
प्रधानमन्त्री केपी शर्मा ओली सोमबार कोस्टारिकाको लस सान्तोस, इओलिका पार्कस्थित पिरिस जलविद्युत संयन्त्रको निरीक्षणका क्रममा जानकारी लिँदै । साथमा धर्मपत्नी राधिका शाक्यलगायत । तस्वीर -सुरेन्द्रबहादुर नेपाली, सान होजे, रासस
सान होजे, १५ असोज – प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोस्टारिकाको लस सान्तोस, इओलिका पार्कस्थित पिरिस जलविद्युत्् संयन्त्र निरीक्षण गर्नुभयो ।
इओलिक पार्क आइपुग्दा प्रधानमन्त्री ओलीलाई संयन्त्रका प्रमुख इञ्जिनीयर जर्मन युरेना, डिबी एरियासले स्वागत गर्नुका साथै संयन्त्रका बारेमा जानकारी दिनुभयो । यसैगरी ‘कोस्टारिकन इलेक्ट्रिसिटी कर्पोरेसन’ (आइसीइ)का निर्देशक रोबेर्तो किरोसले सो परियोजनाका अन्य पक्षका बारेमा जानकारी गराउनुभएको थियो ।
कोस्टारिकाको ऊर्जा उत्पादनको ९८.१ प्रतिशत भाग नवीकरणीय ऊर्जाले ढाकेको छ । यीमध्ये पनि ८० प्रतिशत ऊर्जा जलविद्युत््बाट प्राप्त हुन्छ । यस मुलुकमा सामान्यतया हरेक वर्ष करीब ७५ दिन उर्जाको मागको १०० प्रतिशत नवीकरणीय ऊर्जाले पूर्ति गर्छ । आइसीइले पानी, पृथ्वीको ताप, हावा, सूर्य र जैविक इन्धनका आधारमा ऊर्जा उत्पादन गर्छ । यस संस्थाले सहायक ब्याकअपका लागि मात्र हाइड्रोकार्बन ऊर्जा उपयोग गर्ने गर्छ । आइसीईको सबैभन्दा ठूलो परियोजना राष्ट्रिय विद्युत् प्रणालीमा आरेनल, काची, आङ्गोस्तुरा, पिरिस तथा रेभेन्ताजोन गरी चारवटा जलविद्युत् परियोजना छन् जसमा जलाशयसमेत छ ।
यसैगरी पृथ्वीको तापका आधारमा मिराभालेस जियोथर्मल तथा लास पाइलास जियोथर्मल प्लान्ट गरी दुई परियोजना पनि यस संस्था अन्तर्गत छन् । आइसीइअन्तर्गत वायु ऊर्जा प्रणाली पनि छन् । यस संस्थाको क्यान बाग्यासे आयोमास ऊर्जा संयन्त्र कोस्टारिकाको उत्तरपश्चिमी भागमा अवस्थित छ । कोस्टारिकामा आईसीईले कुल उर्जाको ७०.२७ प्रतिशत उत्पादन गर्छ भने व्यापारिक समुदायले १०.२५ प्रतिशत, निजी क्षेत्रले ९.२९ प्रतिशत र ‘बनाउ, सञ्चालन गर हस्तान्तरण गर’ (बुट) प्रणालीमा १०.१८ प्रतिशत उत्पादन गर्छन् ।
कोस्टारिकाले गुआटेमाला देखि एल साल्भाडोर, होन्डुरस, निकारागुवा भएर पानामासम्म विद्युतऊर्जा विक्री गर्छ र यसका लागि उनीहरूबीच विद्युत वितरण प्रणाली छ । पिरिस जलविद्युत्् संयन्त्रले १३४ मेगावाट विद्युत् उत्पादन गर्छ र यो पिरिस नदीमा आधारित बाँधयुक्त जलविद्युत् परियोजना हो । कोस्टारिकाको कुल जलविद्युत् उत्पादन क्षमता तीन हजार ३९ मेगावाट रहेको अनुमान गरिएको छ । सन् २०१४ मा यस मुलुकले दुई हजार ७३२ मेगावाट उत्पादन गर्नसक्ने संयन्त्र स्थापना गरिसकेको छ । यस मुलुकको ऊर्जाको अर्को स्रोत भनेको भौगर्भिक ताप उर्जा हो ।
प्रधानमन्त्री ओलीले आजै सहकारीमा आधारित वायुऊर्जा परियोजना कोपासान्तोसको पनि निरीक्षण गर्नुभयो । उहाँलाई कोपासान्तोसका अध्यक्ष तथा महाप्रवन्धकले वायुऊर्जाका विषयमा जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री ओलीले वायुऊर्जाका विण्ड टर्बाइनको पनि निरीक्षण गर्नुभयो । कोपासान्तोसको एक टर्बाइनले ८५० किलोवाट विद्युत् उत्पादन गर्ने तथा त्यसको लागत २८ लाख अमेरिकी डलर पर्ने जानकारी दिइयो । यस संस्थासँग हाल १७ वटा यस्ता टर्बाइन रहेको जानकारी दिइएको छ ।
गणतन्त्र कोस्टारिका मध्यअमेरिकी मुलुक हो । यसको उत्तरी भागमा निकारागुवा, उत्तरपूर्वी भागमा क्यारेबियन सागर, दक्षिणपूर्वमा पानामा, दक्षिणपश्चिममा प्रशान्त महासागर तथा दक्षिणमा इक्वेडोर रहेका छन् । एकाउन्न हजार ६० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस मुलुकको जनसङ्ख्या ४९ लाख रहेको छ । राजधानी सान होजेको जनसङ्ख्या तीन लाख भएको अनुमान गरिएको छ ।
कोस्टारिका स्थिर प्रजातन्त्र भएको मुलुकका रूपमा चिनिन्छ । यहाँ निकै शिक्षित र अङ्ग्रेजी भाषा बोल्ने जनशक्ति छ । यस मुलुकले शिक्षामा निकै लगानी गरेको देखिन्छ । यो मुलुक पनि कृषिमा निर्भर छ । हाल यसले वित्त, विदेशी कम्पनीका लागि सेवा (स्वतन्त्र व्यापार क्षेत्रका आधारमा), औषधि उत्पादन तथा पर्यावरणीय पर्यटनको क्षेत्र विस्तार गरेको छ । प्रधानमन्त्री ओलीको साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य रहनुभएको थियो । उक्त अवसरमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीको उपस्थिति थियो ।
प्रधानमन्त्री रात्रिभोजमा सहभागी
प्रधानमन्त्री ओली कोस्टारिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीले प्रधानमन्त्री तथा उहाँको नेतृत्वमा आएको नेपाली प्रतिनिधि मण्डलको सम्मानमा आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभयो ।
कार्यक्रममा कोस्टारिकामा युनाइटेड वल्र्ड कलेजमा अध्ययनरत नेपाली विद्यार्थीले नेपाली गीत तथा नृत्य प्रस्तुत गरेका थिए । प्रधानमन्त्री ओलीको साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य रहनुभएको थियो ।
प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा उहाँका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहनुभएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक