लण्डन । अन्तर्राष्ट्रिय कफी संगठनको १२४औं सम्मेलन केन्याको राजधानी नैरोवीमा शुक्रबार सम्पन्न भएकाे छ।
केन्याटा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एक विशेष समारोहबीच गणतन्त्र केन्याका राष्ट्रपति उहुरु केन्याटाले समुद्घाटन गर्नुभएको उक्त पाँच दिवसीय सम्मेलनमा ब्राजिल, केन्या, मेक्सिको, जापान, फ्रान्स, नेपाल, पपुवान्यूगिनी, भारत, भियतनाम र स्वीट्जरल्याण्ड लगायत ५१ वटा मुलुकहरुका प्रतिनिधि र चीन, जमैका र लाओस लगायत मुलुकहरुका पर्यवेक्षकहरुको सहभागिता रहेको थियो।
सम्मेलनको समुद्घाटन गर्नुहुँदै केन्याका राष्ट्रपति उहुरु केन्याटाले केन्याको अर्थतन्त्रको एक महत्वपूर्ण आधारशिलाका रुपमा रहेको कफी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नैरोवीमा आयोजना गर्ने अवसरलाई गणतन्त्र केन्याको सरकारले हर्ष र गौरवका रुपमा लिएको बताउनु भयो। कृषि, पूर्वाधार निर्माण, यातायात र व्यापारको विकासमा केन्या सरकारको ध्यान केन्द्रित रहेको छ भन्ने उल्लेख गर्नुहुँदै राष्ट्रपति केन्याटाले सन् 18८९ देखि आरभ्म भएको केन्याको कफी खेतीलाई उद्योग र व्यापारको एक महत्वपूर्ण अङ्गका रुपमा विकास गर्न आफ्नो सरकार प्रतिवद्ध रहेको बताउनु भयो।
समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै केन्याका कृषि तथा सिंचाइमन्त्री म्वाङ्गी किउन्जुरीले केन्याको अर्थतन्त्रमा कफीको महत्वपूर्ण योगदान रहेको र ग्रामीण कृषकहरुको उत्थानमा कफी खेती उत्कृष्ट पेशाको रुपमा रहेको उल्लेख गर्नुभयो। विभिन्न मुलुकहरुका प्रतिनिधिहरुलाई स्वागत गर्नुहुँदै नैरोवीका गभर्नर माइक म्बुभीले नैरोवीमा आयोजना भएको अन्तर्राष्ट्रिय कफी सम्मेलनले केन्यामा मात्र नभई समग्र अफ्रिका महादेशको कफी खेती, उद्योग र कफी बजारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।
समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै अन्तर्राष्ट्रिय कफी संगठनका कार्यकारी निर्देशक डा. जोसे सेट्टेले केन्या अन्तर्राष्ट्रिय कफी संगठनको संस्थापक राष्ट्र रहेको र केन्याले अन्तर्राष्ट्रिय कफी परिषदको सन् 1985-86 र सन् 1993-94 गरी दुई पटक अध्यक्षता गरिसकेको बताउनु भयो। गत सेप्टेम्वर 2018 मा लण्डनमा सम्पन्न १२३औं सम्मेलनमा कफीको निरन्तर घट्दो मूल्यप्रति प्रतिनिधिहरुको गम्भीर चासो र चिन्ता रहेको उल्लेख गर्नुहुँदै कार्यकारी निर्देशक डा. सेट्टेले वर्तमान सम्मेलनले कफी उत्पादक र आयातकर्ता मुलुकहरुसहित सम्वद्ध सरोकारवालाहरुको सौहार्द्ध सम्वादद्धारा कफी उद्योग र व्यापारको दिगो विकासका लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
अन्तर्राष्ट्रिय कफी सम्मेलनको पूर्ण वैठकलाई सम्बोधन गर्नुहुँदै नेपाली प्रतिनिधिमण्डलका नेता तथा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत एवं अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालका स्थायी प्रतिनिधि डा. दुर्गा बहादुर सुवेदीले कफी खेतीको इतिहास मात्र नभई अन्तर्राष्ट्रिय कफी संगठनमा नेपालको संलग्नता अपेक्षाकृत नयाँ रहेको बताउनुहुँदै सन् 2017 को मार्चमा पूर्ण सदस्यता प्राप्त गरेको नेपालले दुई वर्षमा अन्तर्राष्ट्रिय कफी संगठनको नेतृत्व तहमा पुग्नु महत्पूर्ण उपलब्धी भएको उल्लेख गर्नुभयो।
नेपाल सरकारले कफी खेती र उद्योगको विकासका लागि राष्ट्रिय कफी नीति कार्यान्वयन गरिरहेको उल्लेख गर्नुहुँदै राजदूत तथा स्थायी प्रतिनिधि डा. सुवेदीले नेपालको कफी उत्पादन सानो आकारमा भए पनि नेपालमा उत्पादित अर्ग्यानिक अरेविका कफी विश्वमै हिमालय कफीका रुपमा प्रसिद्ध रहेको बताउनु भयो। नेपाल सरकार साना कफी किसानहरुलाई सहयोग गर्न प्रतिवद्ध रहेको उल्लेख गर्नुहुँदै नेपाली प्रतिनिधिमण्डलका नेता डा. सुवेदीले नेपाल कफी खेतीको विकास र बजार प्रवर्द्धनका चुनौतीहरुसँग जुध्न अन्तर्राष्ट्रिय कफी संगठन र कफी उत्पादक र आयातकर्ता मुलुकहरुसँग सहकार्य गरेर अघि बढ्न प्रयत्नशील रहेको बताउनु भयो।
सम्मेलनको तेस्रो सत्रको अध्यक्षता गर्नुहुँदै डा. सुवेदीले नेपालले अन्तर्राष्ट्रिय कफी संगठनको पूर्ण सदस्यता प्राप्त गरेको दुई वर्षमै आफूलाई संगठनको प्रवर्द्धन तथा बजार विकास समितिको अध्यक्षमा निर्वाचित गरेकोमा सम्पूर्ण सदस्य राष्ट्रहरुलाई नेपाल सरकारका तर्फवाट हार्दिक आभार व्यक्त गर्नुभयो। नेपाल लगायत कफी उत्पादक र निर्यातकर्ता मुलुकहरुमा अवसर र चुनौती दुवै रहेको विचार व्यक्त गर्नुहुँदै नेपाली प्रतिनिधिमण्डलका नेता डा. सुवेदीले कफीको बजारमूल्यको निरन्तर अवरोहप्रति कफीसम्वद्ध सम्पूर्ण सरोकारवालाहरुको सकारात्मक सहयोग अपेक्षित रहेको र यो सम्मेलन कफी उत्पादन र कफी बजारको प्रवर्द्धनमा महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गर्नुभयो।
सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलका नेता महामहिम डा. सुवेदीले गणतन्त्र केन्याका राष्ट्रपति उहुरु केन्याटासँग शिष्टाचार भेट गर्नुभयो। शिष्टाचार भेटका अवसरमा महामहिम डा. सुवेदीले नेपालका राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू र प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीका तर्फवाट केन्याका राष्ट्रपतिको व्यक्तिगत सुख र सुस्वास्थ्य एवं केन्याका मैत्रीपूर्ण जनताको शान्ति, प्रगति र समृद्धिका लागि शुभकामना सन्देश व्यक्त गर्नुभयो।
सो अवसरमा डा. सुवेदीले आफू र आफ्नो प्रतिनिधिमण्डललाई प्राप्त न्यानो आतिथ्यता र सौहार्दताका लागि केन्या सरकारप्रति हार्दिक आभार प्रकट गर्नुभयो। केन्याका राष्ट्रपति केन्याटाले नेपाल प्राकृतिक रुपले सुन्दर राष्ट्र रहेको बताउनुहुँदै हिमाली क्षेत्रमा उत्पादित कफीप्रति आफ्नो चाख रहेको उल्लेख गर्नुभयो। अन्तर्राष्ट्रिय कफी संगठनको १२४औं सम्मेलन नैरोवीमा आयोजना गर्ने केन्या सरकारको प्रस्तावमा पहिलो समर्थन गरेकोमा राष्ट्रपति केन्याटाले राजदूत डा. सुवेदीलाई हार्दिक धन्यवाद समेत व्यक्त गर्नुभयो।
नेपाली प्रतिनिधिमण्डलले अन्तर्राष्ट्रिय कफी परिषदका नवनिर्वाचित अध्यक्ष श्रीमती स्टेफानी क्यूङ्ग तथा अन्तर्राष्ट्रिय कफी संगठनका कार्यकारी निर्देशक डा. जोसे सेट्टेसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेको थियो। सो भेटका अवसरमा काठमाण्डौंमा आगामी अप्रिल 15 र १६, 2019 मा आयोजना हुने कफी लगानीसम्बन्धी सम्मेलनको निमन्त्रणा समेत प्रदान गरेको थियो। नेपाली प्रतिनिधिमण्डलले सम्मेलनको तेस्रो दिन सम्पन्न कफी उत्पादक र आयातकर्ता एसिएन राष्ट्रहरुको समूहको बैठकमा समेत सहभागी भएको थियो।
संयुक्त अधिराज्यका लागि नेपाली राजदूत तथा अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालका स्थायी प्रतिनिधि डा. दुर्गा बहादुर सुवेदीको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतम, उक्त वोर्डका निर्देशक दीपक खनाल, प्रशासकीय अधिकृत देउकुमार सिगु, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका शाखा अधिकृत मोहदत्त अधिकारी र नेपाली राजदूतावासका तृतीय सचिव भूपेन्द्रप्रसाद घिमिरे रहनु भएको थियो।
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’