वासिङ्टन, १८ माघ – संयुक्तराज्य अमेरिका र चीनबीच वासिङ्टनमा जारी व्यापार वार्तामा उल्लेखनीय प्रगति भएको दुबै देशका प्रतिनिधिहरुले बताएका छन् । चीन र अमेरिकाबीचको “व्यापार युद्ध” नाम दिइएको अमेरिकी करवृद्धि योजनाले विश्व अर्थतन्त्रमै पार्न सक्ने गम्भीर प्रभावलाई ध्यान दिई हाल दुबै मुलुकबीच वार्ता भइरहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी चिनफिङबीच जी–२० बैठकको अवसरमा अर्जेन्टिनाको ब्युनस आयर्समा भएको भेटवार्तामा दुबै मुलुकबीच तीन महिने व्यापार युद्धविराम घोषणा गरिएको थियो ।
आगामी मार्च १ तारिखभित्रै वार्ताद्वारा नयाँ सहमति नभए अमेरिकाले २०० अर्ब डलर बराबरका चिनीया सामानमा हाल लाग्दै आएको १० प्रतिशत करलाई वृद्धि गरी २५ प्रतिशतसम्म बनाउने घोषणा गरेको छ ।
दुबै देशका व्यापार प्रतिनिधिबीच वासिङट्न डिसीमा जारी वार्तामा उल्लेखनीय प्रगति भएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताउनुभएको छ । ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले चिनीया राष्ट्रपति सी चिनफिङले लेख्नुभएको पत्र निकै स्वागतयोग्य रहेको पनि बताउनुभयो ।
चीनको सरकारी सञ्चार माध्यम सिन्ह्वाले पनि दुबै देशका व्यापार प्रतिनिधिबीच दुई दिनको वार्तामा “महत्वपूर्ण प्रगति” भएको जनाएको छ । व्यापार वार्ताका लागि चीनका उपप्रधानमन्त्रीको नेतृत्वमा एक प्रतिनिधिमण्डल वासिङ्टन आएको छ ।
अर्थशास्त्रीहरुको भनाइमा आगामी मार्च १ तारिखको समयसीमाभित्र दुबै मुलुकबीच सम्झौता नभए त्यसले विश्व अर्थतन्त्रमा ठूलै नोक्सानी गर्नेछ । चिनीया राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति ट्रम्पलाई लेख्नुभएको पत्र चिनीया प्रमण्डलले पढेर सुनाएको थियो । पत्रमा चिनीया राष्ट्रपतिले दुबै मुलुकबीचको सम्बन्ध अहिले “गम्भीर मोडमा” आएको चर्चा गर्दै परस्पर सम्मानका आधारमा दुबै मुलुकले मिलेर कार्य गरिने उल्लेख छ ।
जवाफमा राष्ट्रपति ट्रम्पले दुबै मुलुकबीचको सम्बन्ध ज्यादै राम्रो रहेको बताउनुभयो ।
अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजर र अर्थमन्त्री स्टीभन मन्चिनले आगामी फेब्रुअरीको मध्यमा अर्को चरणको वार्ताका लागि चीनको भ्रमण गर्नुहुनेछ । सिन्ह्वाका अनुसार, राष्ट्रपति ट्रम्पले व्यापार वार्ता सम्पन्न भएपछि चिनीया राष्ट्रपतिलाई भेट्ने बताउनुभएको छ । त्यसपछि दुबै मुलुकबीच व्यापार सम्झौता हुनेछ ।
“सहमतिका बुँदाहरुलाई लिपिबद्ध गर्नु आवश्यक छ । हामीले अझै केही बुँदामा सहमति जनाइसकेका छैनौं । मेरो विचारमा त्यसमा सहमति हुनेछ । मेरो विचारमा म र राष्ट्रपति सीबीच भेटघाट हुनासाथ सबै बुँदामा सहमति हुनेछ,” राष्ट्रपति ट्रम्पले बताउनुभयो ।
चीनको अर्थतन्त्रमा निकै मन्दी आइसकेको र बजार खुम्चिएका कारण पनि वार्ताको महत्व अझ बढेको छ ।
गत वर्ष, वासिङ्टन र बेइजिङले एकअर्का मुलुकका ३६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका थिए ।
चिनीया गलत व्यापार अभ्यासलाई लिएर राष्ट्रपति ट्रम्पले चीन विरुद्ध व्यापार युद्ध नै शुरु गर्नुभएको थियो ।
व्यापार वार्ताको समयावधि बढाउने सम्भावनका बारेमा सोधिएको एक प्रश्नमा राष्ट्रपति ट्रम्पले भन्नुभयो, “मार्च १ तारिखको समयसीमा बढाउने बारेमा हामीले कुरा गरेका छैनौं । मेरो विचारमा तोकिएकै समयभित्र दुई देशबीच सम्झौता हुन्छ ।”
यसैबीच, चिनीया वार्ता टोलीको नेतृत्व गरिरहनुभएका चिनीया उपप्रधानमन्त्री लिउ हेले राष्ट्रपति ट्रम्पसँग बिहीबार भेटवार्ता गर्नुभएको छ । उहाँले प्रति दिन थप पचास लाख टन भटमास (सोयाबिन) खरिद गर्न चीन तयार रहेको राष्ट्रपति ट्रम्पलाई जानकारी गराउनुभएको थियो ।
जवाफमा राष्ट्रपति ट्रम्पले चीनको यस कदमले अमेरिकी किसान खुशी हुने बताउनुभयो ।
बेइजिङले यसअघि नै अमेरिकी सोयाबिन खरिद गर्न थालिसकेको छ । अमेरिकाबाट ठूलो परिमाणमा सोयाबिन चीन निकासी हुने गरेको छ ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?