दश वर्षमा चार हजार महिला कोरिया पुगे

काठमाडौँ, ९ साउन – इपियस कोरियाको तथ्यांकअनुसार १० वर्षको अन्तरालमा नेपालबाट करिव चार हजार महिला कामदार दक्षिण कोरिया पुगेका छन् ।

सन् २००८ देखि हालसम्म जम्मा तीन हजार ३९७ महिला दक्षिण कोरिया पुगेको इपियस शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिनुभयो । इपियस शाखाको तथ्यांकअनुसार हालसम्म जम्मा ५२ हजार २४० जना पुरुष कामदार दक्षिण कोरिया पुगेका छन् ।

“दक्षिण कोरियाका लागि पुरुषको दाँजोमा महिलाको आवेदन नै कम पर्ने गरेको छ” इपियस शाखा प्रमुख कृष्णप्रसाद खनालले बताउनुभयो । खनालका अनुसार कोरियाका लागि यसवर्ष ८५ प्रतिशत पुरुष र १५ प्रतिशत मात्र महिलाको आवेदन परेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पहिलेभन्दा अहिले महिलाको आवेदन केही प्रतिशत बढेको हो ।” अन्य देशको दाँजोमा कोरियामा बढी परिश्रम गर्नुपर्ने भएकाले पनि महिलाले कम आवेदन दिएको हुनसक्ने उहाँको अनुमान छ । दक्षिण कोरियाले विशेषगरी उद्योग र कृषि कामका लागि नेपाली कामदार लिएर जाने गरेको छ ।

सर्वप्रथम विसं २००८ मा दक्षिण कोरियाले दुई हजार ८१४ जना नेपाली कामदार लगेको थियो । जसमा पुरुष दुई हजार ७३३ थिए भने महिला ८१ थिए । उक्त तथ्यांकअनुसार लगभग ९८ प्रतिशत पुरुष कोरिया पुगेका थिए भने दुई प्रतिशत मात्र पुगेका थिए ।

त्यसैगरी २०१८ मा भने नेपालबाट जम्मा पाँच हजार १२५ पुरुष र ३१४ महिला कामदार कोरिया जाँदैछन् । पछिल्लो वर्ष सन् २००९ मा सोही अनुपात बढेर चार प्रतिशत महिला कोरिया पुगेका थिए । हालसम्मको तथ्यांकअनुसार जम्मा ४० हजार ७६५ कामदार उद्योगसम्बन्धी कामका लागि कोरिया पुगेका छन् ।

त्यसैगरी कृषिमा १४ हजार २२६ जना कृषिका लागि पुगेका छन् भने माछासम्बन्धी कामका लागि जम्मा ६४६ जना मात्र पुगेका छन् । महिला कृषि र उद्योग दुबै कामका लागि कोरिया पुग्ने गरेको शाखाको तथ्यांकले देखाएको छ ।

अन्य देशको दाँजोमा कोरियामा महिला कामदार सुरक्षित मानिने भए पनि आवेदन पनि कम पर्ने गरेको तथ्यांकले देखाएको छ । नेपाल सरकारले दक्षिण कोरिया र इजरायलमा इपियसमार्फत नेपाली कामदार पठाउने सम्झौता गरेकामा दक्षिण कोरियामा मात्र सफल भएको थियो ।

कोरियाले १६ वटा देशबाट वार्षिक रुपमा ५० हजार कामदार लिएर जाने गरेको छ । जसमा नेपालबाट मात्र लगभग आठ हजार कामदार लिएर जाने गरेको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री