लन्डनमा धर्म गुरु खेम्पो शिर लामाबाट साङ पूजापाठ तथा 
प्रवचन

लन्डन । तमु समाज युकेले बेलायत भ्रमणमा रहेका बौद्ध 
अर्घौं सदन पोखराका प्रमुख लामा तथा गुरुङ (तमु) लामा बौद्ध धर्म समाजका संस्थापक एवं केन्द्रिय अध्यक्ष श्रद्धेय धर्म गुरु खेम्पो शिर लामा तमु (थुब्तेन येशे) बाट साङ सेरकेम, गण चक्र छोग मार्में पूजा तथा प्रवचन कार्यक्रम गरेको छ ।

लन्डन वेम्ली बरहाम पार्कस्थित तमु समाज युके नेपलिज कम्युनिटी सेन्टरमा गत शनिबार १ सेप्टेम्बर २०१८ मा कार्यक्रम भएको हो ।

कार्यक्रममा तमु समाज युकेले प्रमुख अतिथि श्रद्धेय धर्म गुरु खेम्पो शिर लामा तमु (थुब्तेन येशे) लाई विशेष ब्यवस्था गरि कार्यक्रम स्थलमा भव्य स्वागत गरेको थियो ।

तमु समाज युकेका अध्यक्ष शिवचन्द्र गुरुङको अध्यक्षता र उपाध्यक्ष कन्य प्रसाद गुरुङको संयोजनमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव हर्क बहादुर गुरुङले गरेका थिए ।

प्रमुख अतिथि श्रद्धेय धर्म गुरु खेम्पो शिर लामा तमु (थुब्तेन येशे), समाजका अध्यक्ष शिव चन्द्र गुरुङ, आमा समूहकी अध्यक्ष बिन्दु घले र कार्यक्रम संयोजक तथा उपाध्यक्ष कन्य प्रसाद गुरुङ बाट संयुक्तरुपमा दीप प्रज्वलन गरि कार्यक्रम शुभारम्भ गरिएको थियो ।

कार्यक्रमको प्रारम्भमा महासचिव हर्कबहादुर गुरुङले हेल्थ एण्ड सेफ्टीबारे जानकारी दिएका थिए । सो अवसरमा कार्यक्रम संयोजक तथा उपाध्यक्ष कन्य प्रसाद गुरुङले स्वागत मन्तब्य र पूर्व अध्यक्ष तथा शिवशरण गुरुङले श्रद्धेय धर्म गुरु खेम्पो शिर लामा तमु 
(थुब्तेन येशे) को जिवनीबारे संक्षिप्त जानकारी दिएका थिए ।

कार्यक्रमको पहिलो चरणमा प्रमुख अतिथि, देवाचन बुद्धिष्ट सेन्टर युकेका प्रमुख लामा धरम गुरुङ, तमु समाज युकेका सल्लाहकार लेक्चरर लामा प्रेम गुरुङ र अन्य दुईजना स्थानीय लामाबाट साङ सेरकेम, गण चक्र छोग मार्में पूजा सञ्चालन भएको थियो ।

दोस्रो चरणमा प्रमुख अतिथि श्रद्धेय खेम्पो शिर लामा तमु (थुब्तेन येशे) ले बौद्ध शिक्षा, दर्शन, जन्म र मृत्यु कर्मकाण्डबारे प्रवचन दिएका थिए भने कार्यक्रमको अन्तिम चरणमा उपस्थित सबैले धर्मगुरुहरुबाट अभिषेक तथा प्रसाद ग्रहण गरेका थिए ।

कार्यक्रममा समाजका अध्यक्ष शिब चन्द्र गुरुङ र आमा समूहकी अध्यक्ष बिन्दु घलेले श्रद्धेय धर्म गुरु खेन्पो शिर लामा तमु (थुब्तेन येशे) लाई तमु समाज युके विशिष्ट समाज सेवा सम्मान २०१८, पुष्प गुच्छा र समाजको लोगो अंकित खादाबाट सम्मान गरे ।

श्रद्धेय धर्मगुरु खेन्पो शिर लामा तमु (थुब्तेन येशे) ले गुरुङ (तमु) लामा बौद्ध धर्मको इतिहासमा प्रथम ‘खेन्पो’ उपाधि पाएका व्यक्ति हुनुका साथै एक प्रखर बौद्ध दर्शन प्रवचनकै कारण स्वदेश तथा विदेशका विभिन्न ठाउंमा अनवरत रुपमा भगवान बुद्धले देखाएका मार्गमा आधारित बुद्धका दर्शन र ज्ञानका अति महत्वपूर्ण पूजा र प्रवचनहरुबाट बुद्ध धर्मको शिक्षा क्षेत्रमा बुद्ध धर्मालम्बी समुदायलाई गरेको अतुलनीय योगदानको उच्च कदर गर्दै ‘तमु समाज युके विशिष्ट समाज सेवा सम्मान २०१८’ प्रदान गरिएको हो ।

उक्त कार्यक्रममै तमु समाज युकेले पोखरा बौद्ध अर्घौं सदनमा निर्माणधिन बौद्ध गुम्बाको सहयोगार्थ दुई हजार ७० पाउन्डको चेक पनि प्रदान गरेको थियो ।

त्यसैगरि हातेमालो आमा समूह युके र ब्यक्तिगतरुपमा संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, अध्यक्ष शिव चन्द्र गुरुङ र सल्लाहकार सुवासिङ गुरुङ बीइएमले पनि निर्माणधिन बौद्ध गुम्बाको सहयोगार्थ आर्थिक सहयोग प्रदान गरेका थिए ।

मन्तब्य राख्ने क्रममा प्रमुख अतिथि श्रद्धेय खेम्पो शिर लामा तमु (थुब्तेन येशे) ले तमु समाज युकेले गरेको पवित्र पूजा तथा प्रवचन कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफूले प्राप्त गरेको स्वागत तथा सम्मान र बौद्ध अर्घौ सदन पोखरामा निर्माणधिन बौद्ध गुम्बाको सहयोगार्थ तमु समाज युकेले गरेको आर्थिक सहयोगका निम्ति खुशी र आभार प्रकट गरे । उनले तमु समाज युकेलाई उत्तरोउत्तर प्रगतिको शुभकामना सहित हार्दिक कृतज्ञता ब्यक्त गरेका थिए ।

मन्तव्यकै क्रममा प्रमुख अतिथिले बौद्ध अर्घौ सदन पोखरामा निर्माणधिन वृहत बौद्ध गुम्बा निर्माण परियोजना र यसमा सञ्चालित बौद्ध धर्म शिक्षा प्रशिक्षणको भावी योजनाबारे पनि प्रकाश पारेका थिए ।

अत्यन्तै सौहाद्र तथा पारिवारिक वातावरणमा सम्पन्न भएको उक्त कार्यक्रममा तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, पूर्व अध्यक्ष शिवशरण गुरुङ, निवर्तमान अध्यक्ष अर्जुन कुमार गुरुङ, सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरु, तमु समाज युकेका सदस्यहरु, आमा समूहकी अध्यक्ष बिन्दु घले, आमा समूहकी निबर्तमान अध्यक्ष माया गुरुङ लगायत आमा समूहका अन्य पदाधिकारी तथा आमाहरु, युवा समूहका अध्यक्ष लगायत युवायुवती, हातेमालो आमा समूह युके र जेष्ठ नागरिकहरुको उल्लेख्य उपस्थिति थियो । उक्त कार्यक्रमको अन्तमा अध्यक्ष शिव चन्द्र गुरुङले धन्यबाद दिंदै समापन गरेका थिए ।

उक्त विशेष पूजा तथा प्रवचन कार्यक्रमका निम्ति स्वस्फूर्त श्रद्धाभावपूर्वक विभिन्न महानुभावहरुले प्रदान गरेको आर्थिक दान र भोजनबाट उपस्थित सबैलाई आमा समूहले निशुल्क खाजा र खानाको ब्यवस्थापन गरेका थिए ।

कार्यक्रम आयोजनामा आरम्भ देखि अन्त सम्म खेलकुद तथा खाद्य सचिव हरिमान गुरुङको विशेष भूमिका थियो । उनले कार्यक्रममा उपस्थित सबैलाई निशुल्क जलपानको ब्यवस्था गरेका थिए ।

कार्यक्रमको भिडियो तथा फोटोग्राफी आजीवन सदस्य विसन गुरुङले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री