बेलायती विश्वविद्यालय पनि ब्रेक्जिट मारमा, विद्यार्थी घटे


लन्डन । बेलायत ईयूबाट बाहिरिने समय नजिकिंदै गर्दा बहिगर्मनले शिक्षामा कस्तो प्रभाव पार्ला भन्ने चिन्ता शुरु भएको छ । संसारकै उत्कृष्ट विश्वविद्यालय अक्सफोर्ड, क्याम्ब्रीज आदि रहेको बेलायतमा ब्रेक्जिटपछि विद्यार्थी आगमन घट्ने सम्भावनाले वौद्धिक वृत्तमा चिन्ता थपिएको हो ।

ब्रिटेनस्थित विश्वविद्यालयका नेताहरुले बेलायत युरोपेली संघबाट बिना सम्झौता (नो डिल) बाहिरिए ईयूबाट पढ्न आउने विद्यार्थीहरुको संख्या अरु घट्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । रसेल ग्रुप भनिने २४ प्रतिष्ठित ब्रिटिश विश्वविद्यालयहरुको एक समूहले यो शैक्षिक सत्रमा पोष्ट ग्रयाजुयट अनुसन्धानमा भर्ना हुने ईयू मुलुकका विद्यार्थीहरुको संख्या ९ प्रतिशतले घटेको जनाएको छ । गत वर्ष पनि त्यस्तो संख्या ९ प्रतिशतले नै घटेको जनाइएको छ ।

द गार्डियन समाचारपत्रसंग कुरा गर्दै रसेल ग्रुपका एक वरिष्ठ नीति विश्लेषक डा. होलि च्यान्डलरले बिना कुनै सम्झौता ब्रिटेन ईयूबाट बाहिरिएमा युरोपेली मुलुकहरुबाट उच्च शिक्षाकालागि बेलायत आउने विद्यार्थीहरुको संख्या अरु घट्न सक्ने भन्दै चिन्ता व्यक्त गरे ।
ईयूले अहिले बेलायती विश्वविद्यालयमा वर्षेनी झण्डै १.३ बिलियन युरो खर्च गर्दै आएको छ ।

यसअघि ब्रिटेनका १५० वटा विश्वविद्यालयका नेताहरुले ब्रिटिश सांसदहरुलाई एउटा पत्र पठाउंदै बिना कुनै सम्झौता ब्रिटेन ईयूबाट बाहिरिए त्यसले प्राज्ञिक, सांस्कृतिक र वैज्ञानिक क्षेत्रमा ठूलो क्षति पुग्ने र त्यसको असर कम गर्न दशकौं लाग्नसक्ने चेतावनी दिएका थिए ।

ब्रिटेनका विश्वविद्यालयहरुले देशको अर्थतन्त्रमा २१ अर्ब पाउण्ड योगदान गर्दछन् र तिनले ९ लाख ४४ हजार जनालाई रोजगारी दिएका छन् ।

रसेल ग्रुपकै लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्य प्रसाद सुवेदी ब्रेक्जिटपछि विज्ञान, अनुसन्धान विषयमा ईयूले बेलायती विश्वविद्यालयमा गर्ने खर्चको हिस्सा घटेपनि समाजशास्त्र, कानुन जस्ता विषय पढ्न आउने विद्यार्थीमा भने कमी नहुने बताउंछन् । ‘बेलायतमा रहेका संसारका उत्कृष्ट विश्वविद्यालय अक्सफोर्ड, क्याम्ब्रीज आदिले विद्यार्थी आकर्षित 
गर्ने क्षमता राख्छन् भन्ने मलाई विश्वास छ’, डा. सुवेदीले भने, ‘बेलायतको पढाई घोकन्ते नभएकाले यसले सोच्ने शक्ति अभिवृद्धि र बौद्धिक बनाउंछ । बेलायती विश्वविद्यालयमा पढेका विद्यार्थीले संसारमा जहां गएपनि वौद्धिक नेतृत्व दिन सक्ने भएर उच्च शिक्षामा बेलायतको वर्चस्व कायमै रहनेछ ।’

बेलायती विश्वबिद्यालयमा अध्ययनरत नेपालीको संख्या यकिन त छैन् तर नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरण करिव ४ हजार रहेको बताउँछन् । ‘सन्  २००९-०१० तिर पढ्न भन्दा काम गर्ने सोचले आउने विधार्थी ओइरिएर यहाँ समस्या भए पनि अहिले त्यो अवस्था सुनिएको छैन्’, आरण भन्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री