नेपाली फुटबल विकासमा चीनले सहयोग गर्ने

काठमाडौँ, १६ फागुन – नेपाली फुटबलको विकासका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र चिनियाँ फुटबल सङ्घबीच सहकार्य हुने भएको छ ।

नेपाल भ्रमणमा रहेका चिनियाँ फुटबल सङ्घ र एन्फाबीच यससम्बन्धी सम्झौतापत्रमा आज यहाँ आयोजित कार्यक्रममा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा चिनियाँ फुटबल सङ्घका अध्यक्ष डु चाउछाई र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाबीच चार वर्षे सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा दुवै देशको राष्ट्रिय टोलीको आदानप्रदान, पूर्वाधार विकासमा सहकार्य र प्राविधिक विकासमा चीनले नेपाललाई सहयोग गर्ने उल्लेख छ । त्यसैगरी दुईदेशबीच मैत्रीपूर्ण खेल खेलाइने सम्झौतामा उल्लेख छ ।

सम्झौतापत्रमा हस्ताक्षरपछि एन्फा अध्यक्ष शेर्पाले दुई छिमेकीबीचको सहकार्य नेपाली फुटबल विकासका लागि कोशेढुङ्गा सावित हुने बताउनुभयो । अध्यक्ष शेर्पाका अनुसार अब नेपालमा हुने प्रतियोगितामा चीनको प्रान्तिय र तेस्रो डिभिजनका क्लबले सहभागिता जनाउने छन् । “पूर्वाधार विकासमा चीनले गर्न सक्ने सहयोगका क्षेत्र पहिचान गरी हामी निकट भविष्यमै चीनको भ्रमण गर्ने र त्यसमा विस्तृत कार्ययोजना समेत लैजान्छौँ, आजको सम्झौता भनेको पहिलो चरणको हो”, उहाँले भन्नुभयो ।

चिनियाँ फुटबल सङ्घका अध्यक्ष डु चाउछाइले नेपाल र चीनबीच फुटबलको विकासमा आज भएको सम्झौता रणनीतिक साझेदारी भएको बताउनुभयो । नेपाल र चीनबीच सदियौँदेखि सांस्कृतिक तथा दौत्य सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले सम्झौताले दुई मुलुकको राष्ट्रिय फुटबल टोलीबीच राम्रो सम्बन्ध बनाउन आधार तयार भएको बताउनुभयो । “नेपालबाट तिब्बत नजिक छ, हामी तिब्बतसँग जोडिएर फुटबलमा धेरै काम गर्न सक्छौँ,” उहाँले भन्नुभयो । फुटबल विकासमा सहकार्य गर्न अध्यक्षसहितको तीन सदस्यीय चिनियाँ टोली आजै नेपाल आएको हो ।

महिला क्रिकेट टोली स्वदेश फर्कियो 

थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया छनोटको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज स्वदेश फर्किएको छ । थाइल्याण्डमा बुधबार सम्पन्न छनोटमा उपविजेता बने पनि नेपाली टोली ग्लोबल छनोटमा पुग्न असफल भएको थियो ।

सात राष्ट्र सहभागी उक्त छनोटको शीर्ष टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधानअनुसार आयोजक थाइल्याण्ड शीर्ष स्थानमा रहँदै विश्वकपका लागि ग्लोबल छनोटमा पुगेको थियो । छनोटमा नेपाल थाइल्याण्डसँगै पराजित भएको थियो । नेपाल थाइल्याण्डसँग पराजित भए पनि अन्य पाँच खेलमा विजयी भएको थियो । उपविजेता भएर फर्किएको नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न खेलकूदको सर्वोच्च संस्था राष्ट्रिय खेलकूद परिषद्सहित क्रिकेटका सरोकारवाला कोही पनि विमानस्थल गएनन् ।

महिला क्रिकेट टोलीका प्रशिक्षक विनोद दासले पछिल्लो दुई महीना राम्रो खेलेको बताए । उनले खेलेका १२ खेलमध्ये दुई खेलमा मात्र पराजित भएको बताउँदै बरियतामा १४औँ स्थानमा रहनु उपलब्धि भएको बताए । कप्तान रुबिना क्षेत्रीले छोटो समयमा महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा क्षमता प्रमाणित गरेको बताइन् ।

श्रेष्ठ सम्मानित 

टर्कीमा भएको आठौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपका पदक विजेतासहितको टोलीलाई प्रदेश नं ३ खेलकुद परिषद्ले आज नगदसहित सम्मान गरेको छ । परिषद्ले आज पदक विजेता विक्रम श्रेष्ठसहित प्रशिक्षक कविराज नेगी लामा तथा व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई जनही रु दुई हजार ५०० सहित सम्मान गरेको हो । प्रतियोगितामा श्रेष्ठले पुरुष एकल पुम्सेमा कास्य जितेका थिए । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं प्रदेश नं ३ का संयोजक सुदिल शाहीले सम्मान गर्नुभएको थियो ।

बास्केटबल र खो खो टोली छनोट 

आठौँ राष्ट्रिय खेलकूदका लागि प्रदेश नं २ को पुरुष बास्केटबल तथा पुरुष-महिला खो खो टोलीको छनोट गरिएको छ । छनोट गरिएको बाह्र सदस्यीय पुरुष बास्केटबल टोलीमा १० बाराका तथा दुई पर्साका खेलाडी छन् । बाराबाट अभिशेष तिवारी, निखिल गुरुङ, विश्वास तिवारी, नरेन्द्र शाह, चन्दन गोसाईं, नितिन ओझा, प्रकाश तिवारी, बलराम यादव, एकवाल स्वारी र केदारनाथ शाह तथा पर्साबाट विजय शाह र अभिशेषकुमार सिंह छनोट भएका छन् ।

पुरुष खो खो टोलीमा धनुषाका इन्दलकुमार राय कुर्मी, मिलनकुमार राय, रञ्जन सिंह, किशोर बुर्जा मगर, पंकज मिश्रा, सञ्जय राय र बुद्धकुमार थापा तथा बाराका विजय चौधरी, सोहेल इस्लाम, रोशन पटेल, आदेश यादव र राकेश पटेल रहेका छन् । महिलामा धनुषाका सिता साह, सुस्मिता सिंह, रुपा चौधरी, मनीषा भुजेल, रोशनी यादव र आरती चौधरी तथा बाराका सोनी यादव, आकृति केशरी, सर्मिला प्रजापति, रोभाकुमारी यादव, आरती कुमारी र स्नेहा जैसवाल छन् ।

ब्याडमिन्टन

आठौँ राष्ट्रिय खेलकूदका लागि प्रदेश नं २ बाट ७ पुरुष र ५ महिला खेलाडी छनोट भएका छन् । पुरुषतर्फ बाराका रामकृष्ण श्रेष्ठ, सिरहाका सन्तोष कटवाल, सप्तरीका सुनिल परियार, सर्लाहीका अजय श्रेष्ठ, धनुषाका विजयकुमार केसी, बाराका राजन सिग्डेल र धनुषाका बाबुराम श्रेष्ठ छन् । महिलामा सर्लाहीकी निकिता लामा, पर्साकी स्मृति राई, सर्लाहीकी दिपिका कार्की, महोत्तरीकी रजनीकुमारी शाह र सिरहाकी अञ्जना राई छन् ।

हक्की 

आठौँ राष्ट्रिय खेलकूदका लागि प्रदेश नं २ बाट पुरुष-महिला हक्की टोली छनोट गरिएको छ । १८ पुरुष र त्यत्तिनै महिला गरी ३६ खेलाडी छनोट गरिएको मध्यमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिले जनाएको छ । पुरुषमा दिनेश सिंह, हरिविन्द्र सिंह, राजेशनाथ अधिकारी, रुपेश साह, सन्तोष थापामगर, राम साह, परवेज आलम, रेजा खान, राम उदगार साह, एसराज शर्मा, कल्याण ठाकुर, अर्जुन खड्का, सेख सविर हुसेन, गोविन्द अधिकारी, मनोज साह, मन केश्वर, श्रीराम ठाकुर र राहुल साह रहेका छन् । महिलामा रानी साह, राधा साह, निर्मला मिरिचिङ, अस्मिता राई, गीता मिरिचिङ, सानी खड्का, सरिता मगर, दील कुमारी, भावना राई, सुस्मिता मगर, आकृति राई, निलिमा राई, पुमु राना, गुडिया सराफ, मधु साह, पूजाकुमारी बैठा, जानकी गुप्ता र खुश्बु क्षेत्री छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री