वासिङ्टन, १८ माघ – संयुक्तराज्य अमेरिका र चीनबीच वासिङ्टनमा जारी व्यापार वार्तामा उल्लेखनीय प्रगति भएको दुबै देशका प्रतिनिधिहरुले बताएका छन् । चीन र अमेरिकाबीचको “व्यापार युद्ध” नाम दिइएको अमेरिकी करवृद्धि योजनाले विश्व अर्थतन्त्रमै पार्न सक्ने गम्भीर प्रभावलाई ध्यान दिई हाल दुबै मुलुकबीच वार्ता भइरहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी चिनफिङबीच जी–२० बैठकको अवसरमा अर्जेन्टिनाको ब्युनस आयर्समा भएको भेटवार्तामा दुबै मुलुकबीच तीन महिने व्यापार युद्धविराम घोषणा गरिएको थियो ।
आगामी मार्च १ तारिखभित्रै वार्ताद्वारा नयाँ सहमति नभए अमेरिकाले २०० अर्ब डलर बराबरका चिनीया सामानमा हाल लाग्दै आएको १० प्रतिशत करलाई वृद्धि गरी २५ प्रतिशतसम्म बनाउने घोषणा गरेको छ ।
दुबै देशका व्यापार प्रतिनिधिबीच वासिङट्न डिसीमा जारी वार्तामा उल्लेखनीय प्रगति भएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताउनुभएको छ । ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले चिनीया राष्ट्रपति सी चिनफिङले लेख्नुभएको पत्र निकै स्वागतयोग्य रहेको पनि बताउनुभयो ।
चीनको सरकारी सञ्चार माध्यम सिन्ह्वाले पनि दुबै देशका व्यापार प्रतिनिधिबीच दुई दिनको वार्तामा “महत्वपूर्ण प्रगति” भएको जनाएको छ । व्यापार वार्ताका लागि चीनका उपप्रधानमन्त्रीको नेतृत्वमा एक प्रतिनिधिमण्डल वासिङ्टन आएको छ ।
अर्थशास्त्रीहरुको भनाइमा आगामी मार्च १ तारिखको समयसीमाभित्र दुबै मुलुकबीच सम्झौता नभए त्यसले विश्व अर्थतन्त्रमा ठूलै नोक्सानी गर्नेछ । चिनीया राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति ट्रम्पलाई लेख्नुभएको पत्र चिनीया प्रमण्डलले पढेर सुनाएको थियो । पत्रमा चिनीया राष्ट्रपतिले दुबै मुलुकबीचको सम्बन्ध अहिले “गम्भीर मोडमा” आएको चर्चा गर्दै परस्पर सम्मानका आधारमा दुबै मुलुकले मिलेर कार्य गरिने उल्लेख छ ।
जवाफमा राष्ट्रपति ट्रम्पले दुबै मुलुकबीचको सम्बन्ध ज्यादै राम्रो रहेको बताउनुभयो ।
अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजर र अर्थमन्त्री स्टीभन मन्चिनले आगामी फेब्रुअरीको मध्यमा अर्को चरणको वार्ताका लागि चीनको भ्रमण गर्नुहुनेछ । सिन्ह्वाका अनुसार, राष्ट्रपति ट्रम्पले व्यापार वार्ता सम्पन्न भएपछि चिनीया राष्ट्रपतिलाई भेट्ने बताउनुभएको छ । त्यसपछि दुबै मुलुकबीच व्यापार सम्झौता हुनेछ ।
“सहमतिका बुँदाहरुलाई लिपिबद्ध गर्नु आवश्यक छ । हामीले अझै केही बुँदामा सहमति जनाइसकेका छैनौं । मेरो विचारमा त्यसमा सहमति हुनेछ । मेरो विचारमा म र राष्ट्रपति सीबीच भेटघाट हुनासाथ सबै बुँदामा सहमति हुनेछ,” राष्ट्रपति ट्रम्पले बताउनुभयो ।
चीनको अर्थतन्त्रमा निकै मन्दी आइसकेको र बजार खुम्चिएका कारण पनि वार्ताको महत्व अझ बढेको छ ।
गत वर्ष, वासिङ्टन र बेइजिङले एकअर्का मुलुकका ३६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका थिए ।
चिनीया गलत व्यापार अभ्यासलाई लिएर राष्ट्रपति ट्रम्पले चीन विरुद्ध व्यापार युद्ध नै शुरु गर्नुभएको थियो ।
व्यापार वार्ताको समयावधि बढाउने सम्भावनका बारेमा सोधिएको एक प्रश्नमा राष्ट्रपति ट्रम्पले भन्नुभयो, “मार्च १ तारिखको समयसीमा बढाउने बारेमा हामीले कुरा गरेका छैनौं । मेरो विचारमा तोकिएकै समयभित्र दुई देशबीच सम्झौता हुन्छ ।”
यसैबीच, चिनीया वार्ता टोलीको नेतृत्व गरिरहनुभएका चिनीया उपप्रधानमन्त्री लिउ हेले राष्ट्रपति ट्रम्पसँग बिहीबार भेटवार्ता गर्नुभएको छ । उहाँले प्रति दिन थप पचास लाख टन भटमास (सोयाबिन) खरिद गर्न चीन तयार रहेको राष्ट्रपति ट्रम्पलाई जानकारी गराउनुभएको थियो ।
जवाफमा राष्ट्रपति ट्रम्पले चीनको यस कदमले अमेरिकी किसान खुशी हुने बताउनुभयो ।
बेइजिङले यसअघि नै अमेरिकी सोयाबिन खरिद गर्न थालिसकेको छ । अमेरिकाबाट ठूलो परिमाणमा सोयाबिन चीन निकासी हुने गरेको छ ।
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा