एभरेष्ट टाइम्सको १० औं बार्षिकोत्सवमा शेर्पा, मच्छे देवीसहित ६ नेपाली सम्मानित

 

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कबाट प्रकाशन हुँदै आएको लोकप्रिय नेपाली पत्रिका ‘एभरेष्ट टाइम्स’ ले दशौं बार्षिकोत्सव मनाएको छ । न्यूयोर्कको क्वीन्सस्थित बेलेजिनो हलमा खचाखच भरिएको कार्यक्रममा न्यूयोर्क सिटी काउन्सिलको तर्फबाट काउन्सिल मेम्बर कोष्टा कोन्टनडिजले एभरेष्ट टाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पालाई विशेष सम्मान गरे ।

‘विगत १० वर्षदेखि अमेरिकी नेपाली समुदायमा एभरेष्ट टाइम्स पत्रिका मार्फत शेर्पाले गरेको योगदानको कदर गदै न्यूयोर्क सिटीबाट यो सम्मान गरिएको हो’ काउन्सिल म्यान कोष्टाले भने-‘अमेरिकामा नेपाली समुदायको सेवासंगै एक दशकदेखि एभरेष् टटाइम्सले समुदायमा पुरयाएको सेवाप्रति हामी निकै खुसी भएका छौ ।’

यसैबीच, काउन्सिल मेम्बर कोष्टाले नेपाल अमेरिका पत्रकार संघ नेजाकी कोषाध्यक्ष मच्छे गुरुङ सहित ६ जना नेपाली युवाहरुलाई सम्मान गरे । पत्रकारिता मार्फत नेपाली समुदायमा पुरयाएको योगदान महत्वपूर्ण रहेको भन्दै काउन्सिल मेम्बर कोष्टाले गुरुङसहित तेम्बा दोङमा हयोल्मो, नेत्र तामाङ, इन्दीरा चोङबाङ, पासाङ नुर्बु शेर्पा र रोज मोक्तानलाई पनि सम्मान पत्र प्रदान गरे । 

गुरुङले एक दशक भन्दा लामो समयदेखि पत्रकारिता मार्फत शासन संरचना, राजनीतिमा महिलाको सहभागिता र महिला अधिकारका बिषयमा आवाज उठाउँदै आएकी छन् । रेडियो सगरमाथामा महिला अधिकार र महिलासँग सम्बन्धित शिक्षा, स्वास्थ्य, रोजगारीमा महिलाको पहुँच र असल शासन र कानुनी सहायता सम्बन्धी विभिन्न बिषयमा सैयौं कार्यक्रम सञ्चालन गरेकी गुरुङ हाल अमेरिकाबाट प्रकाशित एभरेष्ट टाइम्स पत्रिकासँग आवद्ध छिन् । गुरुङ महिला अधिकारको क्षेत्रमा विशेष दख्खल राख्छिन् ।

नेपाली कन्सुलेटका कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले एभरेष्ट टाइम्सले प्रवासमा नेपाली भाषा, धर्म र सस्कृतिको संरक्षणको लागी महत्वपुर्ण योगदान पुरयाउदै आएकोमा प्रशंसा गरेका थिए । 

कार्यक्रममा एभरेष्ट टाइम्सले दशौं बर्षको अवसर पारेर प्रकाशित विशेषांक पुस्तिकाको प्रमुख अतिथि भट्टराईले विमोचन गरेका थिए । कार्यक्रममा एभरेष्ट टाइम्सका प्रबन्ध निर्देशक तेम्बा दोङबा ह्योल्मोले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा एभरेष्ट टाइम्सका सल्लाहकार डा. तारा निरौलाले एभरेष्टटाइम्सले एक दशक लामो यात्रा पार गरेकोमा बधाई तथा शुभकामना व्यक्त गर्दै नेपाली भाषा संरक्षण गर्नमा पुरयाएको सहयोगप्रति खुसी व्यक्त गरे । 

त्यस्तै सल्लाहकार आङदावा शेर्पाले दक्षिण एशियाकै पहिलो पत्रकारको रुपमा प्रधान सम्पादक शेर्पाले सगरमाथा आरोहण गरेर रेकर्ड राख्नुको साथै प्रवासमा पनि निरन्तर एक दशक लामो पत्रकारिता गरि समुदायलाई सचेत गराएको भन्दै पत्रिकाको सफलताको शुभकामना दिएका थिए । 

अधिवक्ता वासु फुलाराले पत्रिकाले नेपाली समुदायलाई सचेत गराएको भन्दै पत्रिकाले गदै आएको कार्यहरुको प्रशंसा गरे । 

कार्यक्रममा प्रधान सम्पादक शेर्पाले पत्रिका सञ्चालन गर्नु आफैमा चुनौतीपूर्ण काम भएकोले पत्रिका निरन्तरताको लागि समुदायले पुरयाएको सहयोगको लागि सबैलाई धन्यवाद व्यक्त गरे । 

वार्षिकोत्सवको अवसरमा नेपाल सरकारका प्रधानमन्त्री केपी ओली, अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कार्की, न्यूयोर्क सिटीका मेयर विल डे ब्लाजिओ, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी टुक्ती शेर्पा, इन्द्रावती गाउपालिका प्रमुख वंशलाल तामाङले बधाइ तथा शुभकामना पठाएका थिए । 

कार्यक्रममा प्रमुख अतिथि भट्टराई, काउन्सिल मेम्बर कोष्टा र पत्रिकालाई निरन्तर लेख रचना उपलब्ध गराउदै आएका व्यक्तित्वहरु आङ दावा शेर्पा, विके नेवा, फोटो पत्रकार अशोक पन्त, डिजाइनर अनिल रोका, पत्रकार विष्णु पौडेल र कानुन व्यवसायी खगेन्द्र क्षेत्री, गिरिजा गौतम, बासु फुलारा, व्यवसायी डिन्डु लामा ह्योल्मो र ग्याल्जेन नुरु शेर्पा लगायतलाई ‘टोकन अफ लभ’ (मायाको चिनो) प्रदान गरिएको थियो । 

कार्यक्रममा वाणिज्यदूत कृषु क्षेत्रीलगायत न्यूयोर्कमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार समुदायका अगुवाहरुको उपस्थिति थियो । 

दोश्रो चरणको कार्यक्रममा गायक गायिका जगदिश समाल, सपनाश्री, रेश्मा सुनुवारले आधुनिक र विमल डा गी  र निशा सुनुवारले लोक दोहोरी गीत गाएर सबैलाई भरपुर मनोरञ्जन गरेका थिए । त्यस्तै झन्कार डान्स सेन्टर र बसन्त डान्स सेन्टरका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । 

पहिलो चरणको कार्यक्रम मच्छे गुरुङ र दोश्रो चरणको कार्यक्रम विकी पुलामी र डोमा शेर्पाले सञ्चालन गरेका थिए । 

तस्विर- अशोक पन्त 

प्रतिक्रिया

सम्बन्धित सामाग्री