लन्डन । घरमा आमा बाबु नेपालीमै कुराकानी गर्थे । तर, बेलायतमै जन्मे हुर्केको छोरा अंग्रेजीमात्र बोल्ने । बाबु आमाले नेपालीमा केही सोधे थोरै अंश बुझेर जवाफ फर्काउने तर अंग्रेजीमा । यसको मतलव नेपाली अलि अलि बुझेपनि लेखाइ पटक्कै थिएन ।
सटनस्थित रवीन हुड प्राइमरी स्कुलमा इयर वानमा अध्ययनरत ६ वर्षीय साकार गुरुङ अचेल क, ख देखि ज्ञ सम्म राम्ररी लेख्न र पढ्न सक्छन् । सेप्टेम्बरयता आफ्नो नाम लेख्ने, पढ्ने र अरुको पनि लेख्न सक्ने अवस्थामा पुगेका छन् साकार । ‘अचेल उसलाई नेपाली बोल्न, लेख्न रुची बढेको छ’, साकारका बाबुले एक सांझ भने, ‘बेलायतमै जन्मिएपछि अंग्रेजी त सिकाउनै परेन । त्यसकारण हाम्रो जोड नेपाली सिकाउनतिर छ । नेपाली भाषा नै नरहे हाम्रो पहिचान पनि गुम्ने चिन्ता यहां बढेको छ ।’
रिजरोड सटनमा अवस्थित ‘प्रारम्भ पाठशाला’ साकार जस्ता बेलायतमै जन्मिएर हुर्कंदै गरेका बालबालिकालाई नेपाली भाषा, संस्कृति सिकाउन अग्रसर छ यतिखेर ।
‘अर्ली इयर्स एजुकेशन सोसाइटी यूके’ (आइज यूके) अन्तर्गतको प्रारम्भ पाठशाला शुरुमा दश जनाजति बालबालिका राखेर दुई वर्ष अघि शुरु भएको थियो । अहिले उक्त पाठशालामा ४ देखि १२ वर्षका २८ नेपाली बालबालिका छन् । धेरै विद्यार्थीको चाहना भएपनि जनशक्ति अभावले लिन नसकिएको पाठशालाको गुनासो छ । प्रत्येक आइतबार बिहान ११ देखि साढे १२ बजेसम्म नेपाली विषयको पढाइ हुन्छ । त्यहां सिकाउने विधि अचम्मको छ । बालबालिकाले क, ख, ग, घ घोकेर होइन् । बरु नाचेर, हाउभाउबाट नेपाली भाषाको मात्रा सिक्छन् । ‘बन्सी’ नामक सफ्टवेयरबाट अडियो, भिडियो सिकाइन्छ । विद्यार्थीले नै पाठ्यक्रम तयार गर्छन् ।
‘सुनाइ, बोलाइ, पढाइ र लेखाइ चारवटैमा परीक्षा लिने गरिन्छ’, पाठशालाका प्रमुख शिक्षक एवं आइज यूके अध्यक्ष पूर्णकुमार श्रेष्ठ भन्छन्, ‘ति बालबालिका नेपालीमा लेख्छन्, कविता पढ्न लेख्न सक्छन् । भाषा सिक्न बाहेक राष्ट्रिय गान, देउसी भैलो, दशैं तिहार जस्ता चाडपर्व, सरस्वती पूजा सामूहिक रुपमा मनाउंछौं हामी । नेपालको विकास समस्या, विदेशबाट मातृभूमिलाई कसरी सहयोग गर्न सकिन्छ ? हाम्रो गौरवशाली इतिहास के छ ? स्थानीय समुदायमा कसरी समाहित हुन सक्छौं ? जस्ता कुरा पनि सिकाइन्छ ।’
प्रारम्भ पाठशालामा ६ सहायक शिक्षक समेत छन् । ५ कक्षासम्म पढाएर विद्यार्थीलाई पूर्ण बनाउने सोच रहेको श्रेष्ठ बताउंछन् । अहिले कक्षा एक देखि तीनसम्म पढाइन्छ र आठ देखि १६ हप्ताको कोर्स छ ।
विगत तीन दशकदेखि शिक्षण पेशामा आवद्ध श्रेष्ठ नेपाल छंदा नेपाल इंग्लिस ल्याङवेज टिचर्स एसोसिएसन (नेल्टा) का सचिव थिए । प्राइमरी शिक्षक, हेड टिचर, शिक्षकलाई तालिम दिलाउंदै विगत ११ वर्ष देखि बेलायतमा रहेर पनि उनी शिक्षणमै रमाएका छन् । भोलुन्टरी सर्भिस् ओभरसिस् (भिएसओ) इन्टरनेशनलको सल्लाहकार हैसियतमा बेलायत आएका हुन् उनी ।
आइज यूकेले बालबालिकालाई नेपाली भाषा, संस्कृति र स्वास्थ्यमा पनि जोड दिएको छ । प्रत्येक विकेन्ड विद्यार्थी र अभिभावक गरि करिब २० जना पार्क रनमा सहभागी भइरहेका छन् ।
लन्डन बरो अफ सटन काउन्सिलले पनि नेपाली समुदायलाई विशेष महत्वका साथ हेरेको छ । काउन्सिलले पहिलो पटक आगामी १४ अप्रिलमा नेपाली नयां वर्ष कार्यक्रम मनाउने तयारी गरेको छ । उक्त अवसरमा नेपाली समुदायका ९० जनालाई निमन्त्रणा दिइएको स्थानीय समाजका अभियन्ता सूर्य गुरुङले जनाए ।
कन्जरभेटिभका तर्फबाट काउन्सिलर परम नन्धाले गत २८ जनवरीमा काउन्सिल बैठकसमक्ष प्रमुख धर्महरुका मुख्य चाडपर्व मनाइनु पर्ने प्रस्ताव राखेपछि काउन्सिलले यसलाई पारित गरेको थियो ।
‘चाडपर्वले नै समुदायलाई एकै ठाउंमा ल्याउने गर्छ’, काउन्सिल लिडर काउन्सिलर रुथ डोम्बेले भनिन्, ‘हाम्रो काउन्सिल वृहत समुदायमा त्यस्ता इभेन्ट प्रवर्धन गर्न जहिले पनि खुल्ला छ ।’
मेयर, ३० भन्दा बढि काउन्सिलर लगायतको सहभागिता रहने उक्त कार्यक्रममा प्रारम्भ पाठशाला अध्ययनरत नेपाली बालबालिकाले मौलिक नाच प्रस्तुत गर्नेछन् । कान्तिपुर
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा