अमेरिका–चीन व्यापार वार्ता नतिजानजिक

वासिङटन, संयुक्त राज्य अमेरिका, २९ फागुन – व्यापार विवाद समाधानका लागि जिम्मेवारी दिइएका अमेरिकी उच्च अधिकारी रोवर्ट लाइटहाइजरले अमेरिका र चीनबीचको व्यापार विबाद अन्त्यका लागि अन्तिम र परिणाममुखी नतिजानजिक पुगेको बताउनुभएको छ । तर सम्झौताको मिति तोकिहाल्न भने अझै केही बिषयमा छलफल चलिरहेकाले हतार गरिहाल्न नहुने उहाँले बताउनुभयो ।

“हामी आशावादी छौँ कि हामी सम्झौताका लागि अन्तिम सातातिर पुगेका छौँ,” अमेरिकी व्यापार प्रतिनिधि रोवर्ट लाइटहाइजरले अमेरिकी सिनेटको आर्थिक समितिमा मङ्गलबार भन्नुभयो । उहाँले भन्नुभयो, ‘अझै केही प्रमुख बिषयमा रहेको विवादलाई समाधान गर्न आवश्यक छ । यस विन्दुमा मैले वार्ता सफल भइहाल्यो भन्नु गलत हुनेछ ।’

लाइटहाजरले यो पनि भन्नुभयो, “यदि सम्झौताले गरेका व्यवस्थालाई उल्लङ्घन गरेको पाइएमा अमेरिकाले कर वृद्धिलाई पुनः सक्रिय बनाउन पाउने दवावमुलक व्यवस्थाको प्रत्याभुत गर्नुपर्छ । यसप्रति चिनियाँ अधिकारीहरूले अझै आशङ्का राख्दा यस बुँदामा सहमति बन्न सकेको छैन ।”

“हामीले दवावकारी व्यवस्थाको प्रत्याभुत सम्झौतामा गराउन चीनसँग आग्रह गरिरहेका छौँ किनकि राष्ट्रपति डोनाल्ड ट्रम्प यस्तो प्रावधान नभएसम्म सम्झौताका लागि सहमत हुने सम्भावना छैन ।”  अमेरिकी राष्ट्रपति ट्रम्पले गत शुक्रबार “यदि सम्झौता वृहत सहमतिका लागि नहुने हो भने यस्तो सहमति अमेरिकाले नचाहेको र हस्ताक्षर गर्न सम्भब नहुने,” बताउनुभयो ।

ओहायोबार निर्वाचित अमेरिकी सिनेटर रोबर्ट पोर्टमेनले लाइटहाइजरसँग के वार्ताले यो महिनाको अन्त्यसम्ममा निकास निकाल्छ र सम्झौता हुन्छ भन्दा उहाँले भन्नुभयो,“ चिनियाँ राष्ट्रपति यो महिना यरोप भ्रमण गर्ने कार्यक्रम छ र उहाँले सोही क्रममा ट्रम्पको फ्लोरिडा रिसोर्ट, मार–ए–लागो, मा मार्चको अन्त्यतिर भेटवार्ता तथा सम्झौता गर्ने सम्भावना रहेको छ ।”

“मलाई थाहा छैन सम्झौता कहिले हुन्छ । समय तालिका राष्ट्रपति ट्रम्प र चीनको हातमा छ,” लाइटहाजरले बताउनुभयो ।
लाइटहाइजरले सिनेटरहरूसँग भन्नुभयो, “म र अमेरिकी ट्रिजरी सेक्रेटरी स्टेभन मनुचिनले सोमबार राति चिनियाँ अधिकारीसँग टेलिफोनमा कुराकानी गरेका थियौँ । दुबै पक्षले ११०–१२० पेज को प्रस्तावित सम्झौताबारे निरन्तर छलफल र सुझाबको आदानप्रदान भइरहेको जानकारी चिनियाँ अधिकारीले दिएका छन् ।”

वार्तामा भएका प्रगतिबारे अमेरिकी प्रशासनबाट विरोधाभासपूर्ण सन्देशका सङ्केतहरू आएका छन् । चीनसँगको व्यापार विवादमा अमेरिका सम्झौता नजिक पुग्नेमा आफू विश्वस्त रहेको राष्ट्रपति ट्रम्पले गत शुक्रबार बताइसक्नुभएको छ । यसको अर्थ अमेरिकी प्रशासनले गत बर्ष चिनियाँ सामान आयातमा लगाएको दुई खर्ब ५० अर्ब अमेरिकी डलर मुल्य बराबरको करवृद्धि हट्नेछ ।

चिनियाँ सामानमा कर वृद्धि गरी आफ्नो उत्पादनलाई प्रोत्साहन गर्ने अमेरिकी निर्णयलाई संरक्षणवादी व्यापार नीति भन्दै बदलामा अमेरिकाबाट चीन आयात हुने एक खर्ब दश अर्ब अमेरिकी डलर बराबरको अमेरिकी उत्पादनमा चीनले पनि कर वृद्धि गरी ‘जस्तालाई तस्तै’ भन्ने जवाफ दिएको थियो ।

चीन तथा अमेरिकाको विवादका कारण उनीहरूको सामान प्रयोग गर्दै आएका अन्य विश्व समुदाय पनि प्रभावित बनेको साथै विवादले कसैलाई पनि फाइदा नगर्ने मनोविज्ञानका साथ चीन र अमेरिकाबीच वार्ता शुरू भएको हो । अमेरिकी राष्ट्रपति ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबीच सन् २०१८ को डिसेम्बर १ मा अर्जेटिनाको राजधानी व्युनर्स आयर्स भएको विकशित तथा उदाउँदो अर्थतन्त्र भएका १९ राष्ट्र र यूरोपियन युनियन सहभागी शिखर सम्मेलनको सन्दर्भमा व्यापार विवादलाई सुल्झाउने सहमति भएको थियो ।
सोही अनुरूप ट्रम्पले चीनको सामान आयातमा थप कर वृद्धि गर्ने गर्ने निर्णयलाई ९० दिनका लागि अर्थात् मार्च १ गते सम्मका लागि स्थगित गर्न सहमत भएका छन् । ९० दिनको बीचमा चीन अमेरिका व्यापार वार्ता समूहको विवाद समाधान गर्ने प्रयास निकै सकारात्मक मोडमा पुगेको भन्दै थप केही समयका लागि कर वृद्धिको घोषणा रोकिएको छ ।

व्यापार विवाद र विगतमा भएका कर वृद्धि 
विदेशी सामान आयातमा खास गरी चीनमाथि कर वृद्धि गर्ने प्रस्तावलाई चीनको अन्यायपूर्ण व्यापार अभ्यासको प्रतिक्रियास्वरूप गरिएको अमेरिकाले जनाउँदै आएको छ । अमेरिकाले चीनमाथि आफ्ना व्यवसायीलाई अनावश्यक दवाबमा पारेको, चिनियाँ कम्पनीलाई अत्यधिक सरकारी अनुदान दिएर चीनमा अमेरिकी सामानको आयातलाई निरूत्साहित गरेको र बौद्धिक सम्पत्तिको चोरी गरेकोजस्ता आरोपहरू लगाएको छ ।

अमेरिकी प्रशासनले करवृद्धि लागू गरिने चिनियाँ सामानको सूची एक हजार ३०० भन्दा बढी तोकेको छ । जसमध्ये विमानका सामान, व्याट्री, फ्लाट प्यानेल टेलिभिजन, स्वास्थ्यसम्बन्धी उपकरण, कृत्रिम उपग्रह तथा विभिन्न प्रकारका हतियारहरूमा करवृद्धि लागू भएको छ ।

अमेरिकी निर्णयलाई विरोध जनाएपनि चीनले अमेरिकाको करवृद्धि घोषणाको प्रतिक्रियामा अमेरिकी १२८ सामानमाथि कर बढाउने निर्णय सन् २०१८ को अप्रिल २ मा मात्र गरेको थियो । जसअनुसार आल्युमिनियम, विमान, कार, बँदेल र सोयविनमा २५ प्रतिशत र फलफुल, सुपारी, बदाम र स्टीलको पाइपमा १५ प्रतिशत करवृद्धिको घोषणा गरेको छ ।

अर्थशास्त्रीहरू चीनबाट आयात हुने सामानमा भन्सार शुल्क लगाउने निर्णयले अमेरिकाको समग्र अर्थतन्त्रमा धेरै असर नपारेको बताउँछन् तर यसले देशैभर सबै खाले वस्तुको मूल्यमा भने वृद्धि भएको छ । ट्रम्प प्रशासनले यसको दोष अमेरिकी केन्द्रीय बैंकद्वारा गरेको ब्याजवृद्धिलाई लगाएको छ भने अधिकांश व्यवसायीहरूले चीन–अमेरिका विवाद नै यसको कडी मान्दछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री