वासिङ्टन, २८ मङ्सिर– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मृत्युदण्डको प्रयोगका पक्षमा खुलेर मन्तव्य राखेपनि संयुक्तराज्य अमेरिकामा यसको प्रयोगमा कमी आएको पाइएको छ । अमेरिकामा पछिल्ला वर्षहरुमा ऐतिहासिक रुपमै मृत्युदण्ड र सजायका घटनामा न्यूनता आएको छ ।
अमेरिकामा यस वर्ष सन् २०१८ मा २५ जनालाई मृत्युदण्ड दिइएको छ । बिहीबार मात्र फ्लोरिडा राज्यमा एक जनालाई मृत्युदण्ड दिइएको छ । यस वर्षका लागि यो नै अन्तिम मृत्युदण्ड रहेको मृत्युदण्ड सूचना केन्द्र (डीपीआईसी) ले जनाएको छ ।
“सन् २०१८ मा नयाँ मृत्युदण्डको सजाय सुनाइएको र मृत्युदण्ड दिइएको घटना ऐतिहासिक रुपमै सबैभन्दा न्यून हो,” डीपीआईसीले भनेको छ ।
मृत्युदण्डका घटनाहरुमा कमी आउनुको अर्को कारण हो वासिङ्टन राज्यले मृत्युदण्डलाई गैरकानुनी घोषणा गरेको छ र यस्तो गर्ने अमेरिकाको यो २० औं राज्य हो । बाँकी रहेका ३० वटा राज्यमध्ये पनि आठ वटा राज्यमा मात्र मृत्युदण्ड दिइएको छ । टेक्सस राज्यले सन् २०१८ मा वर्षभरि अमेरिकामा दिइएका मृत्युदण्डमध्ये आधाभन्दा बढी अर्थात् १३ जनालाई मृत्युदण्ड दिएको छ ।
अर्कोतर्फ मृत्युदण्डको सजाय सुनाइएकाहरुको संख्यामा पनि कमी आएको छ । सन् २०१८ मा ४२ जना विरुद्ध मृत्युदण्डको सजाय सुनाइएको छ । सन् १९९६ मा ३१५ जना विरुद्ध यस्तो फैसला सुनाइएको थियो ।
राष्ट्रपति ट्रम्पले पटकपटक मृत्युदण्ड दिइनुपर्ने भन्दै वकालत गरिआउनुभएको छ । “मन्दिर, चर्चमा निर्दोष नागरिकमाथि ज्यादती गर्ने जोसुकैलाई कठोर सजाय दिनै पर्दछ,” गत अक्टोबर २७ मा ट्रम्पले भन्नुभयो । अमेरिकाको पिट्सवर्गस्थित यहूदी प्रार्थना गृहमा ११ जनाको ज्यान जाने गरी भएको निर्मम आक्रमणपछि राष्ट्रपति ट्रम्पले यस्तो धारणा राख्नुभएको हो ।
राष्ट्रपति ट्रम्पले प्रहरीको हत्यामा संलग्न हुने तथा लागूऔषध नियन्त्रणमा खटिने व्यक्तिमाथि आक्रमण गर्नेहरुलाई पनि मृत्युदण्ड दिनुपर्ने बताउँदै आउनुभएको छ ।
अमेरिकी सर्वोच्च अदालतले सन् १९७२ मा मृत्युदण्डको प्रावधानलाई हटाएको थियो तर सन् १९७६ मा अदालतकै आदेशमा पुनः सक्रिय बनाइयो । त्यसयता, यसको प्रयोगमा कडाई गरिएको छ । सन् २००५ मा बालबालिकालाई मृत्युदण्ड दिन नपाइने नियम बनाइयो ।
पछिल्ला १० वर्षमा मृत्युदण्डका घटनाहरुमा कमी आएको छ । खासगरी मृत्युदण्ड दिँदा घातक सुईको प्रयोग गर्ने वा नगर्ने भन्ने कानुनी लडाइँ र सार्वजनिक बहसका कारण मृत्युदण्ड रोकिएका हुन् ।
मृत्युदण्डको सजायको विपक्षमा रहेकाहरुले घातक सुईको प्रयोग र त्यसमा प्रयोग हुने औषधिका सम्बन्धमा एकपछि अर्को उजूरी गरेका थिए । ठूला औषधि उत्पादक कम्पनीहरुले यस्तो घातक औषधि उपलब्ध गराउन पनि अस्वीकार गरेका थिए ।
यही कारण, सन् २०१८ मा विद्युतीय कुर्चीको पुनः प्रयोग गर्न थालियो । सन् २०१३ पछि पहिलो पटक टेनेसी राज्यमा विद्युतीय कुर्चीमा राखेर दुई जनालाई मृत्युदण्ड दिइएको छ ।
दुबै अवस्थामा, सजाय पाउने व्यक्तिले मृत्युदण्डका लागि विद्युतीय कुर्ची रोजेका थिए । सर्वोच्च अदालतकी प्रगतिशील न्यायाधीश भनेर चिनिनुभएकी सोनिया सोतोमायोरले मृत्युदण्डको सजाय फुकुवा गर्ने अदालतको आदेशमा विमति राख्नुभएको थियो ।
गत अक्टोबरमा गरिएको ग्यालप सर्वेक्षण अनुसार ५६ प्रतिशत अमेरिकीहरुले मृत्युदण्ड दिनुपर्ने अभिमत दिएका थिए । यो सन् २०१७ को झैं अवस्था हो, तर ४५ वर्षमा यो अभिमत सबैभन्दा न्यून हो ।
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने