काठमाडौँ, १६ साउन – नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को मान्यता प्राप्त पहिलो एकदिवसीय क्रिकेट खेल खेल्दै गर्दा क्रिकेट खेलकै संरचना निर्माणमा सन्तोषजनक प्रगति हुन सकेको छैन ।
नेपाली क्रिकेटले जति सफलता प्राप्त गरयो, यसैअनुरूप पदाधिकारीको विवाद अन्त्य र भौतिक संरचना पनि बन्न सकेको भए नेपाली क्रिकेटले अझै फड्को मार्ने क्रिकेट संघकै पदाधिकारीहरू स्वीकार गर्छन् ।
राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले रासससँग कुरा गर्दै क्रिकेटको संरचना तत्कालका लागि बनेको नदेखिए पनि विभिन्न ठाउँमा यससम्बन्धी पूर्वाधार निर्माण अगाडि बढिरहेको बताउनुभयो । “क्रिकेट संघमा केही वर्षदेखि चलेको विवादका कारण आइसिसीले दिने अनुदान तथा खेलाडीले पाउने सुविधा कटौती भएकाले संरचना निर्माणमा ढिलाइ भयो”, उहाँ स्वीकार्नुहुन्छ ।
यस वर्ष खेलकूदमा प्राप्त बजेटमध्ये बढी क्रिकेटमै परेकोले देशका आठ स्थानमा निर्माणाधीन क्रिकेट मैदानको कामले तीव्रता पाउने उहाँले बताउनुभयो । आगामी वर्ष नेपालमा दक्षिण एशियाली खेलकूद प्रतियोगिताका लागि कीर्तिपुर मैदानको स्तरोन्नति र प्यारापिट निर्माणको काम यसै वर्ष सम्पन्न हुने लक्ष्य रहेको बताइएको छ । बैतडी, दाङ, विराटनगर, इटहरी, धनगढीलगायत स्थानमा निर्माणाधीन अवस्थाका क्रिकेट मैदानको काम तीव्ररूपमा अगाडि बढाइने दावी राखेपको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का निलम्बित अध्यक्ष चतुरबहादुर चन्दले क्यान विवादपछि आइसिसीले दिने अनुदान रोकेकाले संरचना निर्माणमा समस्या परेको बताउनुभयो । “देशभर आठ मैदान निर्माणाधीन अवस्थामा छन्, तर कुनै पनि सम्पन्न भइसकेको छैन, सबै मैदान अलपत्र अवस्थामा रहँदा खेलाडीलाई प्रशिक्षणमा अप्ठ्यारो भएकाले पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्छ”, उहाँले भन्नुभयो । भएको मैदान बिगार्ने र नयाँ नबनाउँदा समस्या भएको बताइन्छ । “राखेपमा दक्ष जनशक्तिको अभावले संरचना निर्माणमा ढिलाइ भएको हो”, उहाँले थप्नुभयो ।
निर्माण सम्पन्न हुन लागेको मूलपानी क्रिकेट मैदान र कीर्तिपुरस्थित त्रिवि मैदानबाहेक अन्तर्राष्ट्रियस्तरका रंगशाला नेपालमा अझै बन्न सकेको छैन । राष्ट्रिय गौरवका आयोजनानुरूप काठमाडौँको मूलपानीमा दुई क्रिकेट मैदान निर्माण शुरू भएको १४ वर्ष भयो । सो मैदान बनाउन शुरु हुँदा नेपाल डिभिजन ५ मा थियो । नेपाली खेलाडी आज पहिलो ऐतिहासिक एक दिवसीय खेल्दैछ तर मूलपानी मैदान अझै पूर्णरूपमा तयार भएको छैन ।
मूलपानीमा निर्माणाधीन दुई रंगशालामध्ये एउटा खेल्नयोग्य बनेको छ । यसै मैदानमा केही महिनाअघि राष्ट्रियस्तरको प्रतियोगितासमेत भइसकेको छ । अर्कोमा भने स्थानीयवासीसँगको जग्गा विवाद कायमै छ । उक्त विवाद जग्गा सट्टापट्टा गरी समाधान गर्न मन्त्रिपरिषद्मा प्रस्तावसमेत पेश भइसकेको युवा तथा खेलकूद मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्मा पेश भएको प्रस्तावबारे निर्णय आइनसकेको मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एशोसिएट राष्ट्रको मान्यता पायो । गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एकदिवसीय मान्यता पायो । त्यसैअनुरूप नेपालले आज दिउँसो नेपाली समयानुसार २.४५ बजे नेदरल्याण्डसस्थित भिआरए मैदान आम्सटर्डममा नेदरल्याण्डससँग एकदिवसीय खेल खेल्दैछ ।
क्रिकेट संघको समस्या समाधान गरी घरेलु क्रिकेटको संरचना, भौतिक पूर्वाधार र खेलाडीको वृत्ति विकासमा ध्यान दिँदै चार वर्षका लागि पाएको एकदिवसीय मान्यता निरन्तर टिकाउनुपर्ने चुनौती नेपालमाथि थपिएको छ । सरकारले मूलपानीमा निर्माणाधीन क्रिकेट मैदानको कामलाई प्राथमिकतासाथ अघि बढाई देशका आठ स्थानमा क्रिकेट मैदान निर्माणलाई निरन्तरता दिने चालु आवको बजेटमा उल्लेख गरेको छ ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]