धन सार्की ७ बुंदे घोषणापत्रसहित एनआरएनए यूके चुनावी मैदानमा

लन्डन । लन्डनस्थित एकजना सामाजिक अभियन्ता धनबहादुर सार्कीले एनआरएनए यूके आसन्न निर्वाचनमा उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । आइतबार अल्डरसटस्थित टेम्पटेसन क्लबमा एक औपचारिक कार्यक्रम गरि उनले आफ्ननो उम्मेदवारी रहने घोषणा गरेका हुन् ।

‘मेरो बाबा पनि सामाजिक सेवा गर्नु हुन्थ्यो, उहांकै प्रेरणाबाट म यसतिर लागेको हुं’ भावुक बन्दै सार्कीले भने, ‘म काममा विश्वास गर्छु, म चरित्रवान छु, एउटा सानो दर्जाको सिपाहीलाई अमुल्य मत दिएर जिताइदिनु होला ।’ एनआरएन संस्था सबै गैर आवासीय नेपालीको साझा चौतारी बन्न नसकेको बताउंदै उनले यो ‘धनीहरुको क्लव’ हो भन्ने कलंकबाट मुक्त पार्न साधारण गरिव किसानको छोरो यसमा पूर्ण विश्वासका साथ लागेको जनाए ।

आफ्नो ७ बुंदे प्रतिवद्धता सार्वजनिक गर्दै सार्कीले गैर आवासीय नेपाली संघ यूकेको सदस्यता बढाउने, एनआरएनलाई अझ सशक्त र समावेशी बनाउने, वृद्धवृद्धा र कमजोर हैसियत भएका व्यक्तिहरुको सहयोगी बन्ने, भूपू गोर्खाहरुको समस्या समाधान गर्ने, नेपाली नागरिकताको निरन्तरता, संघलाई गरिमामय सुन्दर र साझा चौतारी बनाउने लगायत उद्घोष गरे। गैर आवासीय नेपालीलाई दोहोरो नागरिकता दिंदा देशलाई फाइदै पुग्ने बताउंदै उनले विदेशमा रहेका गोर्खाहरुको नेपालस्थित सम्पत्तिको सुरक्षा र उनीहरुलाई स्पेशल ‘ट्रिटमेन्ट’ गरिनुपर्नेमा जोड दिएका छन् ।

सिर्जनशील नेपाली समाज यूकेका पूर्व अध्यक्ष सार्कीले गत मार्चमा पहिलो पटक यूकेमा संयुक्त राष्ट्रसंघले मनाउंदै आएको अन्तर्राष्ट्रिय जातीय रंगभेद विरुद्ध कार्यक्रम गरेर चर्चा बटुलेका थिए । उनी अन्य विभिन्न सामाजिक संघसंस्थामा आवद्ध छन् ।

गोरखा पुर्खउली घर भएका सार्की १७ वर्षको उमेरमा ब्रिटिश आर्मीमा भर्ती भएका थिए । १५ वर्ष सेवा गरेर ब्रिटिश आर्मीबाटअवकास लिएपछि उनी उच्च शिक्षा हासिल गर्न सन् २००१ मा यूके आएका थिए । उनले आइल अफ म्यान कलेजबाट ‘होटल एण्ड विजनेश म्यानेजमेन्ट’ बाट ब्याचलर्स डिग्री गरेपछि सन् २००४ मा यूकेको वर्क परमिट लिइ काम र समाजसेवा संगै थालेका थिए ।

खुशी लिम्बुले सन्चालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथी शान्ति थापा कुंवर, तमुधिं यूके अध्यक्ष नन्दजंग गुरुंग, काउन्सिलर प्रवेश केसी, काउन्सिलर ज्ञेन अस्टिन, नेपाल पत्रकार महासंघ बेलायतका सचिव शिव भण्डारी, छवि पुन, नर्मती पुन, मेजर समुन्द्र गुरुंग लगायतले शुभकामना दिएका थिए ।

तस्विर- शिव भण्डारी

धन बहादुर सार्कीको चुनावी घोषणापत्र २०१९ जस्ताको तस्तै-

गैर आवासीय नेपाली संघ, युके निर्वाचन – २०१९

प्रत्यासी एनआरएनए, यूके उपाध्यक्ष

म, धन बहादुर सार्कीको अपिल

आदरणीय समस्त बेलायतबासी नेपाली बाबा–आमा, दाजुभाइ र दिदीबहिनीहरूमा हार्दिक अनुरोध,

हाम्रो एनआरएन, राम्रो एनआरएन

एनआरएनए (गैरआवासीय नेपाली संघ) युकेको नवौं कार्यसमितिको निर्वाचन यही १४ सेप्टेम्बरमा सम्पन्न हुन गइरहेको छ । यस निर्वाचनमा मैले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको कुरा यहांहरु समक्ष सविनय अनुरोध गर्न चाहन्छु ।

उपाध्यक्षमा म नै किन ?

म, धनबहादुर सार्की एक साधारण, गरीव किसानको छोरो हुं । गोरखा मेरो 
पुर्खौली घर हो, चितवन मेरो जन्मथलो हो, हाल लण्डन बस्छु । आर्थिक अवस्थाको कमजोरीको कारणले गर्दा पार्वतीपुर अन्नपूर्ण माबिमा दश कक्षा पढ्दै गर्दा १७ वर्षको उमेरमा ब्रिटिस गोर्खामा भर्ती भएको थिएं । १ फेब्रुअरी २००१ मा १५ वर्षको सेवापछि ब्रिटिस गोर्खाबाट रिटायर्ड भएपछि मेरो पढाईको सिलसिलामा उच्च शिक्षा हासिल गर्न सेप्टेम्बर २००१ मा युकेमा पढ्न आएं र आइल अफ म्यान कलेजबाट होटल एण्ड बिजनेश म्यानेजमेन्टबाट ब्याचलर्स डिग्री गरेपछि सन् २००४ मा यूकेमा ‘वर्क परमिट’ प्राप्त गरेको थिएं । हाल म एस्पायर डिफेन्समा कार्यरत छु । यसका साथै अवकास पछि, २००१ देखि गोर्खाजहरुको अधिकार र हकहितको लागि ब्रिटिश गोर्खा वेलफेयर सोसाइटीसंग सहभागी भइ गोर्खा आन्दोलन पनि गरेको थिएं । त्येसैले आज हामी सबै गोर्खाजहरु र हाम्रो परिवारहरु यस बेलायातमा बसोबास गर्न पाएका छौं । मेरो यूकेको बसाईमा मैले विभिन्न सामाजिक संघ संस्थामा विभिन्न पदमा बसेर काम गरेको छु । मेरो निस्वार्थ सामाजिक कामको उच्च मुल्यांकन गरी धेरै संघ संस्थाबाट सम्मान पनि पाएको छु ।

हाम्रो एनआरएन यूकेले मुलुकमा विपद पर्दा पीडित नेपालीहरूका लागि सहयोगी हात बढाएको छ । नेपालीहरूलाई विपद पर्दा ठूला–ठूला सहयोग पनि गरेको छ । नेपाल सरकारसंग हातमा हात मिलाएर देश बिकास गर्न चाहन्छ, । ता पनि, यो सबै गैरआवसायी नेपालीको साझा चौतारी बन्न अझै सकेको छैन । ‘धनीहरूको क्लब’ भनेर भन्नेहरूले भन्छन् । यो एनआरएनलाई त्यस्तो कलंकबाट मुक्त गर्न पनि यसमा म जस्ता साधारण गरिब किसानका छोरा छोरीहरूले यसमा सक्रिय भाग लिनुपर्छ र दिनुपर्छ भन्ने पूर्ण बिश्वासका साथ म यसमा लागेको हुं ।

भूपू गोर्खा र दोहोरो नागरिकताको निरन्तरता सवालमा मैले उल्लेख्य योगदान दिन सक्छु भन्ने पूर्ण विश्वास छ । किनभने यी दुबै क्षेत्रको सबभन्दा तल्लो श्रेणीमा बसेर काम गरेको छु । र, त्यसको वास्तविक अनुभव संगालेको छु ।

लाखौं नेपालीहरू बसेर पनि केही हजारले मात्र किन सदस्यता लिन्छन् ? किन चुनावी प्रयोजनका लागि उम्मेद्वारहरूको जोडबलमा मात्र सदस्यता लिन्छन् ? म जस्ता लाखौं किन भित्र पस्न चाहंदैनन् ? मलाई यो विषयले निकै गहिरो रूपमा छोयो । म एक साधारण गरिबको छोरो भूतपूर्व सामान्य सिपाही यो सर्कलभित्र पस्न चाहेको छु ।

गत वर्ष मार्च १६ मा मैले युकेमा पहिलो पटक संयुक्त राष्ट्रसंघले मनाउदै आएको ‘अन्तराष्ट्रिय जातीय रंगभेद’ विरूद्ध कार्यक्रम आयोजना गरें । त्यसमा मलाई तपाईंहरूको ठूलो सक्रिय सहयोग र साथ रह्यो । यसबाट मैले बुझें, हाम्रो नेपाली समाज सही र सत्यको पक्षमा रहेछ । यसबाट मलाई ठूलो उर्जा मिलेको छ । त्यसले गर्दा अब म एनआरएनमा आवद्ध भई यसको गरिमा बढाउने कार्य गर्न चाहन्छु र आफ्नो बुद्धी र बर्कतले भ्याएसम्म तपाईंहरूको सेवा गर्नेछु ।

मैले दुःख बुझेको छु । सानैदेखि दुःख, मर्म र पीडा मैले भोगेको छु । तर मेरो भाग्यमा थियो, म भर्ती भएं । युकेमा केही कमाउन सकेको छु ।  तर त्यो दुःख मैले भुलेको छैन् । त्यतिबेलादेखि नै म सामाजिक सेवा गर्न थालेको हुं । मेरो बाबा पनि सामाजिक सेवा गर्नु हुन्थ्यो । उहांकै प्रेरणाबाट मैले पनि सामाजिक कार्यमा लाग्नु पर्छ भन्ने सानै उमेरदेखि नै सोचेको थिएं । म काममा विश्वास गर्छु । म चरित्रवान छु । म एउटा सानो दर्जाको सिपाही पनि हो । तल्लो वर्गको समाजबाट आएको साधारण व्यक्ति हुं । मसंग बाहेक अरु कोहीसंग पनि यो चरित्र छैन् भन्छु म ।

मसंग धेरै धन र ज्ञान छैन् । तर समुदायले मेरो नैतिकता, इमान्दारिता, मेहेनत, मिलनसार व्यवहार देखेको छ, बुझेको छ । एनआरएनको विरोध मात्रै गरेर वा असंलग्न रहेर कुनै उपलब्धि हुंदैन । यस संगठनलाई अझ सशक्त र समावेशी बनाउने जिम्मा हाम्रै हो । आफ्नो अमूल्य मत दिई मलाई एक मौका दिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछु ।

म उपाध्यक्ष पदमा सफल भएपछि पनि मैले तपाईहरुसंग जसरी भोट माग्न अहिले आएको छु, त्यसरी नै तपाईंहरु सबैसंग निरन्तर सम्पर्कमा आउनेछु भन्ने वाचा गर्दछु । म तपाईंहरु, आम गैरआवासीय नेपालीको लागि काम गर्न आएको छु । गैरआवासीय नेपाली संघ युकेको यही २०१९, सेप्टेम्बर १४ तारिक हुन गइरहेको अधिवेशनमा म उपाध्यक्ष पदमा उमेदवारको लागि घोषणा माथि नै जानकारी गरेको छु । मेरो घोषणापत्रमा मेरो आफ्नै प्रतिवद्धताहरु छन् । तर म तपाईंहरुको लागि काम गर्न आएको हुंदा तपाईंहरुको राय, सल्लाह, सुझाव दिनुहोस् म त्यसलाई मेरो प्रतिवद्धतामा थप्नेछु र अवश्य अगाडि बढाउने छु ।

मेरा प्रतिवद्धताहरु-

मेरो उपाध्यक्ष निम्न कुराको लागि हुनेछः

१. मेरो कर्तव्यः

आउने निर्वाचनमा जुन अध्यक्षले जिते पनि नेतृत्वले दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्नु मेरो पहिलो कर्तव्य हो । यसको पूरा याद राख्दै आफूले पनि नेतृत्वलाई समसामयिक र फलदायी सुझाव तमाम यूकेवासी नेपालीको हितलाई ध्यानमा राखेर दिनेछु ।

२. गैरआवासीय नेपाली संघ युकेको सदस्यता बढाउनेः

दुई लाख जनसंख्या भएको यूकेमा १० हजार सदस्यता पुरयाउन, चुनावी मैदानमा रहेका पच्चीस तीस जना प्रत्यासी पदाधिकारीले दिन रात कोसिस गर्दा पनि पुग्ने नपुग्ने ठेगाना छैन् । यसबाट स्पष्ट के देखिन्छ भने यूकेमा एनआरएन नेपाली जनताको घरभित्र, मनभित्र पस्न सकिरहेको छैन् । यस्तो किन भयो ? हामीले गम्भीर भएर खोजी गर्नु पर्छ । एनआरएनको बाटो हाम्रो सुःख दुःखको बाटो भन्दा अलग भएर यस्तो भयो कि ? यसमा सोच्न पर्ने कुरा छैन् र ?  बाहिरबाट मैले धेरै विचार गरें । सल्लाहकार भएर पनि बैठकमा उपस्थित भएं । यी सबै कुराबाट मैले ठोस् निष्कर्षमा पुगें । अब म जस्ता साधारण ब्यक्ति 
ग्राउण्डमा भएका मानिसहरू यसमा नलागी यो समस्या हल हुंदैन । यसैले मेरो उम्मेदवारीलाई तपाईंहरू तमाम बुद्धिजीविहरूले एउटा 
सकारात्मक सन्देशको रूपमा लिनुहोला । निश्चयनै मेरो विजयले भोलि एनआरएनमा लागौं कि नलागौ भनेर हिचकिचाई रहेका संपूर्ण मध्यम बर्गिय साथीहरूलाई ठूलो हौसला मिल्नेछ । र, अर्को दुई वर्षपछि लेखेर राख्नुहोस, हजारौंको सहभागिता बढ्नेछ । एनआरएन यूकेका साथीहरूले यो सुनौलो मौका गुमाउने छैनन् भन्नेमा मेरो पूर्ण विश्वास छ ।

३. गैरआवासीय नेपाली संघ युकेको कर्तव्यः

समाज सेवाका कुराहरू गर्दा प्रायः साथीहरूले नेपाल नै सम्झनु हुन्छ । यसमा पनि म सुधार गर्न चाहन्छु । यूकेमा वसोवास गर्नेहरूको कुनै समस्या नै छैनन् त ? ७०, ८० वर्षका हाम्रा अग्रजहरू भाषा र संस्कारको चपेटामा परेका 
त छैनन् ? कतिपय अवस्थामा विभिन्न कारणले हामीहरू शोषणको शिकार भएका पो छौ कि ? यूकेको कुनै कुनामा हाम्रा नेपालीहरूले असहाय र एक्लो महसुस गरिरहेको छ कि ? एनआरएन सबै भन्दा ठूलो संगठन भएको नाताले हाम्रो जीवनको सबै पक्षको हेरविचार गर्ने दायित्व होइन र ? यसरी म एनआरएनलाई यूकेतिर पनि ओरिन्टेट गरेर हाम्रा बाबा–आमा र कमजोर साथीहरूको सहयोगी बनाउन चाहन्छु ।

४, गोर्खाहरुको समस्याको समाधानः

अरू देशको तुलनामा हाम्रो अवस्था अलि भिन्न छ । खाडीमा कामका लागि मात्र जाने आप्रवासी नेपाली छन् । अमेरिकामा त्यसको अलावा ग्रीनकार्ड होल्डर पनि छन् । हामीमा त त्यो भन्दा बढी अझ गोर्खाहरू छौं । यसरी भिन्न प्रकृति भएको देशमा एनआरएनको कामहरू पनि त्यही अनुसार हुनु 
पर्ने होइन र ? हो, मुल सिद्धान्तमा त हामीले परिमार्जन गर्न सक्दैनौं तर आफ्नो आवस्यकता अनुसार केही कुरा थपेर जानु पर्दैन र ? यसरी थप्नै पर्ने कुरामा म गोर्खाहरूको समस्यालाई लिन्छु । हाम्रो अर्थात गोर्खाहरूकै लागि यूकेले विशेष कानून बनाएर सम्मान गरि रहेको अवस्थामा आफ्नै सरकारले विशेष कानून किन बनाउन मिल्दैन ? यसको उत्तर म खोज्ने छु ।

५. नेपाली नागरिकताको निरन्तरताः

दोहोरो नागरिकताको बारेमा हामी सबैको एक मत छ, त्यसमा मैले केही थप्नु पर्दैन तापनि म यत्ति मात्र भन्छु, नेपाल सरकारले यूकेवासी नेपालीको लागि गम्भीर भएर सोच्नै पर्छ । किन भने हामीलाई दोहोरो नागरिकता दिंदा देशलाई फाइदै फाइदा छ । त्यसमा पनि गोर्खाहरूको कुनै हालतमा पनि खोसिनु हुंदैन । यो विषयमा साथीहरूसंग हातमा हात काँधमा काँध मिलाएर अगाडी बढ्नेछु । मेरो मान्यता गैर आवासिय नेपालीहरुको दोहोरो नागरिकता हुनैपर्छ, पाउनैपर्छ भन्ने हो । त्यसको लागि म जे गर्न पनि तयार छु । विदेशमा बस्नु भएको गोर्खाजहरुको नेपालमा भएको सम्पतिको सुरक्षा हुनै पर्छ । गोर्खाजको लागि स्पेशल ट्रिटमेन्ट हुनैपर्छ । गोर्खाजले आफ्नो ज्यानलाई खुकुरीको धारमा 
राखेर, गोली, बारूद र मिसाइललाई छातीमा राखेर, रगत र पसिना बगाएर कमाएको सम्पतिको नेपाल सरकारले सुरक्षा दिनै पर्छ ।

६. गैरआवासिय नेपाली संघ सुन्दर चौतारी:

म काम नगरी बस्नै सक्दिन । त्यसैले आज म एनआरएनए युकेमा काम गर्ने ठाउं खोजिरहेको छु । मैले १६ वर्षसम्म निरन्तर रुपले विभिन्न समाजहरुमा र समाजहरुको विभिन्न तहमा काम गरेको अनुभवलाई संगालेर राखेको आज गैरआबासीय नेपाली संघ युकेलाई गरिमामय सुन्दर चौतारी बनाउने छु भन्ने मेरो बिश्वास छ ।

७. गैरआवासीय नेपाली संघ कसरी साझा चौतारी बन्न सक्छः

तपाईं मार्फत सम्पूर्ण यूकेवासी नेपाली दाजुभाई दिदी बहिनीलाई मेरो सानो अनुरोध के छ भने हामीले इन्दे्रणीको सात रंग मध्ये कुनै पनि एक रंगलाई निकाल्यौ भने सुन्दर “ईन्द्रेणी“ बन्न सक्दैन । त्यो यहांहरु सबैलाई थाहा छ, । यहि मर्मलाई ध्यानमा राखेर मैले आफ्नो उम्मेदवारी दिएको हुं ।

तपाईंको अमुल्य मत दिएर मलाई गैर आबासीय नेपाली संघ युकेको मेरो उपाध्यक्षको उम्मेदवारीलाई विजय गराई दिनु हुन फेरी पनि म सबैमा विनम्र अनुरोध गर्दछु ।

तपाईंको अमुल्य मत दिएर मलाई विजय गराउनुहोस् र त्यो मतलाई मैले सधैं सम्मान गर्नेछु । र, मैले कुनै हालतमा पनि तोड्ने छैन् ।

जय गैर आवासीय नेपली संघ युके

धन्यवाद ।

धन बहादुर सार्की,

हाउन्स्लो, वेष्ट लन्डन, २८ जुलाई २०१९

प्रतिक्रिया

सम्बन्धित सामाग्री