सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात

अत्याधिक हिमपातपछि सेताम्य देखिएको सिमकोट । सदरमुकाम सिमकोटमा तीन फिट हिँउ परेको छ । तस्वीर – दाने बोहरा, हुम्ला, रासस

बैतडी, ८ माघ – मौसममा आएको परिवर्तनका कारण बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा आज बिहानदेखि हिमपात शुरु भएको छ ।

बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोड्पे, सतबाँझलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीको खोडपे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ । यस्तै दार्चुलाको उत्तरी क्षेत्रमा अपी, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, तिङ्करलगायतका ठाउँमा हिमपात भएको छ । डडेल्धुराको भीमदत्त राजमार्गको साहुखर्क, हगुल्टेलगायतका स्थानमा पनि हिमपात भएको हो ।

हिमपात भएसँगै पहाडी जिल्लामा चिसोका कारण जनजीवन प्रभावित भएको छ । हिमपातका कारण चिसो बढेकाले यो समयमा बालबालिका तथा वृद्धवृद्धाको विशेष ख्याल गर्नुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् । यो समयमा बालबालिकामा निमोनिया र वृद्धवृद्धामा दम, श्वासप्रश्वाससम्बन्धी रोग देखिन सक्ने भएकाले तातो तथा झोलिलो खानेकुरा खानुपर्ने स्वास्थ्यकर्मीले जोड दिएका छन् ।

हिमपातले हिउँदेबाली सप्रने भन्दै किसान खुशी भएका छन् । हिमपातले गहुँलगायतका हिउँदेबाली हुर्कन सहयोग गर्ने कृषि ज्ञानकेन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताउनुभयो । यसअघि गएको पुसको अन्तिम साता र मङ्सिर अन्तिम साता पनि सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको थियो ।

हिमपातका कारण भीमदत्त राजमार्ग अवरुद्ध

अमरगढी, ८ माघ – डडेल्धुरामा सोमबार राति परेको हिमपातले सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको यातयात ठप्प भएको छ ।

दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, डोटी, अछाम र बाजुराको मुख्य राजमार्ग मानिने भीमदत्त राजमार्गमा सोमबार रातिदेखि यातायात सेवा चलेको छैनन् । डडेल्धुरा जिल्लाअन्तर्गत पर्ने भीमदत्त राजमार्ग मेलखर्क, हगुल्डे, साउँ खर्क, भत्कडाँ, स्याउले बजारलगायत क्षेत्रमा करीब चार इन्च बाक्लो हिउँ जमेको छ ।

राजमार्गमा जमेको हिउँ हटाउन डोटीको बूडरबाट डोजर मगाइ सडक खुलाइने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा राजमार्गको हिउँ हटाउने र सडक खुलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । यस वर्ष यस क्षेत्रमा तेस्रो पटक हिमपात भएको हो ।

हुम्लामा सोमबार रातिदेखि हिमपात हुँदा जनजीवन कष्टकर बन्दै गएको । सदरमुकाम सिमकोटमा आवतजावत गर्न समस्या भएको छ । धेरैजसो पसल व्यवसाय बन्द रहेका छन । हवाई सेवासमेत बन्द रहेको छ । तस्वीर – दाने बोहरा हुम्ला, (रासस)

हुम्लामा भारी हिमपात

सोमबार रातिदेखि अचानक परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ । हुम्लामा सोमबार रातिदेखि हिमपात हुनुका साथै हुरी चलिरहेको छ । हिमपातले सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या बनाएको छ । अचानक सोमबार रातिदेखि हिमपात हुन थालेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ ।

अहिले सिमकोटमा झण्डै एक फिट हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ । हिमपातले जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनसमा पुग्नुको साथै आवतजावतसमेत बन्द भएको छ ।

हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोटलगायतका गाउँमा आवतजावत बन्द भएको छ । हिमपातका कारण सिमकोटलगायत उत्तरीे नाम्खा गाउँपालिकाको लिमी र मुचुका बासिन्दालाई घरबाट बाहिर निस्कनसमेत समस्या परेको छ । मुचुमा अहिलेसम्म झण्डै दुई फिट जति हिउँ जमेको छ ।

हिमपातले विद्यार्थीको ‘ट्युसन’ बन्द 

हिमपात हुँदा एसइई तयारी गर्न ‘ट्युसन’ पढ्ने विद्यार्थीको समेत बिहानको पढाइ बन्द भएको छ । जिल्लामा भारी हिमपात हुँदा पढाइ बन्द गर्नुपरेको मानसरोवर माविका शिक्षक धनबहदुर ऐडीले बताउनुभयो । यसअघि हिमपात हँुदा ‘ट्युसन’ सञ्चालन गरिए पनि सोमबार रातिदेखि हिमपातसँगै चलेको हुरीले पढाउन नसकिएको शिक्षक ऐडीले बताउनुभयो ।

बाजुरामा हिमपात

बाजुरामा हिमपात भएको छ । पुसको पहिला सातादेखि माघ दोस्रो सातासम्म जिल्लामा तीन पटक हिमपात भएको हो । पुसमा मात्र दुई पटक हिमपात भएको थियो ।

हिमपातले जिल्लाको जनजीवन कष्टकर बनेको छ । सोमबार मध्य रातिदेखि परेको हिमपातसँगै भारी वर्षाका कारण बाजुराका लेकाली बस्ती र हिमाल सेताम्य भएका छन् । हिमपात एकाएक भएको हो । दिनभर घाम लागेको थियो ।

मध्यरात एकाएक मौसम बदली भएर हिमपात भएको हो । जिल्लाका हिमाली गाउँपालिकाको रुगीन, बिच्छया, गौमुल गाउँपालिकाको दहकोट, मानाकोट, खप्तड छेडेदह गाउँपालिकाको काँडा, आटीचौर, त्रिवेणी नगरपालिकाको कैलाशमाडौँ, बूढीनन्दा नगरपालिकाको पाण्डुसैन, बडीमालिकाको डम्कने, रजातोली, जुगाडासहितका दर्जन बढी स्थानीय तहका लेकाली भेगमा हिमपात भएको छ ।

सदरमुकाम मार्तडीलगायतका तल्लो क्षेत्रमा अहिले भारी वर्षा भइरहेको छ भने सदरमुकाम नजिकैका बस्तीमा हिमपात भएको छ । हिमपात हुने क्रम अझै जारी छ । हिमपातले जनजीवन निकै कष्टकर बनेको स्थानीयवासीले बताएका छन् । सदरमुकाम मार्तडीका पसलहरू फाट्टफुट्ट खुलेका छन् ।

सदरमुकाम आसपासको जङ्गलमा झण्डै आधा फिट हिउँ जमेको छ । यहाँका मानिस घरमा आगो तापेर बसेका छन् । हिमपातले सबैभन्दा जिल्लाको उच्च भेगको जनजीवन नराम्ररी प्रभावित बनेको छ भने पोरखे लेकमा धेरै हिउँ परेका कारण मार्तडी कोल्टी सडकमा चल्ने ट्र्याक्टर र जीप सेवासमेत बन्द भएको स्वामिकात्तिक यातायात प्रालिका काउण्टर इन्चार्ज निशान्त रोकायाले जानकारी दिनुभएको छ । मान्छेको आवतजावतसमेत रोकिएको उहाँले बताउनुभयो ।

बाह्र वर्षपछि बेशीतिरसम्मै हिमपात

एक दशकभन्दा बढी सयमपछि बाजुराका बेशीतिरका क्षेत्रमा समेत हिमपात भएको छ ।

जिल्लाका हिमाली क्षेत्रमा हिमपात हुने गरे पनि १२ वर्षपछि पहिलो पटक कर्णाली नदी किनार सम्मै हिमपात भएको हो । विसं २०६३ मा एक पटक कर्णालीको सतहसम्मै हिमपात भएको थियो । त्यसपछि आज बिहान हिमपात भएको बूढीनन्दा नगरपालिका–१ का स्थानीयवासी जयबहादुर कार्कीले बताउनुभयो । समुन्द्री सहतदेखि ९५० मिटरको उचाइमा रहेको कर्णाली नदी किनारासम्म हिमपात भएको हो ।

सोमबार रातिबाट लगातार परेको वर्षासँगै हिमपात भएपछि किसान खुशी भएका छन् । हिमपातले खेतीपातीमा लागेका रोग कीरा मर्ने र अन्नबालीलाई फाइदा पुग्ने स्थानीयवासी अनवीर कठायतले बताउनुभयो । हिमपातले चिसो बढेको छ भने हवाई र सडक यातायात प्रभावित भएको छ । मुख्यतया सडक यातायात प्रभावित भएपछि अहिले स्थानीयवासीलाई आवातजावतमा कठिनाइ भएको छ । हिमपातपछि यहाँका नाङ्गाडाँडा सेताम्य भएका छन् ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री