शुक्रबार, जेठ १६ २०७७ | Fri, May 29, 2020
नेपालको समय: १८:३५ | UK Time: 13:50

नेपाल भ्रमण वर्ष: किन एकवर्ष मात्रै मनाउने ?

डा पुरुषोत्तम पौडेल
२०७६ मंसिर २५ गते १४:४९

डा पुरुषोत्तम पौडेल

प्रसंग नेपाल भ्रमण वर्ष । नेपाल लिच्छवीकालमा उद्योग र ब्यापारमा अगाडि रहेको देखिन्छ भने त्यसपछि कृषिमा अगाडि आएको पाइन्छ । आधुनिक नेपाल विशेषगरी एकीकरणपछि निर्वाहमुखी कृषि प्रणालीका साथै उद्योग ब्यापारमा आश्रित रहंदै आएकोमा २००७ सालको जनक्रान्तिपछि नेपाल सरकारले अवलम्वन गरेको भुमिसुधार कार्यक्रमपछि कृषि प्रधान हुनआएको र साथसाथै उद्योग र ब्यापार, पर्यटनलाई मुख्य आर्थिक स्रोतको रुपमा पहिचान र अबलम्वन गरेको देखिन्छ । मुलुक २०४६-४७ सालसम्म कृषिमैं प्रधान रहेपनि खुल्ला विश्वव्यापीकरणको हावाबाट नेपाल अछुतो 
रहन सकेन । जसका कारण औद्योगीकरणको प्रयासहरु सफल हुन सकेन भने साना उद्योगहरु पनि बन्द हुने अवस्थामा पुगे । पर्यटन क्षेत्र राजनैतिक अस्थिरता र जनयुद्धका कारण ओझेलमा परयो । राजनैतिक परिवर्तनपछि पनि नेपालको निर्वाहमुखी कृषिमा आधारित र बेरोजगार जनशक्तिको जीवनशैलीमा परिवर्तन हुन सकेन र जनयुद्धका कारण झन् कठिन हुन पुग्यो । नेपालसंग भएको युवा जनशक्ति बिस्तारै अन्य देशहरुमा बैकल्पिक अवसरको खोजी गर्दै आप्रवासी बन्ने क्रम शुरु भयो र यो क्रम बढ्दै गयो । वर्तमान अवस्थामा आइपुग्दा दैनिक रुपमा १५-१६ सय नेपालको जनशक्ति बाहिरिरहेको छ भने मुलुकको अर्थतन्त्र पनि रेमिटेन्स्मा निर्भर हुन आइपुगेको छ। यो जनशक्ति बाहिरिने क्रम रोकिनेवाला देखिंदैन् जबसम्म नेपाली युवा जनशक्तिलाई नेपालमै रोजगारीका अवसर सृजना गर्नु र कामदारहरुको हक हित र अधिकारलाई उपयुक्त कानुन बनाएर लागू गर्नु र सबै काम र कामदारहरुको सम्मान गर्ने संस्कृतिको विकास गर्न सकिंदैन् । रोजगारी सृजना गर्दा नेपालमा नै उपलब्ध हुने अवसरहरुको पहिचान र विकास गर्दै ब्यवसायिक, सीपमुलक, दक्षतामुखी रोजगारीलाई प्राथमिकता दिनु जरुरी छ । यसमध्ये पर्यटन ब्यवसाय, शुद्ध खानेपानी उत्पादन निर्यात, बिजुली उत्पादन, कृषि र बनस्पतिमा आधारित पेसा, ब्यवसाय, उद्योग, खाद्यान्न तैयारी र सुरक्षा आदि । यसका साथै पर्यटन ब्यवसाय र सेवालाई आकर्षक, ब्यवस्थित र विकसित बनाउन सकेमा ठूलो संख्यामा युवा शक्तिले आफ्नै देशमा रोजगार पाउने हुन्छन् भने मुलुकको आर्थिक परनिर्भरता घट्दै जाने देखिन्छ । हुन त भ्रमण वर्षहरु विगतमा पनि घोषणा नभएका होइनन् तर पनि तात्विक असर भने देखाउन सकेनन् । यस पटक बहुमत प्राप्त सरकारले २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरेर यसतर्फ पुनः प्रयास गरेको छ । तर पर्यटन भ्रमणका आकर्षण आधारहरु भने बलिया देखिंदैनन् ।

नेपाल प्राकृतिक रुपमा सुन्दर, ऐतिहासिक रुपमा धनी, धार्मिक रुपमा पवित्र र सामाजिक रुपमा विविधतामा एकता भएको देश हो । संसारकै अग्ला र ठूला बार्हैमास हिउंले ढाकिएका हिमाल पर्बतमाला यहीं छन् । सधैं टल्कने यी हिमालहरुमा कहिले चांदी त कहिले सुन जस्ता देखिने गरी रंग फेरिइरन्छन् । जसलाई हेरेको हेरै गरौं जस्तो लाग्छ । एक अर्कालाई अगाडि र पछाडि पारि छोए जस्ता हरिया पहाड र सुन्दर आकर्षण भएका टाकुराहरु यही देशमा देखिन्छन् । अझ तिनै हिमाल, पहाड, र टाकुरा र तिनका काखबाट देखिने तरेली परेका खेतीपाती र पहाडी कल्कल बगेका खोला, झरेका छांगा झरनाबाट सिंचित फांटहरु मौसम र समय अनुसार रंग बदलिरहन्छन् । यी रमणीय प्राकृतिक सम्पदा हेर्दा स्वर्ग नै यो हो भन्ने भान पर्छ । यी प्राकृतिक सुन्दरताले कसको मन लोभ्याउंदैन र ? सदाबहार हरियाली छर्ने र हरदम सुसेल्ने अग्ला होचा गरी टम्म मिलेका 
आ आफ्ना फल र फूलले हरदम लटरम्म हुने सुन्दर बनस्पति यहीं छन् । यी बनस्पती मानव सभ्यताका साधन र सयौं रोगहरुको उपचारका 
औषधिहरु हुन् । अनगिन्ती पशुपंछीका बासस्थान कहलिएका ठूला र घना जंगलहरूले त्यहींबाट पृथ्वीलाई पनि रंगाइरहेका छन् । यी हिमाल, पहाड, बन, नदीनाला, झर्ना हेर्न जाने पर्यटकहरुका लागि भरपर्दो सूचना केन्द्रहरु, कर्तब्यनिष्ठ र भरपर्दा गाइडहरु, आकर्षक र सुरक्षित स्थानहरुका पहिचान, सुरक्षित स्थल तथा हवाई यातायातको ब्यवस्थापन एवं भरपर्दो सुरक्षा सहितको गेष्ट हाउस, होटल रेष्टुरेण्टहरु हुन जरुरी छ ।

एकपछि अर्को जंगल र फांटमा स्वतन्त्र विचरण गर्ने जंगली र पालुवा पशुपंछीको बासस्थान रहेको यो नेपाल जैविक विविधताको श्रोत नै हो । यिनीहरुको आवाजले बनजंगल संगीतमय बनिरहेको हुन्छ । झ्याउकिरीको झ्याउंझ्याउं, कोइलीको कुहुकुहु, झारल घोरलका गर्जन अन्त सुन्न कहां पाइन्छ र नेपालबाहेक । नौरंगे डांफे मुनाल, एक सिंगे गैडा, पाटे बाघ, घडीयाल गोही विश्वकै सम्पत्ति नेपालमै छन् । जैविक र बनस्पति विज्ञानका अनुसन्धानकर्ताहरूका लागि त नेपाल अति नै उपयुक्त क्षेत्र छ । तर यसका लागि पनि स्थानिय विज्ञहरु र तालिम प्राप्त गाइडहरुको ब्यवस्था, सुरक्षित अवलोकनका तरिकाहरु अबलम्वन गर्न जरुरी छ ।

यिनै हिमाल, पहाड र हरिया जंगलहरुबाट कहिले कलकल, कहिले सुसेली त कहिले शान्त रुपमा अबिरल विचरण गर्ने दुरीबाट हेर्दा मलमलका सुन्दर कपडा जस्ता, स्पर्श गर्दा सिंगो शरिरभरी शीतलता भर्ने र हत्केलामा लिएर पिएरै त्रृप्त नहुने कन्चन पानीका नागबेली भै अबिरल बगेका अनगिन्ती खोलाहरु छन् । यिनै खोला नाला संगालिएर अबिरल ठूला नदीहरुमा परिणत भएका छन् । यिनै नदीहरुका जलले नेपाल र भारतका वहुसंख्यक जमिनहरु सिंचित छन् । केही नदीहरु हिन्दु धर्म अनुसार पवित्र धार्मिक नदीहरुको रुपमा प्रख्यात र पूजित पनि छन् ।

नेपाल ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण छ । मल्लकाल, बाइसै चौबीसै राजाहरु, राणाकाल, शाहवंशीय पालामा ठाउंठाउंमा बनेका दरबारहरु, किल्ला, सिलालेखहरु, मठमन्दिरहरु, गुम्बा, पाटी सत्तलहरु ठाउं अनुसारका कला, धार्मिक, संस्कृति, राजनीतिक झल्काउने चाखलाग्दा र अध्ययन योग्य छन् । एकिकरणपछि पनि एकीकरणकै प्रकृयामा भए गरेका काम, बनाएका पूर्वाधारहरु र एकीकरणपछि निर्माण भएका दरबार, कोत, पाटी, सत्तल, मठ मन्दिरहरु, गुम्बाहरु आदि तत्कालिन धर्म, शक्ति, कला, संस्कृति झल्कने र पुरातात्विक महत्वका भएकाले इतिहास, कला संस्कृतिप्रति रुची राख्नेलाई अध्ययन गर्ने बुझ्ने अवसर मिल्दछ । लिच्छवी, मल्ल र शाहवंशीय कालमा नेपालमा वास्तुकलाको त स्वर्ण युग नै मानिन्छ । त्यतिखेर बनेका दरवारहरु, सत्तलहरु, मन्दिरहरु र टावरहरु अझै आकर्षक र पुरातात्विक महत्वका छन् । यीमध्ये कतिपय अन्तर्राष्ट्रिय पुरातात्विक संरक्षणमा समेत परेका छन् । राणाकालिन युगमा पनि राणाहरुले बनाएका ठूला दरवारहरु कलात्मक र ऐतिहासिक महत्वका छन् । अहिले पनि ति दरवारहरु सरकारी कामकाजका लागि उपयोग भैरहेका छन् । यिनै इतिहासमा आधारित प्रमाणहरुलाई संरक्षण र सम्बर्धन गरी राखिएका संग्राहलयहरुले नेपालकै ऐतिहासिक झझल्को दिन्छन् । ती संग्रहालयहरु, नयां पुस्ताका युवा युवती, इतिहासका विद्यार्थीहरु र इतिहासमा रुची राख्नेहरुका लागी अत्यन्तै महत्वपूर्ण हुन्छ । पुराना मठ मन्दिरहरु र गुम्वाहरु कलाको दृष्टिकोणवाट महत्वपूर्ण हुनुका साथै तत् तत् धर्मालम्वीहरुका लागी त तीर्थस्थलकै रुपमा लिने गरेको पाइन्छ ।

नेपालका हिमश्रृंखला पौराणिक हिन्दु धार्मिक ग्रन्थहरुमा ब्याख्या भएअनुसार देवादी देव भगवान शिवको बासस्थान कैलास पर्वत मानिन्छ । देवत्वकालमा देवी देवताहरु भगवान शिवको ध्यान र दर्शन गर्न स्वर्गदेखि आउने गर्थे भन्ने उल्लेख भएको पाइन्छ । त्यस्तै धार्मिक शास्त्रहरुमा उल्लेखित धार्मिक स्थलहरु स्वर्गद्वारी, मानसरोवर, मुक्तिनाथ, पशुपतिनाथ, गुहेश्वरी, पाथीभरा, दन्तकालीलगायत धेरै तीर्थस्थलहरु नेपालमा नै अवस्थित छन् । कागबेनी, कालिगण्डकी, देवघाट, त्रिबेणी धामहरु जुन पवित्र नदीका कारण प्रख्यात छन् यही देशमा पर्दछन् । कालिगण्डकी नदी भगवान विष्णु रुपी शालिग्रामका लागि प्रख्यात छ भने कागबेनी, देवघाट, त्रिबेणी प्रख्यात नदीहरुका समागम हुन् जहां देवता, ऋषीमुनीहरु र अप्सराहरु स्नान गर्न आउने गर्थे भनेको धर्म ग्रन्थहरुमा पाइन्छ । ब्यास गुफा, जहां महिर्षी बेदब्यासले बेद लेखेका थिए, जानकी धाम जहां भगवान श्रीरामले धनुष उचालेर सीतालाई विवाह गरेका थिए, सीता गुफा जहां सीता भासिएर पातालमा गएर बसेको ठाउं लगायत प्राचीन हिन्दु धार्मिक महत्वका स्थलहरु यही देवस्थल नेपालमा पर्दछन् । गौतम बुद्ध जन्मेको र आफ्नो वचपन गुजारेको ठाउं लुम्विनी यही देशमा अवस्थित छ ।

नेपाल एक बहुधार्मिक, बहुजातिय, बहुभाषिक मानिसहरुको बसोबास रहेको देश हो । यहां सबै धर्म मान्ने मानिस बस्छन् तर हालैको तथ्यांक अनुसार पनि करिब ८० प्रतिशत हिन्दु र बांकी अन्य धर्म मान्ने मानिसहरु बस्दछन् । तथापि ९५ प्रतिशत ओमकार समुदायका र बांकी अरु समुदायका मानिसहरु रहेको देश भनिन्छ । नेपाल हिन्दु धर्म र बौद्ध धर्मको उद्गम स्थल हो त्यसैले यहां भएका धार्मिक महत्वका ऐतिहासिक, पुरातात्विक विशेषता भएका स्थलहरु, मन्दिरहरु, गुम्वा, देवालय, देवस्थलहरुको संरक्षण र सम्बर्धन गरेर लाखौं धार्मिक पर्यटकहरु भित्रयाउन सकिन्छ । त्यसका लागि पनि समयसापेक्ष भेदभावरहित मापदण्ड 
तयार गरेर अन्य धर्मालम्वीहरु समेत आकर्षित हुने गरी भ्रमण ब्यवस्था मिलाउन जरुरी छ ।

नेपाल १२५ जातजाति र १२३ भाषा बोलिने यो देश सबैको साझा फुलबारी रहेको छ । परापूर्व कालदेखि यी सबै जात, भाषा फरक भएका भएपनि मिलेर बस्न सक्ने र आपसमा सद्भाव र सुमधुर सम्बन्ध भएका नेपाली समुदाय र तिनका आ आफ्नै चालचलन, भेषभूषा र रमाइला संस्कृतिहरुले यो देश रंगीन र रमणीय छ । जातिय जिम्मेवारी र पेशाहरुले गर्दा पनि नेपालमा सबै जातजातीहरुबीच एक प्रकारको अन्योन्याश्रित सम्बन्ध स्थापित थियो । तर यसमा सामाजिक छुवाछुत र जातिय भेदभावका कारण धमिलो हुन पुग्यो । विगतदेखि वर्तमानसम्म सामाजिक सहकार्य, सह-अस्तित्व र सहिष्णुतामा अडेको नेपाली समाज अझै पनि सहयोगी, मेहनती र सद्भावपूर्ण र शान्तिकामी छ । यी विभिन्न जातजाती र भाषा रहेका यी समुदायका आफ्नै प्रकृतिका रितिरिवाज अत्यन्त रमाइला र आकर्षक छन् ।

यि विविध संस्कृतिमा रम्न स्वदेशी तथा बिदेशी पर्यटकहरुको घुईंचो लाग्न सक्दछ तर यी सबैलाई खुल्ला, स्वागतपूर्ण र भेदभावरहित बनाउन जरुरी छ । दशैं, तिहार, तिज, ल्होछार, उधौली उभौली, बौद्ध पुर्णिमा, बिवाह पंचमी, छठ, फागुपूर्णिमा, रामादान आदि कयौं रमाइला जातीय र क्षेत्रीय सांस्कृतिक चाडपर्व भए पनि यो देशका जनताका खुसी साट्ने माध्यम हुन् । त्यसैगरी जन्म, ब्रतबन्ध, छेवर, बिवाह, मृत्यु संस्कार कर्महरु पनि भिन्न, रोचक र सोधयोग्य छन् । नौमती बाजा, नेवारी परम्परागत बाजाहरु, लाखे नाच, गाई जात्रा, भोटो जात्रा, लामाहरुको जात्रा, पश्चिमको देउडा आदि हाम्रा आफ्नै मौलिकता हुन् । आजकल विविध कारण परम्परागत संस्कृतिहरु क्षयीकरण हुंदै खुम्चिंदै आएका छन्, यसलाई बचाई राख्न अबलम्वन गर्नुपर्ने नीति, कार्यक्रम, हौसला प्रदान गर्न ध्यान जान जरुरी छ ।

केही वर्ष यता आन्तरिक पर्यटन पनि फस्टाउंदै गएको देखिन्छ । होटल, रिसोर्ट, रेष्टुरांहरु खोल्ने होड पनि देखिन्छ । तर आन्तरिक र वाह्य पर्यटकहरुलाई आकर्षित गर्न ती होटल 
रिर्सोट र रेष्टुरांहरुको सेवा सुविधा, सुरक्षा ब्यवस्था, आकस्मिक सेवाहरुको पहुंच र सम्पर्क, सुरक्षा निकायको नियमित अनुगमन र सम्पर्क, खाद्य शुद्धता अन्तर्राष्ट्रिय स्तरको हुन जरुरी छ । यिनमा नियमन निकायहरुको सकृयता पनि साथसाथै भएमा हुन सक्ने जोखिम र घट्नाहरुलाई कम गर्न र सम्बन्धित पक्षहरुलाई जवाफदेही बनाउन पनि सकिन्छ ।

सरकारले माथि भनिए झैं प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, अध्ययन र शहरीकरण गरि  विभिन्न पर्यटन क्षेत्रहरु पहिचान गरि पर्यटन स्थलहरुको पहिचान, बिकास र अध्यावधिक गरी कुन सिजनमा कुन कुन स्थान, क्षेत्रको यात्रा गर्न उपयुक्त र सुरक्षित हुन्छ भनेर यात्रापूर्व संप्रेषण गर्नु पर्दछ । यात्रा तय भएपछि सेवा प्रवाहमा कुनै कारणबस स्थगन गर्नुपर्ने भएमा त्यसको क्षतिपूर्ती गर्ने ब्यवस्था गर्न जरुरी छ । सडक विकास र नियमित स्तरोन्नति हुनु पर्दछ । आवश्यक सेवा नपुगेका वा पर्यटकहरुलाई जोखिम हुनसक्ने स्थल, क्षेत्र, मेला वा जात्राहरुमा स्वास्थ्य र सुरक्षालाई मनन् गरी पर्यटकलाई आवागमन अनुमतिमा रोक पनि लगाउन जरुरी हुन्छ । 
सम्भावित पर्यटकीय स्थल र क्षेत्रहरु पहिचान गरी क्रमशः विकास गर्दै आन्तरिक र बाह्य पर्यटकहरुका लागि खुलाउंदै जानु जरुरी छ । यसरी पर्यटन ब्यवसायमा संलग्न सुरक्षाकर्मी, ब्यवसायी र गाइडहरुको ब्यवस्था, आवश्यक तालिम र तालिम अद्यावधिकको ब्यवस्था गर्नुपर्दछ । यी विषयमा वर्तमान ब्यवस्थामा सम्बन्धित निकायले ध्यान पुरयाउन र जिम्मेवार बन्न जरुरी छ ।

अब घोषित भ्रमण वर्ष आउन अब केही दिन मात्र बांकी छ । सरकार र यसका निकायहरु नेपालको सौन्दर्य र पहिचान झल्किने पोष्टरहरु लिएर प्रचार प्रसारमा भने उत्रेको देखिन्छ । पर्यटन वर्ष घोषणाले मात्र पुग्दैन । पर्यटक अहिले यो वर्ष किन नेपाल जाने भन्ने तर्क वा आधारहरु बलियोसंग बाहिर पर्यटकले बुझ्ने गरी आउन जरुरी छ र त्यही अनुसारको बातावरण बलियोसंग बनाउन जरुरी छ, तर त्यो देखिंदैन । भ्रमण वर्षको सन्मुखमा नै भएको प्रधानमन्त्रीको बेलायत भ्रमणको बेला बीबीसीले लिएको अन्तरवार्तामा उहांले पर्यटकहरुको सगरमाथामा घुईंचो, पर्यटकहरुको मृत्यु, पर्यटक सम्पर्क अधिकारीहरुको ब्यवस्थापनमा उपयुक्त र जिम्मेवार उत्तर दिन सक्नु भएन ।

त्यस्तै, बाहिर बस्ने प्रत्येक नेपालीले एक पर्यटक पठाउन समेत आब्हान भएको पनि सुनियो । यो त राम्रै कुरा हो तर के यो त्यसै हुन्छ कुनै आधार र आकर्षण निर्माण गर्न जरुरी छैन् ? यही वर्ष मात्र किन ? भन्यौं भने पर्यटनको आधार वर्ष पनि 
भनौंला । तर यो वर्ष के के सुविधा छ त भ्रमण गर्नभन्दा हामीले भन्ने भनेको शान्ति सुरक्षा पहिलेको तुलनामा राम्रो छ, होटल, रेष्टुरां थपिएका छन्, अनि के भयो त ? त्यतिले पुग्छ त ?  विगतदेखि नै अस्तब्यस्त रहंदै आएको क्षेत्रमा नीति र कार्यनीतिमा स्पष्ट हुन सकेको देखिंदैन । पर्यटन क्षेत्रले आफ्नो गति लिन अझै सकेको छैन् । दुषित र दुर्गन्धित, अब्यवस्थित शहर, लथालिंग भएका पूर्वाधार, जिम्मेवारी र दायित्वको स्पष्टताका कमीका कारण अझ ठूलै र धेरै कामहरु गर्नुपर्ने र नियमन गर्नुपर्ने देखिन्छ । धुंवाधुलो र फोहर मैला ब्यवस्थापन, अतिथि सेवा र सुविधा ब्यवस्थापन, यातायात सेवा, स्वास्थ्य र सुरक्षा ब्यवस्थापन, स्वस्थ्य र भरपर्दो सूचना प्रणालीमा सुधार गर्नुपर्ने पनि देखिन्छ ।

पर्यटकलाई आकर्षण गर्न भइरहेको सेवामा सुधार, शुल्कमा छुट र सुविधामा बृद्धि जरुरी छ । पर्यटकीय सेवामा के कस्ता सुधार भए र सुविधामा विस्तार भए भन्ने प्रचार एकातिर हुन पर्दछ भने अर्कोतिर यस वर्ष भ्रमण गर्दा के कस्ता शुल्क र सुविधामा छुट मिल्छ भन्ने समेत बाहिर आउनु पर्दछ । पर्यटकीय अध्यागमन शुल्कमा छुट, हिमाल आरोहण शुल्कमा छुट, हवाई लगायत यातायात टिकटमा छुट, होटलमा छुट आदि । नेपालमा आन्तरिक हवाई सेवा, यातायात, होटल सेवामा आन्तरिक पर्यटक (नागरिक) लाई र वाह्य पर्यटक (विदेशी) लाई फरक दररेट लगाउने गरेको पाइन्छ । यस्तो ब्यवस्था अन्य मुलुकमा देखिंदैन । यस्तो विभेदकारी नीतिले पर्यटनको विकास गर्न सकिंदैन ।

अर्को कुरा, यदि नेपालले विदेशी पर्यटकहरुलाई सिधा नेपालसंग जोड्ने हो भने सिधा हवाई सम्पर्क स्थापित हुन जरुरी छ र यात्रा समय पनि कटौती हुन जरुरी छ । नेपाल हेर्ने पर्यटकहरु भनेका अहिलेसम्म बिकसित देश र विशेष गरेर मध्ययुरोप, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानाडा, जापानका हुने गर्दछन् तर ती देशहरुसंग नेपालको सिधा हवाई सेवा छैन् । जसका कारण १२ देखि २० घण्टाको यात्रा गर्नुपर्दछ । अनुसन्धानमा आउने पर्यटकहरुलाई त त्यति फरक नपर्ला तर काम गर्ने र छुट्टी मनाउन आउने पर्यटकहरुको लागि त ट्रान्जिट र लामो यात्रा र झन्झटिलो हुन्छ । भन्न त एक मन्त्रीले युरोपबाट छिट्टै सिधा हवाई सेवा शुरु हुने बताएका छन् तर प्रतिवन्धित हवाइसेवा शुरु गर्न समय लाग्न सक्छ । रमाइलो गर्ने पैसा खर्च गरेर नयां अनुभव लिने भनेकै काम गर्ने समूहका पर्यटक हुन् । त्यसैले सरकारले प्राथमिकताका साथ सिधा हवाई सेवा शुरू गराउन जरुरी छ भने आन्तरिक हवाई सेवालाई पनि यात्रु र सेवा प्रवाहमा संलग्न कर्मचारीहरु सुरक्षालाई दृष्टिगत गरि स्तरोन्नती गर्न आवश्यक छ ।

अन्तमा, नेपालसंग भएका यी अनन्त अवसरहरुलाई आर्थिक विकासको रुपमा अगाडि बढाउन ती क्षेत्रहरुको पहिचान, नीति, कार्यनीतिमा सुधार, कार्यान्वयनमा परिणाममुखी अनुगमन र विभेदकारी ब्यवस्थाको अन्त्य गर्न जरुरी छ । मुलुकको आर्थिक पक्षलाई मनन् गर्दै कुनै राजनैतिक कृयाकलापले पर्यटनलाई असर गर्ने कार्यहरु गर्न छोड्नु पर्दछ । भ्रमण वर्षलाई एक वर्षमा मात्र सिमित राख्नुको सट्टा यसलाई आर्थिक मेरुदण्ड नै मानेर विकास र सम्बर्धन गर्न सकेमा नेपालले एक वर्ष मात्र हैन पर्यटनलाई मुलुककै मुख्य आर्थिक श्रोत बनाएर निरन्तर वर्षौ वर्ष जान जरुरी छ । पर्यटक जो सुकै भएपनि पर्यटक नै हुन् । सबैलाई समान सेवा, सुविधा र शुल्क हुन जरुरी छ । केटाकेटी, अपांग र बृद्धहरुकालागि छुट्टै ब्यवस्था भने आवश्यकता ख्याल गरी कानुन बनाएर संरक्षण वा सेवा प्रस्ताव गरी गर्न सकिन्छ । यसबाट नेपालले वर्षेनी र सबै सिजनमा लाखौं प्राकृतिक, ऐतिहासिक, धार्मिक र संस्कृतिक, अनुसन्धान सम्बन्धि पर्यटकहरु भित्रयाउन, मुलुकमै रोजगरी सृजना गर्न र देशको दिगो आर्थिक विकास हासिल गर्न सक्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक