केरला बाढीमा मृत्यु हुनेको सङ्ख्या ३५७ पुग्यो

बाढीको डुबानले प्रभावित केरला । तस्विर एएफपी

थिस्सुर, भारत, ३ भदौ – दक्षिण पश्चिम भारतमा विगत केही दिनदेखि निरन्तर परेको बर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३३ जनाको मृत शरीरलाई डुबान क्षेत्रबाट निकालिएको अधिकारीहरूले बताएका छन् ।बाढीका कारण हजारौँ नागरिक विस्थापित बनेका छन् ।

बाढी तथा पहिरोमा परी वेपत्ता बनेका नागरिकको खोजीका लागि सेना, प्रहरीसहितका उद्धारकर्मीहरू निरन्तर लागेका बताइएको छ ।

केरलाका सम्पूर्ण ग्रामिण इलाकामा सय बर्ष यताकै सबैभन्दा ठूलो विपद् आएको छ । अझै पनि धेरै इलाका पूर्णतया डुबानमा रहेकाले मृतक सङ्ख्यामा थप वृद्धि हुने देखिएको उद्धारमा सम्लग्न अधिकारीले जनाएका छन् ।

अधिकारीहरूका अनुसार सरकारले पहिलो प्राथमिकतामा बाढीका परी सङ्कटमा रहेका वस्तीहरूलाई राखेकाले बाढीका कारण भएका क्षतिहरूको विस्तृत विवरण आउन नसकेको बताएका छन् ।

केरलाका शहरी तथा ग्रामिण इलाकामा रहेका वस्तीहरूमा अझैपनि बाढी तथा डुबानको त्रास कायमै रहेको छ । मौसमसम्वन्धी पूर्वानुमान गर्ने भारतीय संघसंस्थाहरूले अझै आगामी दिनमा पनि बर्षा हुने र डुबानको समस्या थप विकराल बन्नसक्ने चेतावनी दिएका छन् ।

बाढी प्रभावित क्षेत्रका भारतीय एक युवक इन्द्रजीत कुमारले भन्नुभयो- ‘गत हप्ता परेको बर्षासँगै आएको बाढीका कारण डुवानको समस्या आएको र विद्युत, खाद्यान्न, वास तथा खानेपानी विना विताएका दिन रात सम्झँदा अझैपनि होस उडेको छ ।’

‘वरिपरी पानीले घेरिएको अवस्थामा खानेपानीको अभावमा तड्पिनुको पीडा सपनाजस्तो लागिरहेको छ’- उहाँले भन्नुभयो ।

मे महिनामा मनसुन शुरु भएपछि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ३५७ पुगेको एक स्थानीय अधिकारीले पुष्टी गरे । उनका अनुसार गत २४ घण्टामा ३३ जनाको मृत शरीरलाई डुबान क्षेत्रबाट निकालिएको छ ।

‘थिस्रुरमा डुबानका कारण घरबाहिर निस्कन नसकेका व्यक्तिहरूको प्राय मृत अवस्थामा उद्धार गरिएको छ’- उहाँले बताउनुभयो । केरलाका कतिपय समथल क्षेत्रमा पानी १० देखि १५ फिटको उचाइसम्म पुगेको माला गाउमा उद्धार गरिरहेका असरफ अलि के एमले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री