बेलायतमा नेपाली झन्डा बोकेर दौड्दै १७ धावक

लण्डन । बेलायतको सामाजिक तथा च्यारिटी संस्था ‘नेपलिज ब्रिटिश कम्यूनिटी यूके’ ले दौडमार्फत ‘भिजिट नेपाल’ को प्रचार प्रसार गर्ने भएको छ । पर्यटन विकासको नयाँ कार्यक्रम ‘भिजिट नेपाल २०२०’ लाई विश्वसामु ब्यापक बनाउन यही मार्च १७ तारिख आइतबार बेलायतको हेमटन कोर्ट प्यालेस हाफ म्याराथन (२१ किमी) दौड गर्ने भएको संस्थाका अध्यक्ष मिलन घिमिरेले बताएका छन् ।

हजारौं बिदेशी दौडने र प्रत्यक्ष अप्रत्यक्ष लाखौँ दर्शक सहभागी हुने सो हाफ म्याराथनमा नेपाली झन्डा फहराउॅंदै नेपलिज ब्रिटिश कम्यूनिटी यूकेको नामबाट भिजिट नेपाल २०२०, नेपाली झन्डा र कम्यूनिटीको लोगो अंकित टि-सर्ट लगाएर संस्थाका खेलकुद विभाग प्रमुख राजेन्द्र ओझाको नेतृत्वमा समिरनाथ प्याकुरेल, लेखनाथ घिमिरे, वसन्त नेपाल, किरण अधिकारी, अन्जु सिंग्देल, संजीव घिमिरे, दामोदर आचार्य, मुकुन्द नेपाल, रफी श्रेष्ठ, डेविड सुव्वा, कमल लिम्वु, मनोज दाहाल, राघव नेपाल, भवानी घिमिरे नेपाल, इन्दिरा भट्टराई, शेखर भट्टराईसहित महिला र पुरूष गरि जम्मा १७ जना धावक सहभागी हुने घिमिरेले बताए । वेलायतको ह्याम्प्टन कोर्ट प्यालेसमा हुने यो दौडलाई विभिन्न मिडियाले विश्वभरि प्रचार गर्ने छन् ।

बेलायतको राजधानी लण्डनको रिचमन्डमा हरेक वर्ष आयोजना हुने उक्त दौडमा भाग लिएर विश्वको सर्वोच्च शिखर सगरमाथाको देश, शान्तिका अग्रदूत गौतम बुद्धको देश, प्राकृतिक शौन्दर्य, मनोरम सुन्दरताले भरिएको देश, मठ मन्दिर, गुफा अनि मस्जिद र चर्चको देश, विभिन्न आकर्षक कला र संस्कृतिले सुसज्जित सुन्दर देश नेपाललाई पर्यटनको एउटा प्रमुख गन्तव्य वनाउन बेलायत लगायत विश्वभरि जानकारी गराउने प्रमुख ध्येयका साथ भाग लिन लागिएको संस्थाले जनाएको छ ।

दौड कार्यक्रम संयोजक राजेन्द्र ओझाले दौडबाट शारिरीक तथा मानसिक रूपमा स्वस्थ जीवनयापन गर्न सवैलाई अभिप्रेरित गर्दै मातृभूमिको पर्यटन विकासमा विदेशबाट व्यक्तिगत तथा संस्थागत योगदान पुर्याउन खोजिएको बताए । संस्थाले आफ्नो स्थापनाकालदेखि विभिन्न कार्यक्रम गर्दै आएको छ र यो पनि त्यसै मध्येको एउटा हो । 

कार्यक्रममा अधिक सहभागिता र विभिन्न किसिमले सहयोग गर्न संस्थाका सचिव चुरामणी रेग्मीले सम्पूर्ण वेलायतवासीलाई आह्वान गरेका छन् । संस्थाको तर्फवाट लिफलेट, व्रोसर जस्ता प्रचार सामाग्री वितरण गर्न, धावकहरूलाई हौसला दिन र धावन मार्गको ठाउँ-ठाउँमा पानी, जुस सहित भोलेन्टियरहरू रहने पनि सचिव रेग्मीले वताए ।

त्यसै गरी कार्यक्रमको अर्को उद्देश्य संस्थाले नेपाल तथा बेलायतमा गर्ने सामाजिक र मानवीय सेवाको लागि आर्थिक संकलन पनि रहेको बताइएको छ । यसको लागि संस्थाले फेसबुकमार्फत छुट्टै https://www.facebook.com/donate/853416375009894/ पेज खोलेको जानकारी दिंदै सो पेजमार्फत संसारभरबाट दान गर्न सकिने संस्थाका कोषाध्यक्ष ऋषि खनालले बताए ।

उनले बिगत ९ वर्षदेखि संस्थाले नेपाल तथा बेलायतको विभिन्न संबेदनशील क्षेत्रहरुमा उल्लेखनीय रुपमा सामाजिक तथा मानवीय सेवा गर्दै आएको जानकारी गराउंदै सो को निरन्तरताको लागि आफूले सकेको दान गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री