकको कमजोरीका कारण चर्चामा रहेका करिब दुई दर्जन बढी कलाकार अपमानित हुनु परयो । उनीहरुले अवार्ड त थापे तर दर्शकविहीन खाली कुर्सीहरुलाई साक्षी राखी । तसर्थ आफ्नो दुनो सोझाउन बेलायतमा पनि मनपरी तरिकाले हुन लागेको अवार्ड कार्यक्रमले कुनै पनि पेशाकर्मी, कलाकार र समस्त नेपालीको प्रतिष्ठामा आँच आउने कार्य नगर्ला भन्न सकिंदैन् ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण