एनआरएनए अध्यक्ष भवन भट्टले आगामी चुनाव नलड्ने

एनआरएनए अध्यक्ष भवन भट्ट

लन्डन । गैआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष भवन भट्टले दोस्रो कार्यकालका लागि उम्मेदवारी नदिने घोषणा गर्नुभएको छ । नेपाली समय अनुसार बिहिबार (मध्यराती १२ बजे) फेसबुकमार्फत लाइभ गर्दै भट्टले आगामी नेतृत्वका लागि उम्मेदवारी नदिने घोषणा गर्नुभएको हो । 
पदमा बसेर मात्रै काम गर्नुपर्छ भन्ने मानसिकताबाट आफू पर रहेको र अन्य नयाँ र सक्षम व्यक्तिलाई अबको नेतृत्वको बागडोर जिम्मा लगाउने सोचका साथ आफूले दोस्रो कार्यकालका लागि दाबी नगर्ने घोषणा गरेको अध्यक्ष भट्टको भनाई छ । अबको बाँकी कार्यकाललाई सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै उहाँले भन्नुभयो, “न म रिटायर नै भएको हुँ, अबको बाँकी कार्यकालमा झन सक्रिय भएर लाग्नेछु, आउँदै गरेको एनआरएनएको अन्तर्राष्ट्रिय सम्मेलन र चुनावलाई सफलतापूर्वक सम्पन्न गर्ने ठूलो जिम्मेवारी पनि मसँग छ । एनआरएनसँग सम्बन्धित सम्पूर्ण मामिलामा मसँगै रहनेछु ।”
आफूले स्वतस्फूर्त र एक संस्कार निर्माणका लागि यो निर्णय लिएको भन्दै भट्टले पावर र लोभी संस्कारलाई चिर्नु जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “के अध्यक्षमात्रै टप लिडरसिप हो त ? यहाँ कैयन भवनहरुले अवसर पाउनुपर्छ । परिवार, लोभ, मोहबाट माथि उठ्न हामीले सिक्नुपर्छ ।”
निकै भावुक मुद्रामा सम्बोधन गर्दै अध्यक्ष भट्टले भन्नुभयो, ”म एनआरएनसँग छु र एनआरएन मसँगै छ, एनआरएनए मेरो मुटुमा छ, मसँगै ढड्किन्छ । एनआरएनए मेरो नेपाल बाहिरको नेपाल हो, यो संस्था मेरो रगत–रगतमा छ ।”
आफ्नो सम्पूर्ण ध्यान एनआरएनएको पथमै रहने भन्दै उहाँले भन्नुभयो, ”यो एनआरएनएको बसमा म चालक सिटबाट पछाडिको सिटमा सरेको मात्रै हुँ, बसबाट ओर्लेको होइन । यो यात्रा सहज छैन र म कमजोरलाई यो नेतृत्व हस्तान्तरण गर्दिन पनि, म खोजिरहनेछु म पछिको साधन स्रोत सम्पन्न व्यक्तित्व ।”
यद्यपी संस्थामा कुनै पनि किसिमको संकट आइपरे ब्याक सिटबाट चालक सिटमा आउने क्षमता समेत आफूसँग भएको भन्दै अध्यक्ष भट्टले संस्थाका लागि जस्तोसुकै योगदान दिन पनि आफू तयार रहेको स्पष्ट पार्नुभयो ।
गैर आवासीय नेपाली संघको ९ औं विश्व सम्मेलन आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा तय भएको छ । आगामी नेतृत्वका लागि वर्तमान उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले उम्मेदवारी दिने बताउंदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री