बैंकक, २५ माघ – आगामी मार्च महिनामा हुने आमचुनावमा एक जना थाई राजकुमारीले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । थाइल्यान्डको आधुनिक इतिहासमा राजपरिवारका कुनै सदस्यले मुख्य राजनीतिक भूमिकामा दाबी गरेको यो पहिलो घटना हो ।
थाइल्यान्डका राजा माहा वाजिरालोङकोर्नकी ठूली दिदी ६७ वर्षीया राजकुमारी उबोलरतनाले थाई रक्षा चार्ट पार्टीका तर्फबाट उम्मेदवारी दिएको घोषणा गर्नुभएको छ ।
थाई राजतन्त्रलाई परम्परागतरुपमा राजनीतिक प्रतिस्पर्धाभन्दा माथि पवित्र संस्थाका रुपमा हेर्ने गरिन्छ । थाइल्यान्डको कडा कानुनी व्यवस्थाका कारण राजतन्त्र विरुद्ध आलोचना गर्न पनि पाइन्न । राजतन्त्रले मुलुकमा राजनीतिक सङ्कट उत्पन्न भएका बखत हस्तक्षेप गर्ने गरेको छ ।
उबोलरतनाको उम्मेदवारीले मार्च २४ तारिखको चुनावमा नयाँ तरङ्ग नै ल्याइदिएको छ । खासगरी, पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राको राजनीतिक प्रभावका कारण राजकुमारीले उम्मेदवारी दिएको बताइन्छ ।
थाइल्यान्डमा थाक्सिन समर्थक “राता” टिसर्टधारी र राजावादी “पहेंला” टिसर्टधारीबीच परम्परागत दुश्मनी रहँदै आएकामा राजकुमारीको उम्मेदवारीले दुबैलाई एक ठाउँमा ल्याउने सम्भावना बढेको छ । यी दुई समूहबीचको डरलाग्दो हिंसाले गत दशकमा थाइल्यान्डको राजनीतिलाई अस्थिर बनाएको थियो ।
“राजकुमारी उबोलरतनाको छनौट सबैभन्दा उपयुक्त रहेकामा बोर्ड पूर्ण रुपमा सहमत छ,” थाई रक्षा चार्ट पार्टीका नेता प्रिचापोल पोङपानिचले संवाददाताहरुलाई बताउनुभयो । उहाँका अनुसार राजकुमारी निकै शिक्षित र सीपालु हुनुहुन्छ ।
यो पार्टी अर्बपति थाई नेता थाक्सिन शिनावात्राको प्रभावमा रहेको मानिन्छ । उहाँ थाइल्यान्डको राजनीतिमा निकै प्रभावशाली व्यक्तित्व पनि हुनुहुन्छ । उहाँलाई थाइल्यान्डको सेना र बैंककस्थित माथिल्लो धनाढ्य वर्गले नरुचाए पनि ग्रामीण क्षेत्रका गरिब परिवारले अत्यन्त सम्मान गर्दछन् ।
राजकुमारीको उम्मेदवारी घोषणासँगै थाक्सिनलाई थाइल्यान्डको राजनीतिक नाटकको केन्द्रमा उभ्याएको छ । उहाँलाई सन् २००६ मा सैनिकले गरेको सत्ताविद्रोहबाट पदच्यूत गरिएको थियो । तर सन् २०१४ मा उहाँकी बहिनी यिङ्लुकको सत्तामा पुनरागमन भएको थियो । अन्ततः उहाँलाई पनि भ्रष्टाचारको आरोपमा जेल सजाय दिएर सत्ताच्यूत गरिएको थियो ।
राजकुमारीको कदमले सैनिक नेता प्रयुत चान–ओ–चाको राजनीतिक इच्छामा निकै ठूलो प्रहार गरेको छ । उहाँ आफूलाई यस पटकको चुनाव मार्फत नागरिक नेताका रुपमा स्थापित गर्न इच्छुक हुनुहुन्थ्यो । उहाँ विगत पाँच वर्षदेखि थाइल्यान्डको सत्तामा हुनुहुन्छ ।
यही राजनीतिक उहापोहबीच प्रयुतले पनि प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिएको घोषणा गर्नुभएको छ । उहाँ फालाङ प्रचारत सैनिक पार्टीबाट उम्मेदवार हुनुभएको छ ।
“म शक्तिमा झुण्डिइरहन चाहन्न । यो निर्णय लिन मलाई निकै कठिन भइरहेको थियो, तर अहिले मुलुकका निम्ति गम्भीर अवस्था छ ।”
प्रयुत मातहतको सैनिकले आफूलाई राजतन्त्रको संरक्षकका रुपमा उभ्याएको थियो । तर उबोलरतनाको राजनीतिमा भएको आकस्मिक आगमनले प्रयुतमाथि नै सङ्कट निम्त्याएको छ ।
आम सर्वसाधारणसँग घुलमिल हुन अभिरुचि राख्ने उबोलरतनाले सन् १९७२ मा अमेरिकी नागरिक पिटर जेन्सेनसँग विवाह गरेपछि राजपदवी त्याग्नुभएको थियो । तर जेन्सेनसँग उहाँको सम्बन्ध विच्छेद भइसकेको छ । त्यसपछि उहाँ थाइल्यान्ड फर्कनुभएको थियो । थाइल्यान्ड फर्किएपछि पनि उहाँलाई राजपरिवारकै सम्मानित सदस्यका रुपमा लिने गरिएको थियो ।
थाइल्यान्डमा सन् १९३२ मा संवैधानिक राजतन्त्रको व्यवस्था भएयता प्रधानमन्त्रीका रुपमा कुनैपनि राजसंस्थाका व्यक्ति प्रधानमन्त्रीमा नियुक्त भएका छैनन् ।
उहाँलाई रुसमा सम्पन्न सन् २०१८ को विश्वकपका समयमा थाक्सिन र यिङ्लकसँगै देखिएको थियो ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल