पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्न माग

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पोर्चुगलमा राजदूतावासको स्थापनार्थ आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुहुँदै । तस्वीर – भरत प्रधान, पोर्चुगल, रासस

पोर्चुगल, ९ साउन । पोर्चुगलमा रहेका प्रवासी नेपालीले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना हुनुपर्ने माग गरेका छन् ।

प्रवासी नेपाली मञ्च पोर्चुगल, नेपाली जनप्रगतिशील मञ्च पोर्चुगल र एनआरएन पोर्चुगलको संयुक्त आयोजनामा मंगलबार राजधानी लिस्बनमा भएको छलफल तथा अन्तक्र्रियामा सहभागीले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसमक्ष दूतावास नहुँदा पोर्चुगलमा रहेका नेपालीले धेरै प्रकारका समस्या झेल्नुपरेको बताए ।

अन्तरक्रियामा सहभागी अधिकांश वक्ताले राजदूतावास स्थापनाका लागि सरकारले तत्काल पहल गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले नेपालमा पोर्चुगल दूतावास स्थापनाका लागि पहल गर्न समेत मन्त्रीसमक्ष आग्रह गरे । दूतावास नभएकै कारण कागजी प्रमाणीकरण, परिवार ल्याउने कामलगायत सामान्य कागजी प्रक्रियाका लागि समेत नयाँ दिल्लीस्थित पोर्चुगली दूतावास धाउनुपर्ने बाध्यता रहेको गुनासो गरे । । यस्तै पोर्चुगलमा रहेका नेपाली राहदानीलगायत कागजी प्रक्रियाका लागि फ्रान्सस्थित नेपाली दूतावास पुग्नुपर्ने बाध्यता रहेको दुखेसो पनि पोखे ।

सो अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले दूतावास स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने बताउँदै दुई देशबीचको व्यापार, पर्यटन र लगानीले मात्रै दूतावास स्थापनाको औचित्य पुष्टि हुने छ भन्नुभयो ।

कार्यक्रममा सहभागीको जिज्ञासालाई स्पष्ट पार्दै फ्रान्सका लागि नेपाली राजदूत अम्बिकादेवी लुइँटेलले फ्रान्समा रहेको दूतावासले सकेसम्म सेवा प्रदान गरेको बताउनुभयो । पोर्चुगलका लागि अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालले अवैतनिक वाणिज्यदूतावासले सेवा प्रवाहमा कुनै कञ्जुस्याइँ नगरेको जिकिर गर्नुभयो । सो अवसरमा एनआरएन पोर्चुगल, दूतावास स्थापनार्थ संघर्ष समिति, नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली मञ्च, जनप्रगतिशील मञ्चलगायत संस्थाले दूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।

नेपाल पोर्चुगल परामर्श संयन्त्र स्थापना

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र पोर्चुगलका विदेशमन्त्री अबस्टो सान्टोस सिल्भाबीच आज पोर्चुगलको राजधानी लिस्बनमा भएको भेटवार्तामा नेपाल पोर्चुगल परामर्श संयन्त्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

पोर्चुगलका लागि नेपाली राजदूत अम्बिकादेवी लुइँटेल र पोर्चुगलको विदेश मन्त्रालयका बाह्य नीति विभागका महानिर्देशक पेड्रो कोष्टा पेरेरियाले सो समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसअघि दुई देशका परराष्ट्रमन्त्रीबीच भएको भेटवार्तामा दुईपक्षीय सम्बन्धका सबै विषयमा विचारविमर्श भएको थियो । व्यापार, लगानी र प्रविधि हस्तान्तरण, पोर्चुगलमा रहेका नेपाली तथा उनीहरुको भाषा संस्कृतिको संरक्षणमा हुनसक्ने सहयोगबारे पनि छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री