शान्तिपूर्णरुपमा एसइई परीक्षा, सांसददेखि कलाकारसम्म सहभागी

एसइई परीक्षा दिँदै भक्तपुरको मोर्डन स्कूलका विद्यार्थी । तस्वीर- चन्द्रकला क्षेत्री, काठमाडौं, रासस

भक्तपुर, १० चैत – देशभर आज एकैसाथ शुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा देशभर शान्तिपूर्णरुपमा सञ्चालन भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म पहिलो दिन आज अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भएको र देशभर शान्तिपूर्ण, सौहार्द वातावरणमा सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिनुभयो ।

देशभर एक हजार ९६९ परीक्षा केन्द्रमा कुनै अप्रिय घटना नघटेको बताउँदै उहाँले परीक्षामा कति विद्यार्थी अनुपस्थिति रहे र कर्मचारी कति कारवाहीमा परे भन्नेबारेमा आज साँझसम्म कुनै पनि प्रदेशबाट जानकारी नआएको बताउनुभयो ।

विसं २०७४ को एसइई परीक्षामा चार लाख ६३ हजार ७०० परीक्षार्थी सहभागी भएकामा यस वर्ष भने चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका छन् । यस वर्षदेखि पहिलोपटक सङ्घीय संरचनाको स्वरुपअनुसार शुरु भएको परीक्षा आगामी २१ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी भएका छन् ।

परीक्षामा दुई लाख ३६ हजार ४४५ पुरुष र दुई लाख ३८ हजार ५५८ महिला परीक्षार्थी रहेका छन् भने सबैभन्दा बढी प्रदेश नं ३ बाट एक लाख ६०२ र सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६२४ परीक्षार्थी सहभागी भएका छन् ।

त्यस्तै प्रदेश १ बाट ८३ हजार ८१८, प्रदेश नं २ बाट ७० हजार ५१८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नं ५ बाट ७६ हजार ९८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९७२ परीक्षार्थी सामेल भएका छन् । परीक्षामा एक हजार ९६९ केन्द्राध्यक्ष, तीन हजार १६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५३५ सुरक्षाकर्मी परिचालित भएका छन् ।

यस वर्षको परीक्षामा राष्ट्रियसभा सदस्य एवं नेकपाकी सचेतक ३८ वर्षीया शान्ता चौधरीले पनि एसइई परीक्षा दिनुभएको छ । खुला विद्यालय प्रणालीमा महेन्द्र मावि तुल्सीपुरमा कक्षा ८ मा भर्ना भएर अध्ययन गरी सेन्टर मावि तुल्सीपुर केन्द्रबाट एसइईको परीक्षा दिनुभएको हो । राष्ट्रियसभा सदस्य चौधरीको १७ वर्षीया छोरी विनुले पनि आजबाटै शुरु भएको एसइई परीक्षामा काठमाडौँको आरुबारीस्थित सिर्जना बाल बोर्डिङ केन्द्रबाट परीक्षा दिनुभएको छ ।

त्यस्तै म्याग्दी अन्नपूर्ण गाउँपालिका–८ राम्चेका वडाध्यक्ष खमबहादुर गर्बुजाले पनि एसइई परीक्षा दिनुभएको छ । उहाँसँगै वडा सदस्य गेममाया पुन र देवकुमारी खोरजाले पनि बेनीको प्रकाश माविमा सञ्चालित खुला विद्यालयबाट एसइई परीक्षा दिनुभएको छ ।

त्यसैगरी भक्तपुरको आस्था महिला विद्यालयबाट ३४ वर्षीया गङ्गा थापामगरले एसओएस हर्मन माइनर स्कुल सानोठिमीमा अध्ययन गरेका छोरा रोशनसँग एसइई परीक्षा दिनुभएको छ । गट्ठाघरको भक्तपुर इङ्गलिस स्कुल परीक्षा केन्द्रमा आमाछोरा परीक्षामा सहभागी हुनुभएको छ । आस्था महिला विद्यालयबाट मात्रै १७ देखि ५३ वर्षसम्मका १७ जना महिलाले यस वर्ष एसइई परीक्षा दिनुभएको छ ।

त्यस्तै उत्प्रेरणा महिला माविमा अध्ययन गर्दै सिद्धेश्वर मावि सुविधानगर परीक्षा केन्द्रबाट काठमाडौँ कागेश्वरी मनोहराकी ६७ वर्षीया युगमाया कार्कीले एसइई परीक्षा दिनुभएको छ । नेपाली सिनेजगतकी नायिका एवं नयाँ शक्ति पार्टीकी नेत्री करिष्मा मानन्धरले पनि एसइई परीक्षा दिनुभएको छ । डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्रबाट परीक्षा दिनुभएकी उहाँले काठमाडौँ मैतीदेवीस्थित त्रिवेणी माविमा कक्षा ८ मा भर्ना भई अध्ययन शुरु गर्नुभएको थियो ।

यसैगरी छ दिनदेखि बुबाको किरियामा बस्दै आउनुभएका लमजुङ बेँसीशहर नगरपालिका–७ का दरेश पौडेलले पनि परीक्षा दिनुभएको छ । चितवनको रत्ननगर टाँडीस्थित श्रीराम बैद्धिक संस्कृत गुरुकूलमा अध्ययनरत पौडेलले बेँसीशहरस्थित जनविकास मावि केन्द्रमा किरियामै परीक्षा दिनुभएको हो । अपाङ्गता भएकालाई यस वर्ष पनि परीक्षामा विशेष व्यवस्था गरिएको र परीक्षा उत्साहपूर्वकरुपमा सञ्चालन भइरहेको उपनियन्त्रक शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री