यूके डान्स अफको तेस्रो संस्करण अक्टोबर १४ मा

तस्बिर- शिव भण्डारी

लण्डन । बेलायतको नेपाली समुदायमा आयोजना हुंदै आएको नृत्य प्रतियोगिता ‘यूके डान्स अफ’ को तेस्रो संस्करण आगामी अक्टोबर १४ तारिख अल्डरसटको प्रिन्सेस हलमा हुने भएको छ । 

आयोजक सपन इन्टरटेनमेन्ट लि यूकेका निर्देशक सपनकुमार राई र कार्यक्रम संयोजक निशा गुरुङले बिहिबार सांझ लण्डनमा एक प्रेस-मिट गरि प्रतियोगिता तयारीबारे जानकारी गराएका हुन् । 

‘यूके डान्स अफका विगतका दुई संस्करणको सफलतापछि अहिले हामी ठूलो उत्साहका साथ तेस्रो वर्षका लागि तयारीमा जुटेका छौं’- सपनकुमार राईले भने, ‘यसपटक विगतको भन्दा पनि अझै व्यापक सहभागिता र थप गुणस्तरको कार्यक्रम बनाउने लक्ष्यसहित हामी लागिरहेका छौं ।’

यो वर्षको प्रतियोगिताका लागि आवेदन खुला भइसकेको छ । ईच्छुक प्रतियोगीहरुले यहि अगस्ट ३१ तारिखसम्म आफ्नो नृत्यको भिडियो आयोजकको इमेलमा पठाउन सक्नेछन् । प्रतियोगितामा भाग लिन १५ वर्षभन्दा माथिको उमेर हुनुपर्नेछ । १६ वर्षसम्मका प्रतियोगीहरुले भने प्रतियोगिताका दिन आफ्नो अभिभावक पनि साथमै लिएर आउनुपर्नेछ । प्रतियोगीहरुलाई ५० पाउण्ड प्रवेश शुल्क लाग्नेछ । 

‘यूके डान्स अफ नृत्यमा प्रतिभा र ‘प्यासन’ दुवै भएकाहरुको लागि हो । नृत्यको कौशल मात्र नभएर यो क्षेत्रमा केहि गर्छु भन्ने अठोट हुनेहरुका लागि यो उपयुक्त प्लेटफर्म हो’- कार्यक्रम संयोजक निशाले बताइन् । 

इमेलमार्फत प्राप्त भएका भिडियोहरुको आधारमा फाइनलका लागि १० जना प्रतियोगी छनौट गरिनेछ । 

यस वर्षको प्रतियोगितामा निर्णायकको भूमिकामा नेपाली चलचित्र क्षेत्रकी चर्चित नृत्य निर्देशक रेनासा राई, लोकप्रिय नायक दिलीप रायमाझी, नृत्य निर्देशक कविराज गहतराज, पहिलो यूके डान्स अफ विजेता जेनी सुनुवार तथा यूके डान्स अफबाटै उदाएका नायक धिरज मगर रहनेछन् । 

प्रतियोगिताको फाइनलका दिन विभिन्न २ राउण्डमा प्रतियोगीहरुले आफ्नो नृत्य प्रस्तुत गर्नेछन् । ‘स्वदेशको झल्को’ नामक पहिलो राउण्डमा प्रतियोगीहरुले अनिवार्य रुपमा नेपाली गीतमा नृत्य देखाउनुपर्नेछ भने दोस्रो ‘क्याच द रिदम’ राउण्डमा आफूलाई मनपर्ने जुनसुकै गीतमा नृत्य देखाउन सक्नेछन् । 

प्रतियोगीहरुको प्रस्तुतिमा निर्णायकहरुले प्रदान गरेको अंकबाट ७० प्रतिशत र फाइनल हेर्न उपस्थित दर्शकहरुले प्रत्यक्ष रुपमा दिएको मतबाट ३० प्रतिशत जोडेर अन्तिम नतिजा निकालिनेछ । 

मुल्यांकन सकेसम्म बढि निष्पक्ष र विश्वसनीय बनाउने उद्धेश्यले विगतका वर्षहरुमा जस्तै युट्युबमा अपलोड भएको भिडियोमा दिइएको मतलाई भने यसपटक नतिजाको लागि गणना नगरिने भएको छ । प्रतियोगिताको फाइनल हेर्न ६ सय दर्शक उतार्ने दाबी आयोजकको छ । 

यूके डान्स अफ विजेतालाई १२ सय पाउण्ड तथा पहिलो र दोस्रो रनर अपलाई क्रमशः ८ सय र ५ सय पाउण्ड नगद र ट्रफीले पुरस्कृत गरिनेछ । सक्षम विजेताका लागि नेपाली चलचित्र र मिडिया क्षेत्रमा समेत आकर्षक अवसर दिने आयोजकको दाबी छ । यसपटकको कार्यक्रममा पनि निर्णायक र अतिथीका रुपमा नेपाली चलचित्र क्षेत्रबाट स्थापित कलाकार, निर्देशक र निर्माताहरु सहभागी हुंदैछन् । बलिउडका केहि अतिथीलाई समेत कार्यक्रममा उपस्थित गराउने पहल आयोजकले गरिरहेका छन् । 

‘नृत्यमा प्रतिभा र प्यासन हुने प्रतियोगीहरुको लागि चलचित्र क्षेत्रमा अवसरको ढोका खोलिदिनु नै हाम्रो कार्यक्रमको मुख्य उद्देश्य हो’- सपन इन्टरटेनमेन्टका निर्देशक सपनकुमार राई भन्छन्, ‘विगतका दुवै वर्षमा आएका केहि प्रतिभावान प्रतियोगीले नेपाली चलचित्रहरुमा लिड रोल मौका पाएका छन् । यसले हामीलाई आउंदो कार्यक्रमको लागि थप उत्साहित बनाएको छ ।’

यसअघि यूके डान्स अफ २०१७ की विजेता जसिता गुरुङ अहिले नवनायिकाका रुपमा नेपाली चलचित्र क्षेत्रमा चर्चा कमाउन सफल छन् । यूके डान्स अफकै प्रस्तुतिबाट प्रभावित भएर निर्देशक मिलन चाम्सले जसितालाई चलचित्र लिलीबिलीमा अवसर दिए । उक्त चलचित्रको सफलतापछि जसिताका हातमा अहिले धेरै चलचित्र अफर आएका छन् । 

त्यस्तै, यूके डान्स अफकै स्टेजबाट उदाएका धिरज मगरले पनि नेपाली चलचित्र क्षेत्रमा दमदार ‘डेब्यु’ गर्दैछन् । यूके डान्स अफमा गरेको प्रस्तुतिकै आधारमा धिरजले चलचित्र ‘इन्टु मिन्टु लण्डन’ मा मौका पाएका थिए जुन चलचित्र अर्को महिना रिलिज हुंदैछ । 

‘यूके डान्स अफ २०१८’ सफल बनाउन अहिले आयोजक सपन इन्टरटेनमेन्टका निर्देशक सपनकुमार राई र मञ्जु गुरुङ तथा कार्यक्रम संयोजक निशा गुरुङसहितको टोली तयारीमा जुटिरहेको छ । यस वर्षको कार्यक्रमको लागि प्रमुख सल्लाहकार सुर्य गुरुङ, कानुनी सल्लाहकार सोलिसिटर राजु थापा र सल्लाहकार डा. कपिल रिजाल छन् । त्यस्तै, कार्यक्रमको मुख्य स्पोन्सर कमल गुरुङ र पुनम गुरुङ  (एनआरएन यूके उपाध्यक्ष) सञ्चालक रहेको न्यूबरीस्थित गोर्खा सेफ रेष्टुरेन्ट छ ।

यूके डान्स अफको आयोजक सपन इन्टरटेनमेन्ट बेलायतमा पछिल्लो २५ वर्षदेखि विभिन्न कार्यक्रम आयोजना गर्दै आएको एक स्थापित इभेन्ट आयोजक हो ।

सपन इन्टरटेनमेन्टले अहिलेसम्म नेपालबाट महजोडी, भुवन केसी, अनमोल केसी, सन्तोष पन्त, अञ्जु पन्त, सुगम पोखरेल, प्रियंका कार्की सहित ८० भन्दा बढि नेपाली कलाकार बेलायतमा ल्याएर सफल कार्यक्रम गरिसकेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री