निर्मला हत्या प्रकरण: अनुसन्धान जारी, उपलब्धि शून्य

भीमदत्तनगर, २२ असोज – कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सुक्ष्म अनुसन्धानमा खटिएको प्रहरीले हालसम्म घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउनसकेको छैन ।

गत साउन १० गते साथीको घरबाट स्कूलको गृहकार्य सकेर घर जाँदै गरेकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो ।

मुलुककै ध्यान कञ्चनपुरमा केन्द्रित हुनुका साथै सबैतिर निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै विरोध एवं दवाव कार्यक्रमहरू भइरहेका बेला घटनाको अनुसन्धानमा खटिएको प्रहरीको अनुसन्धान टोली, प्रहरीकै केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)को टोलीले अनुसन्धान तीव्र पारे पनि अभियुक्त नजिक भने पुग्नसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाको नेतृत्वमा रहेको अनुसन्धान टोली पनि लामो समयदेखि घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।

त्यसैगरी घटना अनुसन्धानकै लागि सिआइबीका वरिष्ठ प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवाली केही साताअघि कञ्चनपुरमै रहेर अनुसन्धान गरिरहेका छन् । तर घटना भएको अढाइ महिना बितिसक्दा पनि प्रहरी अनुसन्धान उपलब्धिबिहीन रहेको प्रहरी स्रोतले जनाएको छ ।

सिआइबीले घटनामा संलग्न हुनसक्ने आशङ्का भएका करीब एक दर्जन व्यक्तिमाथि सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरी स्रोतले जनाएको छ । त्यसका साथै राष्ट्रिय अनुसन्धानलगायत प्रहरीभित्रै विभिन्न टोली बनाएर केन्द्रबाट परिचालनसमेत गरिएको छ ।

“घटनाको सुरुवातमै कञ्चनपुर प्रहरी नेतृत्वबाट भएको गम्भीर लापरवाहीकै कारण अहिलेसम्म हत्यारासम्म पुग्न सकस भएको हो ।” प्रहरी स्रोतले भन्यो, “शव भेटिएका बेला गम्भीरताका साथ अनुसन्धान थालेको भए अहिले यस्तो अवस्था नै आउने थिएन ।”

सुरुवातकै त्रूटीका कारण अहिले अनुसन्धानमा समस्या भएको अनुसन्धान अधिकारीको भनाइ छ । घटनाको अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयमै झिकाएर प्रहरी नायब महानिरीक्षक धिरु बस्नेत नेतृत्वको टोलीले घटनाबारे छानबिन गरिरहेको छ । केही समयअघि प्रहरी प्रधान कार्यालयबाटै घटना अनुसन्धानको समन्वयकारी भूमिका निभाउन प्रहरी उपरीक्षक दुर्गासिंह चन्द भीमदत्तनगर आइपुग्नुभएको छ ।

कञ्चनपुरमा महिला तथा विभिन्न दवाव समूहले निर्मलाको हत्यारा सार्वजनिक गर्न दिनहुँ प्रर्दशन गरिरहेका छन् । आन्दोलनरत यहाँका महिला अधिकारकर्मीलाई आइतबार नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले पनि ऐक्यवद्धता जनाउनुभयो । उहाँले निर्मलाले न्याय नपाएसम्म दवाव दिनुपर्ने आवश्यकता औँल्याउँदै आफू र आफ्नो पार्टी त्यसका निम्ति लागिरहने बताउनुभयो ।

घटनामा संलग्न भन्दै यसअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख (हाल निलम्वित) प्रहरी उपरीक्षक डिल्लीराज विष्टले सार्वजनिक गरेका भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टको डीएनए रिपोर्ट नमिलेपछि उनी साधारण तारेखमा रिहा भएका थिए । घटनामा संलग्नताको आरोप स्थानीयवासीले लगाएपछि केही समयअघि प्रहरी उपरीक्षक विष्ट, उहाँका छोरा किरणराज विष्ट र भीमदत्तनगरकै युवा आयुश विष्टको समेत डीएनए परीक्षण गरिएको थियो । तीनै जनाको रिपोर्ट नमिलेपछि घटनाको अनुसन्धान थप जटिल बन्दै गएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुवेर कडायतले घटनाको अनुसन्धान भइरहेको बताउँदै केही तथ्य फेला नपरेको बताउनुभयो । “हामी सुक्ष्म रूपमा दिनरात खटिएर लागेका छौँ ।” कडायतले भन्नुभयो, “अनुसन्धानमा केही नयाँ तथ्य आएको छैन ।”

दुई प्रहरी निलम्वनमा

निर्मला पन्तको हत्याबारे अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी नायब निरीक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्वनमा परेका छन् ।

प्रहरी प्रधान कार्यालयले कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया पन्तको हत्याबारे छानविन समितिको सिफारिशमा घटनास्थल अनुसन्धान अधिकृतका रुपमा खटिएका धामी र साउदलाई निलम्वन गरेको हो । प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले अनुसन्धानका क्रममा गम्भीर लापरवाही गरेको पाइएकाले धामी र साउदलाई निलम्वन गरिएको जानकारी दिनुभयो ।

दुवै जनालाई प्रहरी नियमावली २०७१ को नियम ११५ को उपनियम ६ (क) र (ग) अनुसार निलम्वन गरिएको हो । घटनामा दोषी देखिएको भन्दै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित पाँच जनालाई यसअघि निलम्वन गरिसकेको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री