लण्डनमा अध्यात्म, संस्कृति र संस्कार मन्थन

लन्डन । सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूकेले लण्डन प्लम्स्टेडमा आईतबार ‘अध्यात्म, संस्कृति तथा संस्कार’ विषयक अन्तरकृया कार्यक्रम गरेको छ ।

बेलायती नेपाली समाजमा सुपरिचित आचार्य दुर्गाप्रसाद पोख्रेल तथा आचार्य नारायण पौडेल ‘गाउँले’ वक्ता रहेको सो कार्यक्रम सानी नानी सुश्री समृद्धि पोख्रेलको वेद मन्त्रोच्चारणबाट शुरू गरिएको थियो ।

आचार्य पोखरेलले धर्मको सार, जीवनमा धर्मको महत्व र सनातन हिन्दु धर्म, संस्कृतिका महत्वपूर्ण पक्षमा प्रकाश पारेका थिए। उनले सामान्य विद्यालयमा सनातन हिन्दु धर्म, अध्यात्म, दर्शन र सोह्र संस्कारका बारेमा नपढाइने भएकोले माता पिताले नै पहिला जान्नु पर्ने र घरैबाट संस्कार र संस्कृतिको शिक्षा दिलाउने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

अर्का वक्ता आचार्य नारायण ‘गाउँले’ले  नेपाली संस्कार र कर्म काण्डको बारेमा विज्ञान, धर्म र संस्कृतिलाई जोडेर प्रवचन दिए । उनले रिलिजन र धर्मको अर्थ एउटै नभएको र आधुनिक विज्ञान र धर्म दर्शनलाई बुझ्न एउटै आयाम पर्याप्त नहुनेमा जोड दिए । रिलिजन भनेर मात्रै हिन्दु धर्म बुझ्न सकिन्न, यस भित्र विशाल प्याकेज छ भन्दै उनले हिन्दुहरुका १६ संस्कार मध्ये ब्रतबन्ध, विवाह जस्ता दैनिक जीवनका महत्वपूर्ण पक्षका बारेमा विहंगम दृष्टिकोण प्रस्तुत गरे ।

अन्तरक्रिया कार्यक्रम अंग्रेजी र नेपाली दुवै भाषामा गरिएको थियो । संस्थाका पूर्व अध्यक्ष डा. तेजेन्द्र फेरालीले युवा पुस्तालाई आफ्ना संस्कार र संस्कृतिसँग कसरी आबद्ध गराउने भन्ने सबैको चिन्ता र चासो सम्वोधन गर्न आयोजना गरिएको यस्तो कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

प्रश्नोत्तर कार्यक्रममा उपस्थित युवा तथा अभिभावकहरूले राखेका विभिन्न महत्वपूर्ण जिज्ञासा तथा प्रश्नहरुमाथि विद्वान् वक्ताहरूले सरल र सारगर्भित उत्तर दिएर समाधान गरेका थिए । सहभागी मध्येका एक दीप गिरीले बहुभाषी तथा बहुसंस्कृतिको देश बेलायत जस्तो राष्ट्रमा हुर्केका छोरा छोरीहरू कुन धर्म, संस्कार र संस्कृतिमा हुर्कने हुन् र आफ्नोपन नै भुल्ने पो हुन् कि भन्ने चिन्तामा रहेका नेपाली डायस्पोराका अभिभावकलाई कार्यक्रम अत्यन्त फलदायी भएको बताए ।

संस्थाका अध्यक्ष शेखर वाग्लेले हिन्दुत्व, संस्कार र संस्कृतिको बारेमा यदि कसैले छोरा छोरीलाई प्रश्न सोधेमा अनुत्तरित रहनुपर्ने र सबै प्रश्नको उत्तर आमाबुवाले पनि दिन नसक्ने अवस्थालाई कम्तिमा उत्तर दिन सक्ने बनाउन पनि हिन्दु दर्शन र संस्कारको बारेमा यस्ता खाले कार्यक्रम गर्नु परेको बताए ।

संस्थाका सचिव अर्जुन पौडेलले संचालन गरेको सो कार्यक्रममा उपाध्यक्ष रामकृष्ण अधिकारीले आमन्त्रित सबैलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री