सियोल, २२ फागुन (रासस/एएफपी) – संयुक्तराष्ट्र सङ्घले उत्तर कोरियामा गत वर्ष खाद्य उत्पादनमा दशककै सबैभन्दा न्यून भएको जनाएको छ । प्राकृतिक प्रकोपका साथै खेतीयोग्य जमिनको अभाव तथा परम्परागत कृषिका कारण खाद्य उत्पादनमा व्यापक कमी आएको हो ।
अन्तर्राष्ट्रिय नाकाबन्दीका कारण आर्थिक रुपमा कमजोर बनेको उत्तर कोरियामा बर्सेनि चरम खाद्य सङ्कट हुने गरेको छ ।
राष्ट्रसङ्घका अनुसार गत वर्ष कोरियामा ४९ लाख ५० हजार टन खाद्यान्न मात्र उत्पादन भएको थियो । सन् २०१९ का लागि आवश्यक खाद्यान्नमध्ये अझै पाँच लाख टन अपुग हुनेछ ।
‘एक दशकमै यो सबैभन्दा न्यून उत्पादन हो, राष्ट्रसङ्घका आवासीय संयोजक तापन मिश्रले बताउनुभयो-‘यसबाट खाद्यान्न आवश्यकतामा ठूलो अन्तर देखा परेको छ ।’
यसको परिणामस्वरुप उत्तर कोरियाका झण्डै एक करोड नागरिकलाई मानवीय सहायता आवश्यक परेको छ । गत वर्षभन्दा यस वर्ष ६ लाख बढी मानिसलाई मानवीय सहायता जरुरी हुनेछ । तत्काल सहयोग प्राप्त नभएमा कुपोषण र रोगको खतरा देखा पर्ने राष्ट्रसङ्घको भनाई छ ।
खाद्यान्न अभाव व्यहोर्ने यो कूल जनसंख्याको झण्डै ४३ प्रतिशत हो ।
राष्ट्रसङ्घीय सहयोग पनि अपर्याप्त देखिएको छ । मिश्रले गत वर्ष आग्रह गरिएको सहयोगमध्ये २४ प्रतिशत मात्र प्राप्त भएको जानकारी दिनुभयो । उहाँले मानवीय सहायताका कार्यहरुमा राजनीतिक पक्षलाई बेवास्ता गर्न दाताहरुलाई आग्रह गर्नुभएको छ ।
कमजोर आर्थिक स्थिति रहेको उत्तर कोरियामाथि अन्तर्राष्ट्रिय समुदायले सैनिक एवं आणविक हतियारका कार्यक्रममा मात्र केन्द्रित नहुन आग्रह गरिरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत हनोई शिखर वार्ता हुनुअघि पटकपटक आणविक कार्यक्रम रोके उत्तर कोरिया आर्थिक केन्द्र बन्न सक्ने बताउँदै आउनुभएको थियो ।
तर उत्तर कोरियाली नेता किम जोङ–अन र अमेरिकी राष्ट्रपति ट्रम्पबीचको हनोई वार्ता भङ्ग भएसँगै उत्तर कोरियाका बारेमा अन्यौल देखिएको छ । केही अमेरिकी अनुसन्धान संस्थाहरुले उत्तर कोरियाले पुनः आणविक र क्षेप्यास्त्र कार्यक्रम शुरु गर्न लागेको दाबी गरेका छन् ।
अन्तरिक्षबाट खिचिएका तस्वीरहरुको विश्लेषण गर्दै उनीहरुले क्षेप्यास्त्र परीक्षण केन्द्रमा मानिसहरुको आउजाउ बढ्न थालेको बताएका छन् ।
उत्तर कोरियाको अधिकांश भूभाग हिमाली र विकट पहाडी छ । यहाँ करिब २० प्रतिशत भूभागमा मात्र खेतीबाली हुन्छ । उत्तर कोरियामा गत जुलाई र अगष्ट महिनामा तीव्र तातो हावा चलेको थियो । त्यसलगत्तै ठूलो वर्षा र बाढी आएको थियो । राष्ट्रसङ्घका अनुसार, मौसमी प्रतिकूलताका कारण धान र गहुँको उत्पादनमा १२ देखि १४ प्रतिशतले कमी आएको छ ।
साथै, उत्तर कोरियाको सोयाबिन उत्पादन ३९ प्रतिशत र आलुको उत्पादन ३४ प्रतिशतले घटेको छ । गत महिना प्योङयाङले यस वर्ष १४ लाख टन खाद्यान्न कमी हुने राष्ट्रसङ्घलाई जानकारी गराएको थियो ।
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
इरानले शान्ति प्रस्ताव अस्वीकार गरे पुनः आक्रमण गर्ने अमेरिकाको चेतावनी
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतद्वारा युक्रेनलाई सहयोग घोषणा
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान