कवि हुँदै प्रधानमन्त्री बनेका वाजपेयी अब सम्झनामा मात्र

काठमाडौँ, ३१ साउन – प्रसिद्ध हिन्दी कविको परिचय बदल्दै तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल हुनुभएका अटल बिहारी वाजपेयी निष्ठावान् राजनीतिज्ञको अविस्मरणीय छवि छाडेर बिहीबार सधैँका लागि विदा हुनुभएको छ ।

भारतमा सबभन्दा लामो समयसम्म सांसद बन्नु भएका बाजपेयी जवाहरलाल नेहरू र इन्दिरा गान्धीपछि सबभन्दा लामो समयसम्म प्रधानमन्त्री पनि बन्नुभएको थियो । गठबन्धन सरकारलाई स्थायित्व र सफलता प्रदान गर्ने प्रधानमन्त्रीको रूपमा पनि उहाँलाई सम्झने गरिन्छ ।

सन् १९२४ डिसेम्बर २५ तारिखका दिन उत्तर प्रदेशको आगरा जनपदको प्राचीन स्थान बटेश्वरमा उहाँको जन्म भएको थियो ।

उहाँले कानपुरको डी.ए.वी. कलेजबाट राजनीति शास्त्रमा प्रथम श्रेणीमा एम.ए. को परीक्षा उत्तीर्ण गर्नु भएको थियो भने एल.एल.बी. को पढाई शुरू गरेपनि छोडेर विद्यार्थीकाल देखि नै राष्ट्रिय स्वयंसेवक सङ्घमा लाग्नुभएको थियो ।

महात्मा रामचन्द्र वीरद्वारा रचित अमर कृति “विजय पताका” पढेर आफू परिवर्तन भएको बताउने बाजपेयीले डा. श्यामा प्रसाद मुखर्जी र पं. दीनदयाल उपाध्यायको निर्देशनमा राजनीतिको पाठ पढ्नु भएको थियो ।

राष्ट्रिय स्तरको वादविवाद प्रतियोगिताहरूमा भाग लिन थालेपछि सार्वजनिक छवि बनाउदै जानुभएका वाजपेयीले पाञ्चजन्य, राष्ट्रधर्म, दैनिक स्वदेश र वीर अर्जुनको सम्पादक समेत बन्नुभयो । उहाँ प्रखर वक्ता पनि हुनुहुन्थ्यो ।

प्राध्यापन पेशामा रहेका र राम्रा कवि मानिएका आफ्ना पिता कृष्ण बिहारी वाजपेयीको प्रेरणाबाट उहाँ साहित्यिक क्षेत्रमा लाग्नु भएको थियो । उहाँको पहिलो कविता ‘ताजमहल’ मानिन्छ । राष्ट्रप्रतिको वैयक्तिक संवेदनशीलता, संघर्षमय जीवन, परिवर्तनशीलता, जेलवास सबै परिस्थितिको प्रभाव एवं अनुभूति उहाँका कवितामा पाईन्छ ।

भारतीय जन सङ्घको संस्थापक वाजपेयी सन् १९६८ देखि १९७३ सम्म त्यसको अध्यक्षको रुपमा राजनीतिक नेतृत्व गर्नुभयो । सन् १९५५ मा लोकसभाका लागि गरेको पहिलो पटकको प्रतिस्पर्धामै उहाँ पराजित हुनुभयो । सन् १९५७ मा बलरामपुरबाट भने जनसङ्घको तर्फबाट विजयी भई लोक सभामा पुग्न सफल हुनुभयो ।

सन् १९५७ देखि १९७७ सम्म जनसघंको संसदीय दलको नेता बन्नु भयो भने १९६८ देखि १९७३ सम्म भारतीय जनसङ्घको राष्ट्रिय अध्यक्षको जिम्मेवारी सम्हाल्नुभयो ।

सन् १९७७ देखि १९७९ सम्म भारतको विदेश मन्त्री बनेर उहाँले विदेशमा भारतको छवि राम्रो बनाउन सफल हुनुभयो । उहाँले संयुक्त राष्ट्रसंघमा हिन्दीमा भाषण गरेर भारतीयलाई गौरवान्वित गराउनु भएको थियो ।

सन् १९८० मा भारतीय जनता पार्टीको स्थापनामा महत्वपूर्ण भूमिका खेल्नु भएका बाजपेयीले ६ अप्रिल, १९८० मा सो पार्टीको अध्यक्ष पदको जिम्मेवारी पाउनुभयो । त्यसपछि दुईपटक राज्यसभामा निर्वाचित हुनुभयो र १९९७ मा प्रधानमन्त्रीका रूपमा पहिलो पटक देशको बागडोर सम्हाल्ने ऐतिहासिक अवसर पाउनुभयो ।

उहाँले सन् १९९८ को अप्रिल १९ तारिखका दिन पनि पुनः प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै १३ दलको गठबन्धन सरकार मार्फत् पाँच वर्षमा देशको विकासमा अनेक आयाम थप्नुभयो ।

आफ्नो कार्यकालमा उहाँले परमाणु शक्ति सम्पन्न देशहरूको सम्भावित क्रोधबाट विचलित नभई अग्नि दुई नामक परमाणु परीक्षण गरेर देशको सुरक्षाका लागि दृढ कदम उठाउनुभयो । उहाँले सय बर्षभन्दा लामो कावेरी जल विवाद समाधान गर्नुभयो भने ग्रामीण रोजगार सृजना एवम् विदेशमा बसेका भारतीय मूलका मानिसहरूका लागि वीमा योजना पनि शुरू गराउनुभयो ।

वाजपेयीकै नेतृत्वमा सन् २००४ को लोकसभा चुनावमा भिडेको भाजपाले नतिजा आफ्नो पक्षमा पार्न नसकेपछि प्रतिपक्षमा बस्न बाध्य भयो । त्यसपछि उहाँले राजनीतिबाट सन्यास घोषणा गर्नुभयो ।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको सहयोगमा)

वाजपेयीको निधनप्रति शोक व्यक्त

भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उप राष्ट्रपति भेन्काय नाइडु, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंहलगायतका नेताहरूले पूर्व प्रधानमन्त्री वाजपेयीको निधनप्रति शोक व्यक्त गर्नुभएको छ ।

भारतीय पूर्व प्रधानमन्त्री वाजपेयीको ९३ बर्षको उमेरमा नयाँ दिल्लीमा बिहीबार भएको निधनबाट यो संसारले एक ‘शालीन नेता’लाई गुमाएको छ । उहाँले मधुमेह, मृगौलालगायतका समस्याले ग्रस्त बनेपछि विगत नौ हप्तादेखि भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचाररत हुनुहुन्थ्यो । लामो समय सफल राजनीतिक नेतृत्वको जिम्मेवारीपछि वाजपेयीले केही वर्ष यता राजनीतिबाट सन्यास लिनुभएको थियो ।

राष्ट्रपति कोविन्दले ट्वीटरमा एक शोक सन्देश लेख्दै भन्नुभएको छ, “हाम्रा पूर्व प्रधानमन्त्री तथा भारतीय राजनेता श्री अटल बिहारी वाजपेयीको निधनको खबरले म निकै दुःखी बनेको छु ।”

“उहाँको नेतृत्व, दीर्घ सोच, परिपक्वता, वाकपटुताले उहाँलाई विश्वभर एक कुशल नेताका रूपमा चिनिन्थ्यो । उहाँलाई सबैले सधैँ सम्झिरहनेछन् ।”

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्वीटरमा लेख्नुभएको छ, “भाजपाका नेताको अवसानसँगै यस युगको समाप्त भएको छ ।”

“भारत हाम्रा प्रिय अटलजीको निधनमा गहिरो शोकमा डुबेको छ । उहाँको निधनबाट एक युगको अन्त्य भएको छ । उहाँ राष्ट्रका लागि बाँच्नुभयो र दशकौँसम्म परिश्रमका साथ काम गर्नुभयो । यस दुःखद घडीमा म उहाँको परिवारजन, भाजपाका कार्यकर्ता तथा शुभेच्छुकको साथमा रहने प्रतिवद्धता जाहेर गर्न चाहन्छु । ओम् शान्ति ।” “वाजपेयीको निधनले मेरो व्यक्तिगत जीवनमासमेत अपूरणीय क्षति पुगेको छ ।”

त्यसैगरी भारतीय उप–राष्ट्रपति भेन्काय नाइडुले पनि वाजपेयीलाई “एक सच्चा भारतीय” भन्दै उहाँको निधनबाट भारतलाई अपूरणीय क्षति पुगेको बताउनभएको छ ।

लामो समय भारतीय राजनीतिमा रहनुभएका ९३ बर्षीय वाजपेयीको बिहीबार ५ बजेर ५ मिनेट जाँदा दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको थियो । उहाँको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि गत जुन महिनाको ११ गते एम्समा भर्ना गरिएको र पछिल्लो ३६ घण्टासम्म स्वास्थ्यस्थिति स्थिर रहेको थियो । तर ३६ घण्टा यता उहाँको स्वास्थ्य निकै गम्भीर बनेपछि ‘लाइफ सपोर्ट सिस्टम’ को सहयोगमा उपचार भैरहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री