मंगलबार, मंसिर ९ २०७७ | Tue, November 24, 2020
नेपालको समय: २३:५७ | UK Time: 18:12

भवन भट्ट, किन सुस्त ?

राजकुमार थापा
२०७५ असार ३२ गते १५:०८

एनआरएनए अध्यक्ष भवन भट्ट

प्रारम्भः

तीव्र प्रतिस्पर्धा हुने ठानिएको दश महिना अघि सम्पन्न गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको विश्व सम्मेलनको निर्वाचनबाट तत्कालीन अध्यक्ष शेष घलेकी धर्मपत्नी श्रीमती जमुना घलेलाई दोब्बर मतले पराजित 
गर्दै जापानका व्यवसायी भवन भट्टले सहजै विजय हासिल गरे । भट्ट सो बेला अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष थिए । पूर्व अनुमान विपरित भट्टले कसरी त्यत्रो मतान्तरले अध्यक्ष बाजी मारे भनेर उति बेला गैर आवसीय नेपालीहरुबीच तात्तातो वहस र चर्चा परिचर्चा समेत चुलिएको थियोे । यो 
पंक्तिकारले ‘जमुना हारका कारणहरु’ भनेर एउटा लामो आलेख नै लेख्यो, त्यसभन्दा अघि ‘भवन भट्टको नेतृत्व आवश्यक’ भन्ने बारेमा पनि विश्लेषणात्मक लेख प्रकाशित गरिएको थियो ।

यतिबेला भट्टले गैर आवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको नेतृत्व गरेको दश महिना पुगिसक्यो । संघको 
दुई दुई वर्षमा नयां नेतृत्व चयन हुने हुंदा अब उनीसंग मुस्किलले तेह्र, चौध महिना मात्र कार्यकाल बांकी छ । दश महिनामा उनको नेतृत्वको काम, योजना र कार्यशैली हेर्दा कुनै उत्साहजनक अवस्था देखिंदैन । उनी कता कता गतिहीनता र सुस्ततामा रुमल्लिएको वा गन्तव्य थाहा नपाएर अल्मलिएको यात्रु जस्तो भएका छन् ।

यस आलेखमा उनको नेतृत्व र कार्यशैलीको यही अन्योलग्रस्त सुस्तताको बारेमा छोटो चर्चा गर्ने प्रयास गरिएको छ ।

कसरी जिते दोब्बर मतले ?

तत्कालीन अध्यक्ष शेष घले त्यतिबेला लोकप्रिय थिए । खासगरी देशमा महाभूकम्प र बाढी पहिरो जांदाको विकाराल र 
संकटग्रस्त अवस्थामा गैर आवसीय नेपाली संघ 
अन्तर्राष्ट्रिय समन्वय परिषद अध्यक्षको रुपमा उनले देखाएको सक्रियता र साहसको देश भित्र र देश बाहिरका गैर आवासीय नेपालीहरुमा पनि ठूलो प्रशंसा भएको पृष्ठभूमिमा उनले आफ्नी अर्धाङिनी जमुना घलेलाई अध्यक्ष अघि सार्दा जित्ने अनुमान समेत थियो । तर उनकालागि परिणाम अप्रत्याशित र स्तब्ध बनाउने खालको आयो अर्थात जमुना दोब्बर मतले पराजित भइन् ।

यस्तो परिणाम आउनुमा खासगरी संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने लगायतको भट्टले प्राप्त गरेको पूर्ण समर्थन र सहयोग, नेतृत्वको क्रमिक र सहज विकास हुंदै आएको एनआरएनएको एक किसिमको मान्यता विपरित घलेले अस्वाभाविक रूपमा आफ्नै श्रीमती जमुनालाई अघि सारेर पारिवारिक उत्ताराधिकारी खडा गर्न खोजेपछि भट्टले दोब्बर मतले जित्ने आधार खडा भएको सो बेला ब्याख्या र विश्लेषण भएको थियो । ‘भवन भट्ट, जिताउं चट्ट’ नारा त्यो बेला खुब लोकप्रिय भएको थियो । खयर त्यो बेलाको कुरा त्यसैबेला सकियो, ‘च्याप्टर क्लोज’ भयो छोडिदिउं ।

युवा व्यक्तित्व, जापान नेपाल दुवैतिर सफल ब्यवसायीको छवी बनाएका भट्टबाट गैर आवासीय नेपालीहरुले अलि बढि नै अपेक्षा गरेका थिए । तर, दस महिनासम्मको कार्यकाल हेर्दा उनमा गतिहीनता, अन्योलता र सुस्तता छ्याङ्गै देखियो । न पुराना परियोजनाहरुलाई गतिशील रुपमा अगाडि बढाउन सकेका छन् न आफैंले कुनै नयां भिजन र योजना अगाडि सार्न सकेका छन्, त्यसै कता कता हराएको जस्तो देखिएका छन् ।

लेखक थापा

जताततै अलपत्र, भट्ट भने खुद्रा मसिनामा रमाउंदै

माथि भनिए जस्तै अध्यक्ष नै अल्मलिंदा ठूला ठूला परियोजनाहरुले गति लिन सकेको छैन् । एक किसिमले भन्दा अलपत्र स्थिति देखिन्छ । महाभूकम्पपछि एनआरएनएको अगुवाइमा निर्माण भइरहेको लाप्राक नमुना बस्ती कार्य सुस्त भएको छ भने एनआरएनहरुको गौरवको परियोजना एनआरएन भवन निर्माण कार्यपनि विवादकाबीच कहिले सम्पन्न हुने हो अत्तोपत्तो छैन् । यसैगरी शंखमुल पार्क निर्माण पनि रकमको अभावमा रोकिने स्थितिमा छ । दसौं अर्वको लगानी नेपाल भित्रयाउने प्रतिवद्धता पनि घोषणा मै सिमित भएको छ, त्यसका लागि ठोस प्रगति भएको केही देखिंदैन् ।

पुराना परियोजनाहरु जताततै अलपत्र परेको बेला नयाँ योजना र भिजन त झन् अध्यक्ष भट्टले केही अघि सार्न सक्ने छांटकांट नै छैन् । एनआरएनहरुको नागरिकताको निरन्तरताको मुद्दा नेपालको सर्वोच्च अदालतबाट खारेज भएको अवस्थामा अब अगाडि के गर्ने भन्ने बारेमा पनि अन्योल छ, स्थिति लथालिङ्ग हुंदै गएको बेला अध्यक्ष भट्ट भने खुद्रामसिना र खासै अर्थ नहुने, नराख्ने र नदेखिने कार्यक्रमहरुकालागि दौडादौड गरिरहेका छन् ।

वास्तवमै भन्ने हो भने पुराना परियोजनाहरुलाई समय मै सफलतापूर्वक पूरा गर्ने र आफ्नो कार्यकालमा केही नयां भिजन र योजनाकासाथ योगदान दिने हो भने उनले अब उनले तत्कालदेखि नै खुद्रा मसिना र अर्थहीन कार्यक्रममा जान बन्द गरेर आफ्नो सचिवालय र टिमलाई गतिशील बनाउन जरुरी छ । परिणाममुखी केही नयां काम गरेमात्र उनलाई गैर आवासीय नेपालीहरुले भविष्यमा सम्झिरहन्छन् । होइन, यस्तै उद्घाटन र नाचगान टाइपका कार्यक्रमहरुमा मात्र अलमल गरेर समय खेर फाल्ने हो भने उनले दोब्बर मतले जितेको वा गैर आवासीय नेपालीहरुले दिएको भारी मतको केही अर्थ रहंदैन ।

अन्त्यमा, समय अझै घर्कीसकेको छैन्, तत्कालदेखि गतिशील भएर टिम स्प्रिटकासाथ काम गर्दा अझै केही गर्ने समय बांकी छ, पचासौं लाख गैर आवासीय नेपालीहरुको साझा संस्था र साझा अध्यक्षले अब झिनामसिना कुरा र काममा अल्झिन छोडेर युद्धस्तरमा गैर आवासीय नेपालीहरुका मुद्दा र योजनाहरु पुरा गर्न लाग्दा सबैको साथ, सहयोग र शुभकामना रहनेमा कुनै द्विविधा छैन् । तर वास्तविक मुद्दामा केन्द्रित नहुंदा सधैंभरि शुभकामना र सहयोग मिलिरहला भन्ने ग्यारेन्टी भने छैन् ।

(लेखक युरोप नेपाली डटकमका संस्थापक प्रधानसम्पादक 
हुन् र नेपाल पत्रकार महासंघसंग आवद्ध छन् ।)

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक