बेलायतमा कन्जरभेटिभलाई बहुमत

प्रधानमन्त्री बोरिस जोन्सन

लन्डन । बेलायतमा प्रधानमन्त्री बोरिस जोन्सनको पार्टी कन्जरभेटिभले बिहीबार सम्पन्न संसदीय निर्वाचनमा बहुमत ल्याएको छ ।

बीबीसीका अनुसार, हाउस अफ कमन्सका ६ सय ५० स्थानमध्ये जोन्सनको कन्जरभेटिभले ३ सय ६४ स्थानमा विजय प्राप्त गरेको छ । उसको यो सिट अघिल्लो निर्वाचन भन्दा ४७ ले बढि हो । बहुमतका लागि ३२६ सिट आवश्यक थियो । कन्जरभेटिभको यस विजयलाई ‘ऐतिहासिक’ भनिएको छ ।

प्रतिपक्षी लेबर पार्टीले २०३, स्कटिस नेशनल पार्टीले ४८, लिबरल डेमोक्रेटिक पार्टीले ११, डियूपीले ८ र अन्य पार्टीले १५ सिट जितेका छन् । नराम्रो धक्का बेहोरेको लेबरले यसपटक ५९ सिट गुमाएको छ भने स्कटिस नेशनल पार्टीले १३ सिट बढाएको छ ।

विजयपछि मतदाताहरूलाई सम्बोधनका क्रममा प्रधानमन्त्री जोन्सनले सरकारलाई अर्को महिना बेलायतलाई युरोपेली संघ (ईयू) बाट बाहिर निकाल्न ‘शक्तिशाली नयां जनादेश’ प्राप्त भएको भन्दै खुशी व्यक्त गरेका छन् । उनले अब तोकिएकै मिति जनवरी ३१ मा बेलायत इयूबाट बाहिरिने बताए ।

मुख्य विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिन मतगणना स्थलमा

सांसदका रुपमा १० औं पटक पुनः विजयी भएका मुख्य विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले चुनावमा हार स्वीकारिसकेका छन् । उनले यो नतिजा असाध्यै ‘निराशाजनक’ रहेको पनि बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोन्सनलाई विजयी भएकामा बधाई दिंदै बेलायतसंग अमेरिकाले व्यापक स्तरको व्यापार सम्झौता गर्ने बताएका छन् ।

निर्वाचन परिणामसंगै राजनीतिक स्थायित्वको आभाषपछि बेलायती मुद्रा पाउण्ड स्टर्लिंग र सेयर बजार सूचांक पनि अप्रत्यासित बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री