बेलायतमा २० हजार प्रहरी थपिने

लन्डन । बेलायत सरकारले २० हजार प्रहरी अधिकृत थप्ने भएको छ । इंग्ल्याण्ड र वेल्समा आउंदो तीन वर्षभित्र २० हजार प्रहरी अधिकृत बढाइने बेलायतको गृह मन्त्रालयले बुधबार जनाएको हो । बजेट अभावमा 
९ वर्ष यता कटौती गरिए जति नै प्रहरी संख्या वृद्धि गर्ने घोषणा भएको छ ।

पहिलो वर्ष इंग्ल्याण्ड र वेल्समा ६ हजार प्रहरी अधिकृत भर्ना गर्ने लक्ष्य छ । इंग्ल्याण्ड र वेल्सका सबै ४३ प्रहरी बलले सरकारको लक्ष्य पूर्तिका लागि भर्ना प्रक्रिया अगाडि बढाउनेछन् । सोका लागि सरकारले ७५० मिलियन पाउण्ड कोष छुट्याएको गृह मन्त्रालयले जनाएको छ । उक्त कोष भर्नासहित तालिम र आवश्यक सामाग्री उपलब्ध गराउन खर्च गरिनेछ ।

गृहमन्त्री प्रिती पटेलले नेशनल पुलिसिङ बोर्ड पदाधिकारीसंगको बैठकपछि उक्त घोषणा गरेकी हुन् । प्रधानमन्त्री बोरिस जोन्सनले गत जुलाइमा उक्त बोर्ड गठन गरेका थिए । प्रधानमन्त्री जोन्सनले सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्व चयन प्रतिष्पर्धामा प्रहरी बलमा थप लगानीको वाचा गरेका थिए ।

पहिलो वर्ष मेट्रोपोलिटन पुलिस फोर्सले १३६९, वेष्ट मिडल्याण्डसले ३६६ र ग्रेटर म्यानचेस्टरले ३४७ प्रहरीहरु भर्ना गर्नेछन् । त्यसैगरि, वेष्ट योर्कसायरले २५६, मर्सीसाइड २००, नर्थउम्ब्रीया १८५ र थेम्स भ्याली प्रहरी बलले १८३ प्रहरी भर्नाको लक्ष्य राखेका छन् ।

एभन एण्ड सोमरसेटमा १३७, बेडफोर्डसायर ५४, क्याम्ब्रीजसायर ६२, चेसायर ९०, क्लिभल्याण्ड ७२, कुम्ब्रीया ५१, डर्बीसायर ८५, डेभन एण्ड कर्नवाल १४१, डोरसेट ५०, डरहाम ६८, डाइफेड पोज ४२, इसेक्स १३५, ग्लोस्टरसायर ४६, ग्वेन्ट ६२, हयाम्पसायर १५६, हर्टफोर्डसायर ९१, हम्बरसाइड ९७, केन्ट १४७, ल्यानकसायर १५३, लेस्टरसायर ८९ र लिंकनसायरमा ५० अधिकृत थपिने छन् ।

यस अभियानतर्फ मानिसहरुलाई आकर्षित गर्न ‘बी अ फोर्स फर अल’ वेवसाइट समेत बनाइएको छ ।

‘सर्वसाधारण आफू बस्ने शहरका सडकमा थप प्रहरी अधिकृत हेर्न चाहन्छन् र उनीहरुको त्यो प्राथमिकता पुरा गर्न सरकार लागेको छ’, गृहमन्त्री प्रिती पटेलले भनेकी छन्, ‘समुदायलाई सुरक्षित राख्न इंग्ल्याण्ड र वेल्सका प्रत्येक बलले थप प्रहरी अधिकृत भर्ती गर्न सक्नेछन् ।’

पुलिस फेडेरेसन अफ इंग्ल्याण्ड एण्ड वेल्स्का राष्ट्रिय अध्यक्ष जोन एप्टरले सरकारी निर्णयको स्वागत गर्दै यो महत्वपूर्ण कदम भएको बताए । यस घोषणाले लामो समयदेखि प्रहरी बलको रिक्तता पुरा गर्ने उनले जनाए ।

उता, गृह मन्त्रालयले आफ्नो र सुमदायको सुरक्षाका लागि प्रहरी अधिकृतहरुलाई टेजर (इलेक्ट्रिक गन) उपलब्ध गराउन थप १० मिलियन पाउण्ड कोष पनि घोषणा गरेको छ । पुलिस फेडेरेसनले यसको स्वागत गरेपनि मानवअधिकारकर्मीले भने आलोचना गरेका छन् ।

प्रहरी अधिकृत कटौती हुंदा बेलायतमा अपराधको स्तर निकै भयावह रहेको समाचार केही महिना अघिमात्र सार्वजनिक भएको थियो । लन्डन मेट्रोपोलिटन प्रहरीकी प्रमुख क्रेसिडा डिकले नै ब्रिटेनमा अपराधको स्तर निकै भयावह रहेको भन्दै चिन्ता व्यक्त गरेकी थिइन् ।

बेलायत सरकारले सार्वजनिक गरेको तथ्यांकले इंगल्याण्ड र वेल्समा गम्भीर अपराधहरुको छानवीन 
गर्ने प्रहरीको संख्या सन् २०१० देखि ०१८ को बीचमा २८ प्रतिशतले घटेको देखाउंदै गर्दा लन्डन प्रहरी प्रमुखको त्यस्तो भनाइ आएको थियो । गम्भीर अपराधमा बेलायतका नेपाली भने संलग्न भएको नपाइएको लन्डनस्थित नेपाली दूतावासको भनाइ छ । कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित सामाग्री