सोमबार, माघ १० २०७८ | Mon, January 24, 2022
नेपालको समय: ०६:३६ | UK Time: 00:51

बेलायती प्रधानमन्त्रीलाई हटाउन क्याबिनेटबाटै योजना

नवीन पोखरेल
२०७५ चैत १० गते २२:०४

लन्डन । युरोपेली संघबाट बेलायत बाहिरिने प्रक्रिया 
(ब्रेक्जिट) प्रस्ताव संसदबाट पारित गराउन कसरत गरिरहेकी बेलायती प्रधानमन्त्री टेरेजा मेको पद संकटमा रहेको समाचार 
प्रकाशमा आएका छन् । मे क्याबिनेटकै केही वरिष्ठ मन्त्रीहरु उनलाई हटाउने योजनामा लागेको समाचारले बेलायती राजनीतिमा नयां तरंग आएको छ । केही दिन यता मे क्याबिनेटका मन्त्रीहरु ब्रेक्जिट संकट समाधानका लागि यही योजनामा व्यस्त 
रहेको बताइएको छ ।

मेको उत्तराधिकारी वातावरणमन्त्री माइकल गोभ हुने चर्चा छ । 
‘मेको जिम्मेवारी अन्त्य लगभग निश्चित छ । उनी दश दिनभित्र बाहिरिने छिन्’, एक मन्त्रीको भनाइ उधृत गर्दै बेलायती अखबार द टाइम्सले लेखेको छ । मेलाई राजिनामा दिन वाध्य पारिने समाचारमा दावी छ । केही अखबारले कार्यकारी प्रधानमन्त्रीका सम्भावित उम्मेदवारका रुपमा मेका डेपुटी डेभिड लिडिङटन रहेको पनि जनाएका छन् ।

प्रभावशाली मानिने अर्थमन्त्री मन्त्री फिलिप हयामण्डले मेको ब्रेक्जिट डिल जटिल रहेको र बेलायती संसद हाउस अफ कमन्सबाट पारित हुन नसक्ने स्वीकारेका छन् । उनले अहिले प्रधानमन्त्रीकै कन्जरभेटिभ नेताहरु धेरै विचलित भएकाले समाधानको नयां विकल्प चाहिरहेको पनि बताए ।
हयामण्डसहित अन्य मन्त्रीहरु मेलाई हटाउने योजनामा सक्रिय रहेको समाचारमा उल्लेख छ ।

मेको ब्रेक्जिट प्रस्ताव यसअघि दुई पटक संसदबाट अस्वीकृत भइसकेको छ भने यो साता तेश्रो पटक संसदमा पुनः मतदान हुने कार्यक्रम छ । यद्यपि, सांसदहरुबाट पर्याप्त समर्थन जुट्ने स्थिति नआए मेले मतदान नगराउन सक्ने अडकलबाजी पनि गरिएको छ । यदि संसदबाट पारित नभए ईयूले बेलायतलाई नयां योजना प्रस्ताव गर्न १२ अप्रिलसम्मको समयसीमा दिइसकेको छ । ब्रेक्जिट प्रस्ताव सांसदहरुले पारित गरे भने ब्रेक्जिट समयसीमा २९ मार्चबाट २२ मेसम्म सार्न २७ ईयू राष्ट्रका नेता सहमत भएका छन् ।

मेसंग अब चारवटामात्र विकल्प बांकी छ । पहिलो उनको ब्रेक्जिट प्रस्ताव आगामी साता पारित गर्ने, दोश्रो समयसीमा बढाउने, तेश्रो धारा ५० खारेज अर्थात ब्रेक्जिट रद्द गर्ने र चौंथो बिना सम्झौता (नो डिल) ईयूबाट बाहिरिने ।

प्रधानमन्त्री मेलाई यतिखेर चौतर्फी दबाब छ । धारा ५० खारेज गरि ब्रेक्जिट प्रक्रिया रद्द गर्न माग गर्दै आइतबार दिउसोसम्म ५० लाख बढि हस्ताक्षर संकलन भएको छ भने शनिबार लन्डनमा ब्रेक्जिटको दोश्रो जनमत संग्रह माग गर्दै करिब दश लाख जनाले प्रदर्शन गरेका थिए । इकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक