बेलायतका गुल्मेलीले च्यारिटीबाट उठाए १० हजार पाउण्ड

लन्डन । गुल्मी जिल्ला समाज यूकेले लन्डनमा एक च्यारिटी डिनर गरि आफ्नो कोषमा १० हजार पाउण्ड बढि संकलन गरेको छ ।
समाजले विश्व अपांगता दिवसको अवसरमा आइतबार लन्डन उलवीचस्थित लोटस क्लबमा च्यारिटी डिनर गरेको हो । समाजले हरेक वर्ष अपांगता दिवसमा च्यारिटी गर्दै आएको छ ।

समाजका कोषाध्यक्ष तारानाथ भण्डारीले कार्यक्रमका लागि सहयोगदाताहरुबाट ७ हजार ३ सय पाउण्ड तथा कार्यक्रमस्थलमा ३ हजार गरी कुल १० हजार ३ सय पाउण्ड सहयोग जुटेको जानकारी दिए ।

संकलित रकमबाट कार्यक्रमको खर्च कटाएर बांकी रकम सामाजिक काममा खर्च गरिनेछ । यो रकमको आधा रकम आशा अपांग केन्द्र तम्घास र बांकी रकम अन्य परोपकारी कार्यमा लगाइने समाजले बताएको छ ।

च्यारिटी कार्यक्रममा प्रथम नौमति बाजा गुल्मी, एनआरएनए यूके, मगर संघ यूके लगायतले पनि सहकार्य गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि लन्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव लव सुवेदीले बेलायतमा बसोबास गरिरहेका गुल्मेलीले आफ्नो जन्मभूमिलाई सम्झिएर सहयोगको हात बढाउनु 
सरहानीय कार्य रहेको बताए ।

विशेष अतिथि आशा अपांग केन्द्र तम्घासकी सञ्चालिका गंगा रायमाझीले झण्डै एक दशकदेखि गुल्मी जिल्ला समाज यूकेले लगातार केन्द्रलाई प्रदान गरिरहेको सहयोगका लागि आभार प्रकट गरिन् । पावरपोइन्ट प्रिजेन्टेसनमार्फत केन्द्रको अवस्था र गतिविधि देखाउंदै रायमाझीले समाजले मात्रै अहिलेसम्म ४० लाख रुपैंया भन्दा बढिको सहयोग केन्द्रलाई उपलब्ध गराएको जानकारी दिइन् ।

एनआरएनए यूकेका उपाध्यक्ष प्रेम गाहामगरले गुल्मी जिल्ला समाजले सामाजिक क्षेत्रमा उदाहरणीय कार्यहरु गरेको भन्दै यस्ता परोपकारी कार्यका लागि सहकार्य गर्न एनआरएन सधैं तयार रहेको बताए ।

कार्यक्रमका सभापति तथा समाजका अध्यक्ष राम गलामीले पवित्र उद्देश्य राखेर समाजले आयोजना गरेको कार्यक्रममा सहभागी हुने तथा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । आफू नेतृत्वको समाजको पांचौं कार्यसमितिले ३ वर्षको कार्यकालमा अहिलेसम्म नेपालमा ६९ लाख रुपैंयाको सहयोग पठाइसकेकोे जानकारी अध्यक्ष गलामीले गराए ।

कार्यक्रममा समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा र पूर्व अध्यक्ष अर्जुन गौतमले समाज स्थापनाको पृष्ठभूमिदेखि अपांगता दिवस च्यारिटी कार्यक्रमको अवधारणासम्मका विषयमा जानकारी गराएका थिए । दुवै खुट्टा गुमाएर पनि साहसिक पर्वतारोहण गरिरहेका भूपू गोर्खा हरि बुढा मगरले प्रेरणादायी मन्तव्य दिएका थिए ।

कार्यक्रममा विभिन्न अपांगता भएका कलाकारहरुले समेत प्रस्तुति दिएका थिए । उनीहरुमध्ये अमृता गिरी गजुरेलले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् भने बियंका पुनले गीत र एलिसा रानाले कविता वाचन गरेकी थिइन् ।

कार्यक्रममा काठमाडौंस्थित ग्रिन सिटी अस्पतालका निर्देशक एलबी टण्डनले आशा अपांग केन्द्र गुल्मीबाट आउने बिरामीलाई आफ्नो अस्पतालमा हरेक साल एक लाख  बराबरको उपचार गरिदिने बताए । कार्यक्रमको सुरुमा समाजका उपाध्यक्ष तथा पत्रकार फडिन्द्र भट्टराईले स्वागत मन्तव्य राख्दै उपस्थित सबैलाई समाजको तर्फबाट स्वागत गरेका थिए ।

महासचिव शिव भण्डारी र प्रवक्ता मञ्जु भण्डारीले आकर्षक शैलीमा कार्यक्रम सञ्चालन गरेका थिए । सचिव बीर बलालले हेल्थ एण्ड सेफ्टी ब्रीफ गराएका थिए । कवि रेशम अर्यालले अपांगता भएकाहरुको सम्मान र हौसलामा आफ्नो एक कविता वाचन गरेका थिए । मुस्कान घिमिरेले आकर्षक नाच देखाएकी थिइन् ।

कार्यक्रमको दोस्रो चरणमा लोकदोहोरी गायिका सुशीला गौतमले विभिन्न गीत प्रस्तुत गर्दै सहभागीलाई निकै बेर नचाएकी थिइन् । प्रथम नौमति बाजा यूकेको प्रस्तुतिमा समेत कार्यक्रमका सहभागीहरुले कम्मर मर्काएका थिए । अन्त्यमा डिजे हेम विष्टले समेत विभिन्न गीतहरु बजाएर नचाएका थिए ।

समाजले कार्यक्रममा प्रस्तुति दिने कलाकारहरु, अपांगता भएर पनि विभिन्न प्रेरणादायी कार्य गर्न सफल व्यक्तिहरु, समाजकी सदस्य माया केसी लगायतलाई सम्मान गर्दै प्रशंसापत्र वितरण गरेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगी र संस्थापक अध्यक्ष नवीन पोखरेल, बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष दिपक श्रेष्ठ र महासचिव अर्जुन कटुवाल, एनसीआई ग्रुप यूके अध्यक्ष मोहन गुरुङ, शान्ति नेपाली समाज बेलायतका अध्यक्ष लिलबहादुर थापा, पशुपति मन्दिर लण्डनका अध्यक्ष सहदेव गिरी, गल्कोट समाज यूकेका उपाध्यक्ष भोजराज कंडेल, एनआरएन यूके सल्लाहकारहरु दयानिधि सापकोटा, नरेन्द्र कंडेल, एलएन पाण्डे, पण्डित निलहरि घिमिरे लगायत विभिन्न संघसंस्थाका प्रमुख र प्रतिनिधिहरु अतिथि थिए ।

त्यस्तै, समाजका सल्लाहकारहरु मोती भण्डारी, बालजंग अर्याल, कमल भण्डारी, विनोद ज्ञवाली, केशव भण्डारी, दासुराम पाण्डे, रोमनाथ पाण्डे, रणबहादुर केसी, फत्त थापा, मीन दर्लामी, खड्क रेश्मी, दुर्गा पाण्डे, झपट भुजेल, मतिप्रसाद पुन लगायत पनि कार्यक्रममा उपस्थित थिए ।

कार्यक्रममा सहभागी हुन लण्डन र आसपासका क्षेत्रहरुबाहेक बर्मिङहम, नटिङहम, लेस्टर र वेल्स्बाट समेत गुल्मेलीहरु लन्डन आएका थिए ।

च्यारिटीमा ग्रीनविचस्थित माउन्टेन भ्यू रेष्टुरेन्टले स्वादिष्ट नेपाली खाना प्रबन्ध गरेको थियो ।

तस्विर- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री