एशियाडमा पदक विजेता खेलाडी सम्मानित

इन्डोनेशियाको जाकर्तामा सम्पन्न १८ औँ एसियाली खेलकुद प्रतियोगितामा पुरुष पाराग्लाईडिङ खेलमा रजत पदक प्राप्त गर्ने खेलाडीहरुलाई सोमबार काठमाडौँमा गरिएको सम्मानपछि सामूहिक तस्बिरमा । तस्बिर – नवीन पौडेल, रासस

काठमाडौँ, १८ भदौ – इन्डोनेशियामा सम्पन्न १८ औँ एशियाली खेलकुदमा नेपालाई रजत पदक दिलाउने प्याराग्लाइडिङ खेलाडीलाई आज यहाँ नगदसहित सम्मान गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदसय सचिव केशवकुमार विष्ट, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले प्याराग्लाइडिङ खेलाडीलाई जनही रु पाँच लाख, खेल सङ्घलाई रु पाँच लाख, मुख्य प्रशिक्षकलाई रु तीन लाख र सहायक प्रशिक्षकलाई रु एक लाख ५० हजारसहित सम्मानपत्रद्वारा सम्मान गर्नुभयो ।

इन्डोनेसियामा भएको १८ औँ एसियाडअन्तर्गत प्याराग्लाइडिङ पुरुष टिम क्रस कन्ट्री इभेन्टमा नेपालले २० वर्षपछि रजत पदक जितेको थियो । पुरस्कृत हुनेमा विमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ, विशाल थापा तथा मुख्य प्रशिक्षकमा योगेश भट्टराई र सहायक प्रशिक्षक सानुबाबु श्रेष्ठ हुनुहुन्छ ।

त्यसैगरी रजत पदक दिलाउने नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ संघलाई रु पाँच लाख तथा खेल व्यवस्थापक शैलेश राउतलाई सम्ममानपत्रद्वारा सम्मान गरियो । सोही अवसरमा प्याराग्लाइडिङको महिलातर्फ छैटौँ स्थान हासिल गर्ने महिला खेलाडीलाई समेत मायाको चिनो प्रदान गरियो । सम्मानअघि खेलाडीलाई नगर परिक्रमा गराइएको थियो । इन्डोनेसियाको जकार्ता र पालेम्बाङमा भएको एशियाडमा नेपालबाट २९ खेलमा १८५ खेलाडीले सहभागिता जनाए पनि प्याराग्लाइडिङमा मात्र नेपालले पदक जित्न सफल भएको हो ।

कार्यक्रममा मन्त्री विश्वकर्माले एशियाडमा आशा गरिएका खेलबाट पदक ल्यउन नसेकोप्रति आलोचना गर्दै त्यसको गम्भीर समीक्षा हुनुपर्ने बताउनुभयो । विकासका हिसाबले पछि परेका मुलुकलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने खेल क्षेत्र शसक्त माध्य भएको बताउँदै उहाँले मुलुकको पहिचान अन्तर्राष्ट्रियस्तरमा स्थापिपत गर्न नेपालको खेल क्षेत्रको विकास आवश्यक भएकोमा जोड दिनुभयो ।

प्याराग्लाइटिङ खेलको विकास गर्न पर्यटन मन्त्रालय र खेलकुद मन्त्रालयले योजना बनाइरहेको उहाँको भनाइ थियो । नेपाली खेलाडीले उचित प्रशिक्षण अझै प्राप्त गर्न नसेको बताउँदै उहाँले सरकारको ध्यान अब खेलाडीलाई उचित प्रशिक्षण उपलब्ध गराउनेतिर केन्द्रित हुने बताउनुभयो ।

राखेप सदस्य–सचिव विष्टले नेपालको भुगोलको तुलनामा एसियाडमा समावेश भएको नेपाली खेलाडी संख्या धेरै भएको स्वीकार गर्दै नेपालमै हुने दक्षिण एसियाली खेलकुदको तयारीका लागि पनि एशियाडमा धेरै खेलाडी सहभागी गराइएको बताउनुभयो । उहाँले आगामी कात्तिक २५ देखि २९ गतेसम्म पोखरामा प्याराग्लाइडिङको वल्ड च्याम्पियनशीप आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले आफू सदस्य–सचिव भएका बेला खेल सङ्घको रुपमा दर्ता गरेको खेलले १८ औँ एशियाडमा नेपालको इज्जत राख्न सफल भएको बताउनुभयो । रजत पदक दिलाउने टोलीका प्रमुख विमल अधिकारी, नेपाल प्याराग्लाइडिङ तथात ह्याण्डग्लाइडिङ संघका अध्यक्ष रुपनारायण श्रेष्ठले खेलका लागि चाहिने आधुनिक ग्लाइडर सरकारले किनिदिए नेपालले विश्वका जुनसुकै खेलाडीलाई जित्न सक्ने दाबी गर्नुभयो ।

पाराग्लाइडिङ टिमलाई पोखरामा स्वागत गरिने

पोखरा, १८ भदौ – इण्डोनेसियामा हालै सम्पन्न १८ औं एशियाली खेलकूदमा रजत पदक विजेता पाराग्लाइडिङ टिमलाई भोलि मङ्गलबार गण्डकी प्रदेशको राजधानी पोखरामा भव्य स्वागत गरिने भएको छ ।

सो एशियन खेलकूदमा पोखराबाट पाराग्लाइडिङ खेलमा नेपालको प्रतिनिधित्व गर्दै रजत पदक हासिल गर्न सफल टिमलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति र जिल्ला खेलकूद विकास समिति कास्कीले भव्य स्वागतका साथै सम्मान गर्ने भएको हो ।

सो अवसरमा खेलाडीलाई पोखरा विमानस्थलबाट नै बाजागाजा साथै नगर परिक्रमा गराई पोखरा रङ्गशाला पुगेर सम्मान गर्ने कार्यक्रम रहेको क्षेत्रीय खेलकूद विकास समितिका कार्यबाहक अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी गराउनुभयो ।

पोखरामा हुने नगर परिक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, खेलाडी, पर्यटन व्यवसायी, उद्योगी, खेलकूद सङ्घका पदाधिकारी, कर्मचारी, जनप्रतिनिधि, सञ्चारकर्मी र खेलप्रेमी पोखरेलीको सहभागिता रहने बताइएको छ । सो कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राखेपका सदस्यसचिव केशवकुमार विष्टकोसमेत सहभागिता रहने बताइएको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री