लन्डनमा छुरा प्रहारका घट्ना बढ्यो

लन्डन । लन्डनमा छुरा प्रहारका घट्ना बढेपछि यसले 
राष्ट्रिय राजनीतिसमेत तरंगित बनेको छ । प्रहरी कटौतीका कारण छुरा अपराध बढेको भन्दै प्रधानमन्त्री टेरेजा मेमाथि 
चौतर्फी दवाव थोपरिएको छ ।

यस मुद्दामा बेलायती सेनाले समेत चासो देखाएको छ । प्रधानमन्त्री मेले छुरा अपराधबारे छलफल गर्न मन्त्रीहरु, समुदायका नेता, पीडित आदि सरोकारवालासंग छिट्टै आफ्नो कार्यालयमा सम्मेलन गर्ने भएकी छन् ।

ब्रिटिश रक्षामन्त्री ग्याभिन विलियमसन्ले ब्रिटेनमा चक्कु प्रहारबाट खासगरी किशोर, किशोरीको ज्यान लिने घट्नाहरु नियन्त्रण गर्न सघाउन सेना तयार रहेको बताएका छन् ।

बेलायती संसदमा मंगलबार राती भएको प्रश्नोत्तरमा बोल्दै मन्त्री विलियमसन्ले सरकारको कुनै पनि निकायलाई सघाउन रक्षा मन्त्रालय तयार रहेको बताएका हुन् ।

ब्रिटेनको गृह मन्त्रालयले रक्षा मन्त्रालयसंग अझै औपचारिक 
रुपमा सहयोग मागेको छैन् तर मेट्रोपोलिटन प्रहरीकी प्रमुख क्रेसिडा डिकले छुरा प्रहारका बढ्दो घटनासंग जुध्न सेनाको सहयोगका लागि आफू इच्छुक रहेको बताएकी थिइन् ।

यो वर्ष दुई महिनायता लन्डनमा छुरा प्रहारका घट्नामा २१ जनाको ज्यान गइसकेको छ जसमध्ये अधिकांश किशोर, किशोरी छन् । बुधबारमात्र पूर्वी लन्डनको लेटनमा एक युवामाथि छुरा प्रहार भएको थियो । गत फेब्रुअरीमा प्रकाशित एक तथ्यांकमा गत वर्ष इंग्ल्यान्ड र वेल्समा छुरा प्रहारबाट २८५ जनाले ज्यान गुमाएका उल्लेख छ जुन सन् १९४६ यताकै सबैभन्दा उच्च हो ।

बेलायती प्रधानमन्त्री मेले प्रहरीको संख्या कटौती र छुरा प्रहारका घट्नामा वृद्धिबीच कुनै प्रत्यक्ष सम्बन्ध नरहेको बताएपछि त्यसको चौतर्फी आलोचना भएको छ ।

विगत आठ वर्ष (सन् २०१०) यता इंग्ल्यान्ड र वेल्समा २० हजार भन्दा बढि प्रहरीको संख्या कटौती गरिएको छ । टेरेजा मेले गृहमन्त्री भएर ६ वर्ष काम गर्दा बजेटसंगै प्रहरीको संख्या अत्यधिक कटौती गरिएको हो ।

मेट्रोपोलिटन प्रहरीका पूर्व प्रमुख लर्ड स्टेभेन्सले प्रधानमन्त्री मेले प्रहरीको सरोकारका विषय नसुनेको आरोप लगाएका छन् । प्रमुख प्रतिपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिन पनि प्रधानमन्त्रीको आलोचनामा उत्रिएका छन् । छुराबाट हुने अपराध नियन्त्रणमा प्रधानमन्त्रीले पर्याप्त कदम नचालेको आरोप कोर्बिनको छ ।

लेबर पार्टीका शीर्षस्थ सदस्यहरु, लन्डन मेयर सादिक खान र स्याडो पुलिसिङ मिनिस्टर लुइज हेगले प्रधानमन्त्री मेलाई पत्र लेखी युवाबीच बढिरहेको हिंसासंग जुध्न १० हजार नयां प्रहरी अधिकृत माग गरेको बीबीसीले जनाएको छ ।

इंल्याण्डकी एक वरिष्ठ प्रहरी अधिकृतले अपराध नियन्त्रणका लागि आपतकालिन बजेट माग गरेकी छन् । नेशनल पुलिस चिफ्स काउन्सिलकी अध्यक्ष सारा थोर्नटनले बढिरहेको हिंसात्मक छुरा अपराध सामना गर्न यसलाई राष्ट्रिय संकटकालका रुपमा हेरिनुपर्ने तर्क समेत गरेकी छन् ।

तीव्र दवावबीच गृहमन्त्री सजिद जाभिदले छुरा प्रहारजस्ता अपराध नियन्त्रणमा जोड दिंदै प्रहरीले जनशक्ति तथा श्रोतबारे कुरा उठाउंदा त्यो आवाज सुन्नुपर्ने जनाएको बेलायती अखबारहरुले जनाएका छन् । कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित सामाग्री