वासिङटन, २५ साउन – अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बिहीबार अमेरिकी अन्तरिक्ष सैन्य बल (स्पेश फोर्स) निर्माण गर्ने प्रस्ताव सार्वजनिक गर्नुभएको छ । विशाल अमेरिकी सैनिकको यो छैटौं विभाग हुनेछ । उक्त घोषणा कार्यक्रममा पेन्सले भन्नुभयो, “अर्को युद्धमैदानको लागि तयारी गर्नुपर्ने समय आएको छ ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुन महिनामा अन्तरिक सैन्य बल निर्माण गर्न आदेश दिनुभएको थियो । अन्तरिक्षका जोखिमसँग जुध्न र उपग्रहीय कक्षमा अमेरिकी प्रभाव स्थापित गर्न यस्तो सैनिक बल आवश्यक रहेको उहाँको भनाई छ ।
तर यो सैनिक विभाग गठनमा अमेरिकी कङ्ग्रेसको समेत स्वीकृति आवश्यक पर्दछ । सैन्य बलको लागि आवश्यक स्रोत र प्रशासनिक बन्दोबस्त गर्न समस्या हुने अमेरिकी सांसदहरु र प्रतिरक्षा अधिकारीहरुले बताउँदै आएका छन् ।
तर उपराष्ट्रपति पेन्स यो अभियानलाई यथार्थमा रुपान्तरण गर्न सकिनेमा विश्वस्त हुनुहुन्छ, र यो विभाग सन् २०२० सम्ममा गठन भइसक्नेछ । यही वर्ष ट्रम्पको पहिलो कार्यकाल समाप्त हुनेछ ।
“हाम्रो सैन्यबलको इतिहासमा नयाँ अध्याय लेख्ने समय आइसकेको छ, हाम्रा नागरिक र हाम्रो मुलुकमा नयाँ पुस्ताका सुरक्षा खतरासँग जुध्न र त्यसलाई परास्त गर्न अहिल्यै तयारी थाल्नुको विकल्प छैन,” पेन्सले अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनमा आयोजित समारोहमा भन्नुभयो ।
“अमेरिकी अन्तरिक्ष सैन्यबल स्थापना गर्ने समय आइसकेको छ,” उहाँले भन्नुभयो । उहाँले अर्को पाँच वर्षका लागि अमेरिकी अन्तरिक्ष सुरक्षा प्रणालीका लागि थप ८ अर्ब अमेरिकी डलर आवश्यक रहेकोल त्यसलाई पारित गर्न कङ्ग्रेस समक्ष राष्ट्रपति ट्रम्पले आग्रह गरिसक्नु भएको पनि जानकारी दिनुभयो ।
पेन्सको भाषण सकिएलगत्तै ट्रम्पले ट्वीट गर्दै भन्नुभयो, “स्पेश फोर्स अब गठन भयो ।”
अमेरिकी अन्तरिक्ष सैन्यबलको निर्माणले राष्ट्रिय सुरक्षामा अन्तरिक्षको भूमिकाको बदलिँदो यथार्थलाई प्रतिबिम्बित गरेको छ । सन् १९६२ मा राष्ट्रपति जोन एफ. केन्नेडीले अमेरिकाले चन्द्रमामा किन मानव पठाउँदैछ भन्ने बारेमा व्याख्यान दिँदै गर्दा उहाँले भन्नुभएको थियो, “आजसम्म अन्तरिक्षमा कुनै किसिमको विवाद, पक्षपात, राष्ट्रिय द्वन्द्व केही छैन ।”
तर ५६ वर्षपछि, आधुनिक युद्धकौशलका हरेक पक्षका बारेमा अन्तरिक्षले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । अन्तरिक्ष केन्द्रमा उडिरहेका सेन्सर र भूउपग्रहको व्यापक सञ्जालकै भरमा धेरै सैनिक प्रविधिहरुले काम गरिरहेका छन् ।
पेन्सले रसिया र चीनसँग जुध्नका लागि पनि स्वतन्त्र अन्तरिक्ष सैन्यबल आवश्यक रहेको बताउनुभयो जसले विपक्षी भूउपग्रीय क्षमतालाई निस्तेज बनाउन आक्रामक ढङ्गबाट काम गरिरहेका छन् ।
“चीन र रसियाले अन्तरिक केन्द्रमा उच्च प्रविधियुक्त कृयाकलापहरु जारी राखेका छन् जसले हाम्रा भूउपग्रहको नजिकसम्म पुगेर अवाञ्छित कृयाकलाप गर्न थालेको पाइएको छ । यसबाट हाम्रो अन्तरिक्ष प्रणालीमै नयाँ खतरा निम्त्याउन थालिसकेको छ,” पेन्सले भन्नुभयो ।
अमेरिकाका अहिले कार्यरत सैनिक विभागहरु नेभी, कोस्ट गार्ड, मरिन कप्र्स, आर्मी र एयर फोर्स छन् ।
डेमोक्रेटिक सिनेटर ब्रायन साट्जले भने ट्रम्पको योजना कार्यान्वयनमा नआउने प्रतिक्रिया दिनुभयो । हवाईबाट निर्वाचित सिनेटर ब्रायनले भन्नुभयो, “यो बिल्कुल मूर्खतापूर्ण धारणा हो र यस्तो नेतामा धेरै विश्वास गर्नु खतरनाक छ ।”
पेन्सका अनुसार, अमेरिकी स्पेश कमान्डभित्र हालका कतिपय सैनिक विभागमा कार्यरत सैनिकलाई स्थानान्तरण गरिनेछ ।
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु