लन्डनमा दशौं नेपाली मेलाको तयारी पुरा, दर्शक अपेक्षा दश हजार

लन्डन । तमुधिं यूकेले आगामी साता २६ अगष्ट आइतबार लन्डनमा गर्न लागेको दशौं नेपाली मेलाको तयारी पुरा भएको छ । संस्थाले शनिबार मेला स्थलमा एक पत्रकार सम्मेलन गरि तयारीबारे जानकारी दिएको हो । स्टेन्स रोड, सनबरी अन थेम्स, मिडलसेक्सस्थित केम्पटन पार्क रेस कोर्समा मेला हुंदैछ ।

उपाध्यक्ष एवं संयोजक हितकाजी गुरुङ्गले मेला तयारीबारे जानकारी दिंदै नेपाली कला, संस्कृति, भाषा, भेषभुषा संरक्षण र संवर्धन गर्ने उद्देश्यका साथ दशौं मेला गर्न लागिएको जानकारी दिए । मेलामा कम्तीमा दश हजार दर्शक उपस्थित हुने उनको अपेक्षा छ । प्रवेशका लागि ५ पाउण्ड टिकेट शुल्क राखिएको छ भने कार पार्कको ५ पाउण्ड लाग्नेछ । मेला सफल बनाउन ६५ सदस्यीय तयारी समितिले तीन महिना यता निरन्तर गृहकार्य गरिरहेको छ ।

मेलामा विगत जस्तै यस वर्ष पनि झांकी तथा नृत्य प्रतियोगितामा उत्कृष्ट हुने संघसंस्थालाई नेपाली दूतावास लन्डनले सन् २०१० देखि प्रायोजन गर्दै आएको एम्बासडर कप र गत वर्ष देखि एनआरएनए यूकेले प्रायोजन गरेको एनआरएनए यूके कप, मेडल, प्रमाणपत्र र ११ सय पाउण्ड नगद प्रदान गरिनेछ । साथै, उपविजेता अर्थात दोश्रो स्थान प्राप्त गर्ने समूहलाई ७ सय पाउण्ड र तेश्रो हुनेलाई ५ सय पाउण्ड नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै नृत्य तर्फको प्रथम हुने समूहलाई ५ सय पाउण्ड, दोश्रोलाई ४ सय पाउण्ड र तेश्रोलाई तीनसय पाउण्ड व्यवस्था गरिएको संयोजक गुरुङ्गले बताए । तमुधिं यूकेले गत वर्षदेखि सान्त्वना स्वरुप तीनवटा झांकी र दुईवटा नृत्य समूहलाई दुई दुई सय पाउण्ड नगद र प्रमाणपत्र प्रदान गर्न थालेको छ ।

सन् २००९ देखि नेपाली मेला वर्षेनी हुंदै आएको छ । यस संस्करणको खर्च कम्तीमा ३० हजार पाउण्ड हुने अपेक्षा छ ।

मेला आयोजना गर्न लन्डन दूतावास, एनआरएनए यूके लगायत बेलायतका नेपाली संघसंस्था, उद्यमी, व्यापारी, सञ्चारकर्मी लगायतले पूर्ण साथ दिएका छन् ।

लन्डन दूतावासले करिब २० जना विदेशी कुटनीतिज्ञहरुलाई मेलामा निमन्त्रणा गरेको छ । स्थानीय सांसद, मेयर, काउन्सिलरहरुलाई पनि दूतावासले नै आमन्त्रण संयोजन गरेको जानकारी दिइयो । करिब साढे ३ सय पाहुना सहभागी हुने आशा छ । ब्रिटिश अभिनेत्री जोआना लुम्लीलाई समेत निम्तो गरिएको तर उनको सहभागिताबारे यकिन भइनसकेको संस्थाले जनाएको छ ।

मेलाको मुख्य आकर्षण झांकी तथा नृत्य हुनेछ । झांकी तथा नृत्यमा सहभागी हुन हालसम्म २६ संघसंस्थाले नाम दर्ता गराइसकेको र ६ वटा रेष्टुरेन्ट एवं ३० वटा व्यापारिक स्टल बुक भइसकेको संस्थाले जनाएको छ । युवाहरुको ढुकढुकी ‘दाजु भाइ’ व्याण्डले पनि मेलामा विशेष प्रस्तुति दिनेछ । मेलाले नयां पुस्तामा नेपाली भाषा, कला र संस्कृति हस्तान्तरण हुने आशा तमुधिं यूकेको छ । सल्लाहकार एकिन्द्र गुरुङ्गले गत वर्ष देखिएको विवादबारे जिज्ञासा मेटाउंदै झांकी तथा नृत्य प्रतियोगिता निष्पक्ष बनाउन यसपटक निर्णायक मण्डल अझ गम्भीर बन्ने आश्वासन दिए ।

तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ्गले सहभागीलाई स्वागत गर्दै मेलामा सहभागिताका लागि समस्त बेलायतवासी नेपालीमा अपिल गरे । ‘यो सम्पूर्ण नेपालीको मेला हो’, अध्यक्ष गुरुङ्गले भने, ‘मेलामा सबैलाई स्वागत छ, आएर सफल बनाइदिनु भए यसले नेपाल र नेपालीकै इज्जत बढ्नेछ ।’

तमुधिं यूके महासचिव कृष्ण गुरुङ्गले सञ्चालन गरेको प्रेस मिटमा तमुधिं यूके उपाध्यक्ष नन्दजंग गुरुङ्गले स्वागत मन्तव्य दिएका थिए । उपाध्यक्ष नन्दजंगले स्टलबारे जानकारी दिंदै खाना स्टल राख्न हेल्थ एण्ड सेफ्टी लगायत काउन्सिलको अन्य कानुनी प्रावधानबारे बताए ।

तमुधिं यूके पूर्व अध्यक्ष डमर घलेले अमेरिका मुख्यालय रहेको एउटा व्यवसायिक फर्म एक्सेल ट्रिपले मेलाका लागि ५ हजार पाउण्ड प्रायोजन गर्ने सहमति गरेको जानकारी दिए ।

तमुधिं यूके आमा समूहकी महासचिव यशोधा गुरुङ्गले मेलामा टिकेट विक्री लगायत अन्य काममा सघाउने बताइन् । उनले आमा समूहको एउटा स्टल रहने र उक्त स्टलबाट चिया खाजा बेचेर संकलित रकम तमुधिं यूकेको भान्सा कोठा निर्माणमा सहयोग गर्ने योजना पनि सुनाइन् । उक्त अवसरमा पूर्व अध्यक्षहरु सुवसिं गुरुङ्ग, कमल गुरुङ्ग लगायतले आ-आफ्नो धारणा राखे ।

कार्यक्रममा तमुधिं यूकेले सहभागी सञ्चारकर्मीहरु र नेपालबाट आएकी तमु समुदायकी लोकप्रिय नायिका पुनम गुरुङ्गलाई खादाले सम्मान गरेको थियो । नायिका गुरुङ्गले नेपाली मेला सञ्चालन गर्ने कार्यक्रम छ । सम्मान तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ्ग र संयोजन मिडिया सेक्रेटरी रोहित गुरुङ्गले गरेका हुन् ।

कार्यक्रममा तमुधिं यूके पूर्व अध्यक्षहरु, इकाइ अध्यक्षहरु, सल्लाहकार एवं कार्यसमिति पदाधिकारीहरुको सहभागिता थियो ।

तस्विर- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री