मक्का, साउदी अरब, ३ भदौ (रासस/एएफपी) – विश्वभरका बीसलाख भन्दा बढी मुस्लिमहरु हज गर्न पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा भेला भएका छन् । विश्वमै सबैभन्दा ठूलो धार्मिक कार्यक्रमको रुपमा लिइने हजयात्रा आइतबारदेखि सुरु भएको हो ।
मुस्लिम धर्माबलम्बीहरुको पाँच प्रमुख धार्मिक कार्यक्रममध्ये एक मानिने मक्काको हजयात्रा छ दिनसम्म गर्ने परम्परा रहेको छ । “हजयात्राका लागि मक्कामा आउनु हरेक मुस्लिम धर्माबलम्बीको सपना हो,” फ्रान्सेली हजयात्री सोलिमान बेन मोहरीले भन्नुभयो ।
“यो एउटा सर्वश्रेष्ठ र अन्तिम यात्रा हो, र यो मेरो सपना थियो, त्यही क्षण अहिले पाएको छु,” ५३ बर्षीय मोहरीले एएफपीलाई सुनाउनुभयो ।
हरेक मुस्लिम धर्माबलम्बीले जीवनमा एकपटक हजयात्रा गर्नुपर्ने धार्मिक विश्वास रहिआएको छ ।
हजयात्रा स्थलमा दशौँ हजार सुरक्षाकर्मी हजयात्रालाई सुरक्षित र व्यवस्थित तुल्याउन खटिएका छन् । हजयात्राका क्रममा भागदौडमा परी तीन वर्ष पहिले २,३०० हजयात्रीको मृत्यु भएको थियो ।
हजयात्रालाई सुरक्षित र व्यवस्थित गराउन साउदी अरबले यस पटक “स्मार्ट हज” एप बनाएर त्यस मार्फत सूचना तथा जानकारीहरु दिने प्रबन्ध मिलाएको छ । त्यस एपमा यात्रा योजनादेखि उपचारमा ध्यान दिनुपर्ने कुराहरु राखिएका छन् ।
साउदी अरबका गृहमन्त्रीले शनिबार मात्रै २० लाखभन्दा बढी हजयात्री मक्कामा आइपुगेको जानकारी दिनुभयो । हज गर्न इजिप्ट, भारत, पाकिस्तान, बङ्गलादेश लगायतका देशबाट ठूलो संख्यामा मुस्लिम धर्माबलम्वीहरु यहाँ भेला भएको गृहमन्त्रीले बताएका छन् ।
यात्रामा रहेका अधिकांशले आइतबार मक्काबाट हजयात्रा सुरु गरी राती मीना उपत्यकामा बास बस्नेछन् । त्यहाँ आगलागीबाट जोगाउन मद्दत गर्ने टेन्टहरुमा उनीहरु रहने अधिकारीहरुको भनाई छ ।
मक्काबाट मीनासम्मको आठ किलोमिटर सडकमा हजयात्रीलाई ओसार्न हजारौं बस र अरु सवारी साधन लामबद्ध हुन्छन् । धेरै हजयात्री यो सडकमा टन्टलापुर घामको पर्वाह नगरी पैदलै हिँड्ने गर्दछन् ।
सोमबार, हजको मुख्य स्थान मीनाको माउन्ट अराफातमा उक्लिनेछन् र त्यहाँ पवित्र धार्मिक ग्रन्थ कुरानको पाठ गर्दछन् । इस्लाम अनुसार, त्यसपछि उनीहरु अराफात र मीनाको बीचतिर रहेको मुज्दालिफातर्फ लाग्छन् र त्यहाँ कम्तीमा मध्यरातसम्म बस्छन् ।
उनीहरुले इद अल–अधा पर्वको पूर्वसन्ध्यामा त्यहाँ शैतानमाथि साङ्केतिक रुपमा ढुङ्गा बर्साउँछन् । त्यसपछि हजयात्रा समाप्त हुन्छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने