काठमाडौँ, ९ भदौ – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टीको महासमिति बैठक आगामी मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा गर्ने भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा आज सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको पार्टी कार्यालयले जनाएको छ ।
बैठकले पार्टी सभापति देउवाको संयोजकत्वमा पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्य रहने गरी महासमिति बैठकको मूल तयारी समितिसमेत गठन गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
महासमिति बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रस्ताव तयार गर्न उपसभापति एवं केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको संयोजकत्वमा राजनीतिक प्रस्ताव तयारी समिति गठन गरिएको छ ।
महासमिति बैठकमा साङ्गठनिक प्रतिवेदन महामन्त्री डा शशांक कोइरालाले र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन कोषाध्यक्ष सीतादेवी यादवले प्रस्तुत गर्नुहुनेछ । त्यस्तै पार्टीको समग्र आर्थिक नीति मस्यौदा समिति सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा गठन गरिएको छ ।
विधान संशोधन मस्यौदा समितिमा जिल्ला सभापतिको हेटौँडामा सम्पन्न राष्ट्रिय भेलाको प्रस्तावअनुसार जिल्ला पार्टी सभापति मध्येबाट स्थायी आमन्त्रितका रुपमा दुई जना सदस्य थप गर्ने बैठकले निर्णय गरेको प्रवक्ता शर्माले बताउनुभयो ।
बैठकले काठमाडौँ जिल्ला कार्यसमिति काङ्ग्रेसका सभापतिको संयोजकत्वमा ललितपुर र भक्तपुरका सभापति सदस्य रहने गरी स्थानीय व्यवस्थापन समिति गठन गरेको छ । बैठकले कञ्चनपुरमा १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको गहन छानबिन गरी अपराधीमाथि तत्काल कारबाहीको माग गरेको छ ।
बैठकले उक्त घटनाका सम्बन्धमा कञ्चनपुरमा भएको विरोधसभामा प्रहरीको गोलीबाट निधन हुनुभएका निर्दोष बालक सन्नी खुनाको परिवारलाई राहत तथा क्षतिपूर्तिको माग गरेको छ । बैठकले सबै घाइतेको सम्पूर्ण उपचारका लागि सरकारलाई आग्रह गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
बैठकले कञ्चनपुर घटनाको यथार्थबारे स्थलगत अध्ययन गरी प्रतिवेदन पेश गर्न केन्द्रीय सदस्यद्वय दीलेन्द्रप्रसाद बडू र वीरबहादुर बलायर रहुन भएको टोली यही भदौ १० गते कञ्चनपुर पुग्ने गरी पठाउने निर्णय गरेको छ ।
काङ्ग्रेसले यही भदौ १ गतेदेखि लागू भएको मुलुकी ऐनका केही प्रावधानले खास गरी प्रेस स्वतन्त्रतामा असर पुग्ने, चिकित्सकको मर्यादामा आँच पुग्ने र प्रहरी अनुसन्धानलाई असर पुरयाउन सक्ने निष्कर्ष निकाल्दै संशोधनका लागि आवश्यक प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।
बैठकले सङ्घीय, प्रदेश तथा स्थानीय तहमा हचुवा ढङ्गले कर बढाइएको घटनाले सर्वसाधारणको जनजीवन आक्रान्त हुनुका साथै लगानीकर्ता तथा उद्यमशील वर्गलाई यसले निरुत्साहित गर्ने ठहर गरेको छ । साथै पार्टीले तीनै तहका सरकारलाई करको दर बढाउने एवं दोहोरो–तेहोरो करमार्फत जनतालाई थप आर्थिक बोझ सिर्जना नगर्न सचेत गराएको छ ।
समयमै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन नगर्नुको परिणाममा पनि करका विषयमा जटिलता उत्पन्न भएको ठहर काङ्ग्रेसले गरेको छ । मित्रराष्ट्र पाकिस्तानमा नयाँ प्रधानमन्त्रीका रुपमा पूर्वक्रिकेटर इमरान खान निर्वाचित हुनुभएकामा काङ्ग्रेस बैठकले बधाई ज्ञापन गरेको छ ।
काङ्ग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक यही २१ गते बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनःबस्ने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा