बेइजिङ, २८ भदौ – केही समयदेखि अमेरिका र चीनबीच व्यापारिक विवाद चुलिँदै गएको अवस्थामा अमेरिकाले राखेको नयाँ व्यापार वार्ता प्रस्तावलाई चीनले स्वागत गरेको छ । विश्वका दुई ठूला अर्थतन्त्र रहेका चीन र अमेरिकाबीचको विवादले व्यापार युद्धकै रुप लिने अनुमान गरिएको थियो ।
महिनौंदेखि चीन र अमेरिकाले एकअर्का विरुद्ध प्रतिशोध स्वरुप करबृद्धिको घोषणा गरिरहेका थिए । तर बुधबार अमेरिकी अर्थमन्त्री स्टीभेन मुन्चिनले व्यापार विवादका विषयमा छलफल गर्न उच्च चिनीया अधिकारीलाई वासिङ्टन आमन्त्रण गर्नुभएको छ ।
“चिनीया पक्षको के विश्वास छ भने व्यापारिक विवाद बढ्दै गएमा त्यो कुनै पनि पक्षको हितमा हुने छैन,” बेइजिङमा आयोजित नियमित पत्रकार भेटघाटमा चिनीया बाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेङले बताउनुभयो ।
बेइजिङले अमेरिकाको निमन्त्रणा प्राप्त गरेको साँचो हो र त्यसलाई हामीले स्वागत गरेका छौं, गाओले भन्नुभयो । उहाँले दुबै पक्षले छलफलमा उठाइने खासखास विषयमा कुराकानी अगाडि बढाइसकेको जानकारी पनि दिनुभयो ।
चीनमा रहेका अमेरिकी कम्पनीमाथि अमेरिकी करबृद्धिको असर पर्न थालेको समाचार आएसँगै अमेरिकाले वार्ताका लागि आमन्त्रण गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट हुने ५०० अर्ब अमेरिकी डलर बराबरको आयातमा करबृद्धि गर्ने चेतावनी दिएको एक सातापछि नै अर्थमन्त्री मुन्चिनको नयाँ वार्ता प्रस्ताव आएको छ ।
वार्ताको प्रस्ताव सार्वजनिक भएलगत्तै एसियाली सेयर बजारमा सकारात्मक प्रभाव परेको छ । साताका पूरै छ दिन ओरालो लागेको हङकङ सेयर बजारमा सुधार आई २.५ प्रतिशत विन्दुले वृद्धि भएको छ भने शाङघाइ सेयर बजारमा एक प्रतिशतले वृद्धि भएको छ ।
ट्रम्पले पहिलो चरणमा करिब ५० अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानमा करबृद्धिको घोषणा गरिसक्नुभएको छ । करबृद्धिको चपेटामा उच्च प्रविधिका पार्टपूर्जा र उत्पादित सामग्री छन् । बेइजिङले समेत प्रतिशोध स्वरुप सोही रकम बराबरको अमेरिकी सोयाबिन, सवारीसाधन र अन्य कृषिजन्य वस्तुमा करबृद्धि गरेको छ ।
ह्वाइट हाउसका वरिष्ट आर्थिक सल्लाहकार ल्यारी कुड्लोले फक्स न्यूज नेटवर्कसँगको कुराकानीमा भन्नुभयो, “अर्थमन्त्री मुन्चिनले निमन्त्रणा दिनु भएको छ । संवादहीन हुनुको साटो कुराकानी गर्नु नै राम्रो हो । त्यसैले यो मलाई राम्रै लागेको छ ।”
अमेरिकी राष्ट्रपतिले थप २०० अर्ब डलर बराबरका चिनीया सामानमा २५ प्रतिशत करबृद्धि गर्ने चेतावनी दिइरहेको अवस्थामा दुई देशका अधिकारीबीच हुने वार्तामा यस विषयले पनि प्राथमिकता पाउने सम्भावना छ ।
अमेरिकाले करबृद्धिको घोषणा गरे बेइजिङले पनि करिब ६० अर्ब डलर बराबरका अमेरिकी सामानमा २५ प्रतिशत करबृद्धि गर्ने चेतावनी यसअघि नै दिइसकेको छ ।
दुबै देशका व्यवसायीहरुले वासिङटनलाई करबृद्धिका सम्बन्धमा पुनर्विचार गर्न आग्रह गरिरहेका छन् ।
आधाभन्दा बढी अमेरिकी कम्पनीहरुले व्यापारिक विवाद बढ्दै गएपछि पछिल्ला दिनहरुमा अमेरिकी कम्पनीमाथि कडा नियमन गर्ने, निरीक्षण गर्ने तथा भन्सारमा विलम्ब गर्नेजस्ता दुःख दिन थालेको एक सर्भेक्षणमा देखिएको छ ।
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत