आइजिपी उपाधि सैनिक विद्यालयलाई

नेपाल प्रहरी विद्यालय साँगाको आयोजनामा सञ्चालित २६औँ प्रहरी महानिरीक्षक (आईजिपी) अन्तर विद्यालय फुटवल रनिङ ट्रफी प्रतियोगिताको उपाधि विजेता भक्तपुरस्थित सैनिक आवासीय विद्यालयका विद्यार्थी बिहीबार खुसी मनाउँदै । तस्वीर – राजकुमार पराजुली, काभ्रेपलाञ्चोक, रासस

काभ्रेपलाञ्चोक, २७ मङ्सिर (रासस) – नेपाल प्रहरी विद्यालय साँगाको आयोजनामा सञ्चालित २६औँ प्रहरी महानिरीक्षक (आइजिपी) अन्तर विद्यालय फुटबल रनिङ ट्रफी प्रतियोगिताको उपाधि भक्तपुरस्थित सैनिक आवासीय विद्यालयले जितेको छ ।

बनेपा नगरपालिका–१३ स्थित नेपाल प्रहरी विद्यालय साँगाको खेल मैदानमा सम्पन्न प्रतियोगिताको विजेता सैनिक विद्यालय तथा उत्कृष्ट विद्यार्थीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले रनिङ ट्रफी तथा पुरस्कार प्रदान गर्नुभयो । आज भएको अन्तिम खेलमा सैनिक विद्यालयले आयोजक नेपाल प्रहरी विद्यालय साँगालाई ४–२ गोलले पराजित गरेको हो ।

विजेता सैनिक विद्यालयका सन्दिप गुरुङले खेलको २० मिनेटमा, विशाल आलेमगरले २६ मिनेटमा र ७२ मनेटमा तथा उत्तम शाहीले ५७ मिनेटमा गोल गरेका थिए भने प्रहरी विद्यालयका पुजन रानामगरले खेलको ३१ मिनेट र शेखर आलेमगरले ६७ मिनेटमा एक-एक गोल गरेका थिए ।

प्रतियोगितामा सैनिक विद्यालयका उत्तम शाहीलाई म्यान अफ दि म्याच, रोहित रानामगरलाई बेष्ट गोलकिपर र विशाल आलेमगरलाई हाई स्कोर तथा प्रहरी विद्यालयका निर्जल खरेललाई इमर्जिङ स्कोर र शेखर रानामगरलाई म्यान अफ दि सिरिज घोषणा गरिएको थियो । नकआउटका आधारमा सञ्चालित प्रतियोगितामा काभ्रेपलाञ्चोक तथा काठमाडौँ उपत्यकाका १२ विद्यालयको सहभागिता थियो ।

प्रतियोगितामा प्रथमलाई रु ३० हजार, द्वितीयलाई रु २० हजार र तृतियलाई रु १० हजार नगद प्रदान गरिएको थियो ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले विद्यार्थीले अनुशासनमा रही उत्कृष्ट खेल प्रदर्शन गरेकामा खुशी व्यक्त गर्दै “अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि अनुशासित तवरले लाग्नुहोस्, तपाईहरुको भविष्य उज्जवल छ, भन्नुभयो ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री