एनआरएनए यूके निर्वाचन : चार हात सुनारको साथ

लन्डन । गैरआवासीय नेपाली संघ बेलायतको निर्वाचन हुन एक दिन वाँकी रहंदा उम्मेदवारहरु दिनरात रणनीति बनाउन व्यस्त छन् ।
बिहान घरबाट निस्किएका उम्मेदवारहरुको न सुत्ने ठेगाना छ, न खाने निश्चित ठाउँ नै । बेलायतवासी नेपाली भएको ठाउँमा पुग्ने र आफ्नो पक्षमा भोट माग्ने कार्यमा अध्यक्षका प्रत्यासी शेर सुनार र अर्की प्रत्यासी पुनम गुरुङ समूह सकृय छन् । दुवैबीच निकै कडा प्रतिस्पर्धा हुने ठानिएको एनआरएनए यूके निर्वाचन अन्तिम दिनसम्म आइपुग्दा चार हात एक ठाउँमा आएपछि सुनार बलिया मानिएका छन् ।

अध्यक्षका प्रत्यासीहरु सुशीला राई र ललित न्यौपानेले अध्यक्षको दावी छाडी आइसीसी सदस्यमा उम्मेदवारी दिए भने प्रेम गाहामगर अर्को पटक नेतृत्व लिने गरि उपाध्यक्षमै दोहोरयाए । राई, न्यौपाने र गाहामगरले अध्यक्षका प्रत्यासी सुनारलाई साथ दिएपछि चार हात एक साथ हुन पुग्यो । जसले निर्वाचन परिणामलाई सजिलै आफ्नो पक्षमा पार्ने विश्लेषण एनआरएनए अभियन्ताहरुको छ ।

राई, गाहामगर, न्यौपाने र सुनारले एनआरएनए यूके सदस्य बनाएका मतदाता एक ठाउँ उभिएपछि चार हात एक साथले सार्थकता पाउने विश्लेषण एक अभियन्ता गर्छन् ।

निर्वाचन कार्यक्रमकै क्रममा बुधवार साउथ इस्ट पुगेका अध्यक्षका प्रत्यासी शेर सुनारले मतदाताको आर्शिवाद र मायाले हर्षविभोर भएको बताए । ’जहाँ पुग्यो शेर सुनारलाई जिताउनु पर्छ भन्ने आवाज सुनें, मैले उपाध्यक्षमा बसेर गरेको कामको सयमा सय नै अंक पाएछु भनेर गर्व लागेको छ’, उनले खचाखच भरिएको सभा हलमा सुनाए ।

चुनावी दौडाहमा आफ्नो समावेशी टिम लिएर मिडल्याण्डको बर्मिङघम, लेस्टर, ननिङटन, पिटरवोरो र विल्भरह्याम्टन पुगेपछि अध्यक्षका प्रत्यासी सुनार जित्नेमा ढुक्क भए ।

’मिडल्याण्डमा उपाध्यक्षका उम्मेदवार गाहामगरको साथ र आफ्नो पक्षमा देखिएको जनलहरले बिजयको झण्डा फहराई रहेको अनुभूति मैले गरें’, उनले उच्च आत्मविश्वासका साथ वीनेपालीसँग भने ।

वर्तमान अध्यक्ष योगकुमार फगामी नै अर्को अध्यक्ष प्रत्यासी गुरुङसँग टिममा बस्दा अप्ठ्यारो पर्छ कि भन्ने मनको संकोचलाई मतदातासँगको प्रत्यक्ष भेटघाटले हटाई दिएको उनको भनाई थियो ।

‘बेलायतवासी नेपालीले सुनारको कामको मूल्यांकन गर्दै शेर तिमी अघि बढ भने पछि मलाई एउटा कुरा याद आयो, कर्म गर फल आफैं मिल्छ’, उनले भने । ‘जनताले साथ दिएपछि कस्ता कस्ता तानाशाहको शासन सकिएको छ । एक अध्यक्षले कुनै प्यानलमा बस्दैमा के हुन्छ र ?’ उनको प्रति प्रश्न थियो ।

यसवीचमा उनी समक्ष एक एकबर्ष अध्यक्ष बांड्ने लगायतका अफर नआएका होइनन् । ‘पदलोलुपता भन्दा पनि गोर्खा सिपाही कर्तव्य परायण भएजस्तै अध्यक्ष पदमा निर्वाचनमा जाने र जनमतको सम्मान गर्ने बाटो मैले रोजें । प्रजातन्त्रमा जनमत नै अन्तिम सत्य हो’, उनले भने ।

सुनारको समूहमा लामो समयदेखि एनआरएनमा सकृय महिला, कलाकार, गायकदेखि सबै क्षेत्र, जाती, वर्ग र सामाजिक रुपमा अब्बल व्यक्तिहरु सम्मिलित समावेशी उम्मेदवारहरु छन् । एनआरएनए यूके इतिहासमा पहिलो दलित समुदायबाट नेतृत्वमा पुग्ने अवसर भएकाले पनि चार हात एक साथ उभिएका बताइएको छ ।

केही उम्मेदवारले तीजको कार्यक्रममा मिडल्याण्डमा सुनार समूहलाई रोक्न खोजेपछि दोस्रो र तेस्रो पटक पुग्नु परेपनि उम्मेदवारहरुले अभियानलाई संयमित बनाउन छाडेनन् ।

अध्यक्षका प्रत्यासी गुरुङकै अघि बेजिङस्टोकमा सुनारले भनेका थिए, ‘म पूर्व गोर्खा हुं, सामाजिक अभियन्ता हुं, जनमतलाई सधैं सम्मान गर्छु, हारे पनि पुनम बहिनीसँग काम गर्छु , जित्दा पनि पुनम बहिनीलाई संगै लिएर जान्छु ।’

परिपक्व उम्मेदवारले गर्ने व्यवहार र शालिनतामा सुनार सधैं अब्बल रहे । आफैं पूर्व गोर्खा भएकाले गोर्खा समस्या निस्कर्षमा पुरयाउन, नागरिकता निरन्तरताको मागलाई निरन्तर लविङ गर्न, नेपाल सरकारसंगको सहकार्य गर्न, पैत्रिक सम्पत्तिको सुरक्षा, युवालाई एनआरएनमा जोड्न तथा महिला सशक्तिकरण कार्यलाई ठोस ढंगले अघि बढाउने उनको योजना छ ।

करिब २० महिना ‘फ्रि’ मा एनआरएनए यूके कार्यालय राख्ने कक्ष उपलव्ध गराएका सुनार आफ्नो जितसँगै कार्यालय स्थायी रुपमा संचालन गर्ने बताउँछन् । प्रत्येक वर्ष सदस्यता लिनु पर्दा बुझाउनु पर्ने कागजातबाट उन्मुक्ति र समावेशी एनआरएन बनाउने महाअभियानमा साथ दिन यूकेवासी पंजिकृत सदस्यलाई उनले आव्हान पनि गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री