नेटोको रक्षा खर्च बढाउन युरोपेली देशलाई आग्रह

वार्सा, २६ फागुन – उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो) का महासचिव जनरल जेन्स स्टोल्टनबर्गले नेटोका लागि रक्षा खर्च बढाउन युरोपेली देशलाई आग्रह गर्नुभएको छ ।

वार्सामा भएको युरोपेली युनियनको युरोपियन पिपुल्स पार्टी सम्मेलनमा बोल्दै उहाँले नेटोको रक्षा खर्च धेरै चाहिएकोले त्यसका लागि रकम वृद्धि गर्न अत्यावश्यक रहेको बताउनुभएको हो ।

‘युरोपमा रक्षा खर्चमा वृद्धि गर्न आवश्यक भइसकेको छ तर पनि यो बजेटले हालको रक्षा खर्चको प्रतिस्थापन गर्ने भने होइन बरु अरु थप सहयोगको मात्रा बढाउने हो’, उहाँले भन्नुभयो ।

यो दुवै खर्च नै नेटोका लागि आवश्यक रहेको उहाँले बताउनुभएको थियो । उहाँले हाल नेटोका लागि रक्षा खर्चमा कमी आएको बताउदै कमी भएको खर्चका लागि आवश्यक रकम युरोपका देशले बढाउनुपर्नेमा जोड दिनुभयो ।

पछिल्लो समय ती देशले नेटोको संरचना निर्माण, आधारभूत अन्य आवश्यकता पूरा गर्ने काममा लिएको अग्रसरताप्रति भने महासचिव स्टोल्टनबर्गले प्रसंशा गर्नुभयो ।

रक्षा खर्चको कोष निर्माणका लागि पनि युरोपका देशले राम्रो अग्रसरता लिएको र यसले आगामी दिनमा नेटोको रक्षा खर्चको दिगोपनाका लागि सघाउ पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उक्त सम्मेलनमा रक्षासम्बन्धी सत्रमा उहाँले सम्बोधन गर्नुभएको थियो । महासचिव स्टोल्टनबगसँगै सो सत्रमा जर्मनीका रक्षामन्त्री पनि सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री